पर्यटकीय क्षेत्रमा सञ्चालित होटल असोजसम्म बन्द « Arthapath.com
७ जेष्ठ २०७७, बुधबार

पर्यटकीय क्षेत्रमा सञ्चालित होटल असोजसम्म बन्द



पोखरा। नेपालकै प्रमुख पर्यटकीय क्षेत्र पोखरामा सञ्चालित होटल आगामी असोजसम्म बन्द हुने भएका छन् ।

कोरोना रोकथामका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले भनेअनुसारको मापदण्ड कायम गर्न अहिलेकै अवस्थामा कठिन हुने भएकाले आगामी असोज महिनासम्म काठमाडौँका होटल सरह पोखराका होटल पनि सञ्चालन नगर्न नसकिने पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ । सङ्घ अध्यक्ष विकल तुलाचनले भन्नुभयोे, “लकडाउन कतिसम्म जाने हो निश्चित छैन । लकडाउन खोलिहाले पनि कोरोना सङ्क्रमणको प्रभाव सकिँदैन । तत्काल विदेशी पर्यटक आउँदैनन् । कहीँकतै आन्तरिक आए पनि फ्रन्टलाइनमै रहेर पाहुनालाई सेवा दिनुपर्ने भएकाले मापदण्ड कायम गर्न गाह्रो छ ।”

उहाँले अहिलेको स्थितिमा सञ्चालन खर्च बढ्ने, सरकारले राहत प्याकेज घोषणा नगरेको अवस्थामा पर्यटक आए पनि डुल्न जाने ठाउँ कहीँकतै छैन । समाजमा डर त्रास हटेको छैन । कोरोनाका कारण होटल व्यवसाय पहिलेकै अवस्थामा फर्किन अब एक/दुई वर्ष लाग्छ । जसका कारण पोखरा क्षेत्रमा सञ्चालित होटलमा कार्यरत मजदुरको रोजीरोटी गुमेको छ ।

पोखरामा ठूला भनिएका पोखरा होटल ग्रान्ड, फिस्टेल, बाराही, टेम्पल ट्री, ल्यान्डमार्कलगायतका होटलमा पहिलेको तुलनामा हाल मात्र १५ प्रतिशत कर्मचारी कार्यरत रहेको पर्यटन व्यवसायी नरेश भट्टराईले बताउनुभयो । उहाँले अन्य होटलले लगभग पूरै कर्मचारी घर फर्काएका छन् । नो वर्क, नो पेको अवधारणामा बेतलबी राखेका छन् । होटलमा हाल शून्य कारोबार हुँदा तलब दिनसक्ने अवस्था छैन । अबको बाटो के त रु उहाँले सरकारले समग्र पर्यटन क्षेत्रका लागि राहतको प्याकेज दिन कञ्जुस्याइँ गरेको बताउनुभयो ।

सरकारको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई खासै सम्बोधन नभएको बताउनुभयो । उहाँले बजेटमा भने यसलाई प्राथमिकतामा राखेर राहत प्याकेज ल्याउन जरुरी छ भन्नुभयो । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य अग्नि कँडेलले सरकारले व्यवसायीको भावना बुझेर राहत ल्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी लगानी थप्न लगाइयो । व्यवसायीले पनि सकिनसकी ठूलो ऋण लिएर लगानी थपे । महामारीकै कारण देखाएर सरकार पन्छिन मिल्दैन ।”

होटलमा कार्यरत मजदुरलाई तलब खुवाउन धौधौ छ । कारोबार नै शून्य भएको अवस्थामा कसरी तलब खुवाउने भन्नेमै होटल सञ्चालकलाई पिरलो थपिएको हो ।

होटल सङ्घले नै भाडामा सञ्चालित होटललाई घरभाडा छुट गरिदिने व्यवस्था मिलाउन सरकारसँग अपिलसमेत गरिसकेको छ । यस्तै मजदुरलाई छ महिना वा वर्ष दिनसम्म धानिनका लागि प्याकेज दिनुपर्ने माग गरेको छ । होटलले स्वरोजगार सिर्जनासमेत गरेको हुँदा सरकार पन्छिन नमिल्ने उनीहरूको माग छ । पोखराको पर्यटन क्षेत्रमा समग्र चार खर्ब रुपियाँभन्दा बढीको लगानी रहेको पाइन्छ । पश्चिमाञ्चल होटल सङ्घमा मात्र आबद्ध होटलको सङ्ख्या चार सयभन्दा बढी छ । ती होटलमा ३० हजारभन्दा बढी बेड छन् ।

त्यस्तै होटल तथा रेस्टुरेन्टमा गरी पोखरामा हाल २५ हजार कर्मचारी कार्यरत रहेकामा कोरोनाकै कारण ८० प्रतिशत घर फर्काइएका छन् । ती कर्मचारीलाई होल्ड गरी राख्नुपर्ने पुराना पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले कर्मचारी जोगाउन नसके पनि आवश्यक पर्दा फेरि समस्या पर्ने हुँदा जसरी पनि राहत प्याकेज ल्याएर कर्मचारी होल्ड गर्नुपर्ने बताउनुभयो । असोजपछि के गर्ने भन्ने सवालमा सङ्घले कोरोनाको प्रभाव र सरकारको नीतिअनुसार त्यसबेला मात्र भन्न सकिने जनाएको छ ।” गोरखापत्र


प्रतिक्रिया दिनुहोस्