एक महिनामै ५० शय्याको कोरोना विशेष अस्पताल तयार « Arthapath.com
४ जेष्ठ २०७७, आईतवार

एक महिनामै ५० शय्याको कोरोना विशेष अस्पताल तयार



अविनाश चौधरी
धनगढी। मुलुकमा कोभिड–१९ को सङ्क्रमण बढ्दैगएको बेला सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा कोरोना विशेष अस्पताल तयार पारिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको लगानीमा एक महिनामै ५० शय्याको कोरोना विशेष अस्पताल तयार पारिएको हो । जिल्ला समन्वय समितिको जग्गामा निर्माण गरिएको अस्पताल हस्तान्तरण हुन भने बाँकी रहेको छ ।

मुलुकको अन्य क्षेत्रसहित सुदूरपश्चिममा पनि कोरोना भाइरसको बिरामी फेला परेपछि प्रदेश सरकारले कोरोना विशेष अस्पताल बनाउने निर्णय गरेको थियो । निर्णयबमोजिम जिल्ला स्वास्थ्य कार्यालयमार्फत एक महिनामा धनगढीमा कोरोना विशेष अस्पताल तयार पारिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीका अनुसार वैशाख १ गतेदेखि निर्माणको काम सुरु गरिएको थियो । वैशाख ३१ गते नै निर्माणको काम पूरा भएको छ । ‘एक महिनाभित्रै अस्पताल तयार पार्न ठूलो चुनौती थियो’, उहाँले भन्नुभयो । ‘रातदिन काम गरेर तोकिएको समायवधिमा अस्पताल निर्माण कार्य सम्पन्न गरिएको हो ।’

निर्माण गरिएको कोरोना विशेष अस्पताल सेती प्रादेशिक अस्पतालको मातहतमा रहने जनाइएको छ । त्यसलाई सेती प्रादेशिक अस्पतालले नै सञ्चालन गर्ने प्रमुख धामीले बताउनुभयो । केही दिनभित्रै कोरोना विशेष अस्पताल सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण हुने उहाँको भनाइ छ ।

प्रदेश सरकारले धनगढीमा कोरोना विशेष अस्पताल निर्माणका लागि एक करोड रुपियाँ बजेट विनियोजन गरेको थियो । ठेकेदार रोहित रानाको किनारा कन्स्ट्रक्सन प्रालिले ९४ लाख रुपियाँमा ठेक्का प्राप्त गरेर अस्पताल निर्माणको काम गरेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

‘प्रदेश सरकारले यो अस्पताल निर्माणका लागि एक करोड रुपियाँ बजेट छुट्टयाएको थियो’, सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले भन्नुभयो, ‘तर, ९४ लाख रुपियाँको ठेक्का स्वीकृत भइ अस्पताल निर्माण भएको छ ।’

नेपालमै भएको निर्माण सामग्री प्रयोग गरेर कोरोना विशेष अस्पताल तयार पारिएको जनाइएको छ । ‘प्रि–फ्याब हाउस’ तयार पारिएकाले समयमै निर्माण कार्य सम्पन्न भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख धामीले बताउनुभयो । ‘कतिपय कुरा रेडिमेड प्रयोग भएकाले निर्माण कार्यमा सहज भयो’, उहाँले भन्नुभयो ।

कम सङ्ख्यामा कोरोना सङ्क्रमित भएमा कोरोना विशेष अस्पतालमा राखेर उपचार गर्न सहज हुने जनाइएको छ । ‘तर, धेरै बिरामी भएमा यसले पनि धान्न सक्दैन’, धामीले भन्नुभयो ।
कैलालीको चार र कञ्चनपुरको एक गरी सुदूरपश्चिम प्रदेशमा पाँच जना कोभिड–१९ सङ्क्रमित व्यक्ति हालसम्म फेला परेका छन् । पाँचै जना बिरामीलाई सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरिएको थियो । उहाँहरू सबै जना निको भइसक्नुभएको छ ।

प्रदेश सरकारकै लगानीमा कञ्चनपुरको भीमदत्तनगरमा पनि ५० शय्याको कोरोना विशेष अस्पताल निर्माण गरिँदैछ । अस्पताल निर्माणको कार्य भने सुस्त रहेको छ । कञ्चनपुरमा पनि कोरोना विशेष अस्पताल निर्माणका लागि प्रदेश सरकारले एक करोड रुपियाँ बजेट विनियोजन गरेको थियो ।गोरखापत्र


प्रतिक्रिया दिनुहोस्