नुवाकोटका पत्रकारको कोरोना बीमा « Arthapath.com
४ जेष्ठ २०७७, आईतवार

नुवाकोटका पत्रकारको कोरोना बीमा



नुवाकोट । कोभिड–१९ कोरोना भाइरस को विश्व महामारीमा जोखिमपूर्ण रुपमा काम गरिरहेका नुवाकोटका पत्रकारका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटले कोरोना बीमा गरेको छ ।

पत्रकार महासंघ नुवाकोटका सदस्य तथा जिल्लामा क्रियाशिल ९५ जना पत्रकारहरुको सामुहिक बीमा भएको हो । उनिहरु सबैको जनही एक्एक लाख रुपैयाँको बीमा भएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भइसकेको र पत्रकारहरु समेत भाइरसको संक्रमण परिसकेको अवस्थामा बीमा नुवाकोटका पत्रकारहरुको सुरक्षाका लागि कोरोना बीमा गरिएको पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले जानकारी दिए ।

कोरोना बीमाका लागि विदुर नगरपालिका र रुडेक नेपाल नामक गैर सरकारी संस्थाले आर्थिक सहयोग गरेको छ । प्रति व्यक्ति छ सय रुपैयाँका दरले विदुर नगरपालिकाले ७० जना पत्रकारको र रुडेक नेपालले २५ जना पत्रकारको शुल्क तिरेको छ । उक्त बीमा अनुसार कुनै पत्रकार कोरोना भाइरसबाट संक्रमित भएमा बीमा कम्पनी सिद्धार्थ इन्स्योरेन्सले एक लाख रुपैयाँ सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने छ ।

नेपाल पत्रकार महासंघ नुवाकोटले आज बीमा कार्यक्रम घोषणा गर्दै पत्रकारहरुलाई कम्तिमा केही आत्मबल बढाउनका लागि यो प्रयास गरिएको र यसमा सरकारी तथा गैर सरकारी नियकाबाट सहयोग प्राप्त भएको जनाएको छ । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जोखिमको बेलामा पत्रकारहरु निरन्तर खटिरहनु पर्ने भएकोले सुरक्षाको प्रत्याभुती दिन सहकार्य गरेको बताउनुभयो । स्थानीय सरकार सबै पेशा, नागरिकको सुरक्षा गर्न र सहकार्य गर्न तत्पर रहिरहेको र त्यसको उदाहरणको रुपमा पत्रकार महासंघसंगको बीमा सहकार्य कार्यक्रम रहेको प्रमुख पण्डितले बताए ।

पत्रकार महासंघलाई बीमा शुल्क सहयोग गरेको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले प्रत्येक सञ्चार गृहले आफ्नोमा कार्यरत पत्रकारहरुको बीमा गराउने सम्भावना नभएको र संस्थागत रुपमा यसरी भएको बीमा कार्यक्रमले आफुलाई उत्साहि गराएर आर्थिक सहयोग गरेको प्रतिक्रृया दिए ।
बीमा कार्यक्रम घोषणा अवसरमा प्रेस सङ्गठन नेपालका केन्द्रिय सदस्य देवचन्द्र भट्ट र नेपाल प्रेस युनियनका पुर्व केन्द्रिय सदस्य शिव देवकोटाले पत्रकार महासंघले गरेको बीमा कार्यक्रमले कार्यक्षेत्रमा खटिएका पत्रकारहरुलाई उर्जा दिएको बताए । पत्रकारहरुको अप्ठ्यारो अवस्थामा पत्रकार महासंघ नुवाकोटले गर्दै आएको प्रयासहरुको उनिहरुले प्रशंसा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्