लकडाउनमा एनसेलले ३ अर्ब ३५ करोड बढि बोनस ब्यालेन्स बाड्यो « Arthapath.com
३ जेष्ठ २०७७, शनिबार

लकडाउनमा एनसेलले ३ अर्ब ३५ करोड बढि बोनस ब्यालेन्स बाड्यो



काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले लकडाउन सुरु भएपछि ग्राहकहरुलाई बोनस ब्यालेन्सबापत ३ अर्ब ३५ करोडभन्दा धेरै बाँडेको छ । यो ब्यालेन्स रकम एनसेलका ग्राहकहरुले रिचार्ज गरेबापत पाएका हुन् । कम्पनीका अनुसार ग्राहकको आवश्यकतालाई ध्यानमा राखी कम्पनीले लकडाउन सुरु भएको भोलिपल्ट चैत १२ देखि नै बोनस दिन थालेको थियो।

एनसेलले बोनस ब्यालेन्सको रकम अहिलेसम्म ३ अर्ब ३५ करोड नाघिसकेको जनाएको छ । एनसेलले कोरोनाभाइरस नियन्त्रण तथा रोकथामका लागि हाल देशभर कायम रहेको लकडाउनको अवस्थामा ग्राहकलाई दूरसञ्चार सेवा पहँुचमा कुनै कठिनाइ नहोस् भन्ने हेतुले रिचार्जमा १२० प्रतिशत बोनस दिँदै आएको छ ।

बोनस अफरमा एनसेलका ग्राहकले ५० देखि १००० को रिचार्जमा १२० प्रतिशत बोनस उपलब्ध छ । यसको अर्थ ५० रिचार्ज गर्ने ग्राहकले बोनसस्वरुप ६० रुपैयाँ र ५०० रिचार्ज गर्ने ग्राहकले बोनसस्वरुप ६ सय रुपैयाँ पाउँछन्। प्राप्त हुने बोनस रकम तीन दिनसम्म मान्य हुने एनसेलले जनाएको छ ।

कम्पनीले १५ जीबीको स्टे होम डाटा प्याक, क्याम्पस पढ्ने विद्यार्थीलाई अनलाइन अध्ययनका लागि सस्तोमा १६ जीबीको मोबाइल क्लास डाटा प्याक, इन्टरनेटको दरमा २५ प्रतिशत छुट, निःशुल्क ब्यालेन्स ट्रान्सफर, सापटी रकमका वृद्धिलगायत अन्य थुप्रै अफरहरु ल्याएको छ ।


प्रतिक्रिया दिनुहोस्