चाडपर्वले बढायो वैदेशिक व्यापारको आँकडा: आयात ४९ प्रतिशत र निर्यात ५३ प्रतिशत बढ्यो « Arthapath.com
७ कार्तिक २०८१, बुधबार

चाडपर्वले बढायो वैदेशिक व्यापारको आँकडा: आयात ४९ प्रतिशत र निर्यात ५३ प्रतिशत बढ्यो



काठमाडौं । चाडपर्वले आयातको आँकडामा बढोत्तरी देखिएको छ । एक महिनामै आयात झन्डै ४९ प्रतिशत वृद्धि भएको छ । भन्सार विभागले उपलब्ध गराएको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको साउनदेखि असोज मसान्तसम्ममा कुल ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरिएको छ । यो गत भदौ मसान्तसम्मको तुलनामा ४८.८३ प्रतिशत बढी हो ।

असोज महिनामा मात्रै नेपालले कुल १ खर्ब २८ अर्ब २० करोड ९६ लाख ९५ हजार रुपैयाँ बराबरको आयात गरिएको छ । दशैं, तिहार लगायतका ठुला चाडपर्वले असोजमा आयात बढेको विभागले जनाएको छ ।

असोज महिनामा निर्यात पनि ५२.९५ प्रतिशत वृद्धि भएको देखिन्छ । गत भदौ मसान्तसम्ममा नेपाल २५ अर्ब ९ करोड ३१ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो । तर, असोज अन्तसम्म आइपुग्दा भने बढेर ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँ पुगेको छ । असोजमा मात्रै नेपालले १३ अर्ब २८ करोड ५६ लाख रुपैयाँ बराबरको निर्यात गरेको हो ।

गत भदौको तुलनामा आयात र निर्यात बढेता पनि गत आवको तुलनामा भने गिरावट आएको छ । गत आवको पहिलो त्रैमासको तुलनामा भने भने आयातमा ४.१७ प्रतिशत र निर्यात ६.११ प्रतिशत गिरावट देखिएको छ । गत आवको असोज मसान्तसम्ममा भने नेपाल कुल ४ खर्ब ७ अर्ब ७५ करोड ८९ लाख रुपैयाँ बराबरको आयात गरेको थियो । ४० अर्ब ८७ करोड ४८ लाख रुपैयाँ बराबरको निर्यात गरेको थियो ।

चालु आवको तीन महिनामा कुल ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । तर, आयातको तुलनामा निर्यात ज्यादै न्युन हुँदा व्यापार घाटा भने ठुलो मात्रामा देखिएको छ । तीन महिनामा नेपालले कुल ३ खर्ब ५२ अर्ब ३७ करोड ३६ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

असोजमा आयात बढेसँगै सरकारले प्राप्त गर्ने राजश्वमा पनि उच्च वृद्धि देखिएको छ। तीन महिनामा सरकारले १ खर्ब १२ अर्ब १२ करोड २३ लाख रुपैयाँ भन्सार राजश्व प्राप्त गरेको छ । भदौको तुलनामा भने ५०.८७ प्रतिशत बढी राजश्व उठेको विभागले जनाएको छ । असोजमा मात्रै ३७ अर्ब ८० करोड ७४ लाख भन्सार राजश्व संकलन भएको छ ।


प्रतिक्रिया दिनुहोस्