कोरोना: खुट्टाले थिच्दा पानी र साबुन खस्ने धारा « Arthapath.com
१९ बैशाख २०७७, शुक्रबार

कोरोना: खुट्टाले थिच्दा पानी र साबुन खस्ने धारा



काठमाडौं । कोरोना भाइरस रोकथामका विभिन्न ठाउँमा विभिन्न प्रविधिको विकास भइरहेको छ । यसै सन्दर्भमा हातले नछोइकन पानी र साबुनले हात धुनका लागि यहाँका इन्जिनीयरले खुट्टाले चलाउन मिल्ने धाराकोे विकास गरेका छन्।

बागलुङमा पहिलो पटक खुट्टाले चलाएर हात धुन मिल्ने धारो ९फुड अप्रेड ह्याण्ड वास औजार० निर्माण गरिएको छ। प्रोग्रेसिभ इन्जिनीयर एशोसिएसन नेपाल जिल्ला समितिको नेतृत्व र धौलागिरि क्षेत्रका इन्जिनीयरको विशेष सहयोगमा दुईवटा खुट्टाले चलाउने धारा निर्माण गरिएको निर्माणमा सहभागी इन्जिनीयर गौरव शर्माले बताए।

निर्माण गरिएका खुट्टाले चलाउने धारा धौलागिरि अञ्चल अस्पताल तथा जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरिसकिएको छ। हातले खोलेर बन्द गर्ने गरी प्रयोग गर्ने धाराबाट कोरोना भाइरसको सङ्ंक्रमण हुन सक्ने भन्दै खुट्टाले थिचेर पानी र साबुन खस्ने धारो निर्माण गरिएको बागलुङ नगरपालिकाका इन्जिनीयर मनोज शर्माले बताए।

शुरुमा सेनिटाइजर टनेल निर्माण गर्न थाले पनि स्वास्थ्य मन्त्रालयले फूल बडी सेनिटाइजर टनेल स्वास्थ्यका लागि हानिकारक हुन सक्ने भनेपछि खुट्टाले सञ्चालन गर्न मिल्ने धारा निर्माण गरिएको इन्जिनीयर थरेन्द्र्र पौडेलले बताए। बढी मानिसको आवतजावत हुने अस्पताल, सरकारी कार्यालयलगायतका स्थानमा खुट्टाले चलाउने धारा उपयोगी हुने उनको भनाइ छ।

धारामा दायाँ खुट्टाले थिच्दा झोल साबुन खस्नेछ भने बायाँ खुट्टाले थिच्दा पानी खस्नेछ। हेर्दा निकै सामान्य लाग्ने उक्त प्रविधियुक्त धारा कोराना भाइरस रोकथामका लागि निकै उपयोगी हुने इन्जिनीयरको दाबी छ। खुट्टाले थिच्दा साबुन पानी आउने औजार कोरोना भाइरस सकिएपछि पनि बहु–उपयोगी हुने इन्जिनीयर मनोज शर्माले बताए।

धौलागिरि अञ्चलका इन्जिनीयरको पहलमा उक्त धारा निर्माण गरिएको हो। उक्त हात धुने औजार बागलुङ बजार श्रीनगरटोलमा रहेको श्री धौलागिरि सिभिल इलेक्ट्रिकल एण्ड मेकानिकल प्रालिमा निर्माण गरिएको हो। एउटा धारा निर्माणका लागि रु २५ हजार मात्र खर्च भएको छ।रासस


प्रतिक्रिया दिनुहोस्