विदेशको सिपलाई स्वदेशको अवसरमा बदल्न महासंघ अध्यक्षको आह्वान « Arthapath.com
८ बैशाख २०८२, सोमबार

विदेशको सिपलाई स्वदेशको अवसरमा बदल्न महासंघ अध्यक्षको आह्वान



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताएका छन् ।

यूएईको अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित ‘नेपाल महोत्सव २०२५’ लाई सम्बोधन गर्दै उनले विदेशमा रहेका नेपालीलाई यस्तो आह्वान गरेका हुन् ।

नेपालमा पर्याप्त सम्भावना रहेकोले ती सम्भावनाबाटै आर्थिक समृद्धि हासिल गर्न पर्नेमा उनको जोड थियो । ‘योजनाबद्ध दीर्घकालीन सोच बिना विकास सम्भव छैन । विकासका लागि दूरदर्शी र स्थिर नेतृत्व आवश्यक हुन्छ भन्ने कुरा हामीले दुबईबाट सिक्न सक्छौं’, उनले भने ।

ढकालले थपे, ‘तेलमा मात्र निर्भर भएको युएईले अर्थतन्त्रको विविधीकरण गर्दै पर्यटन, वित्तीय सेवा, निर्माण, स्मार्ट सीटी र व्यापारजस्ता क्षेत्रहरूमा ध्यान दिएको छ । दुबईलाई विश्वको व्यापारिक हब बनाएको छ । हामीले पनि हाम्रो देशमा भएका सम्भावनाहरको पनि यसैगरी विविधिकरण गरेर त्यसबाट लाभ लिन सक्नुपर्छ ।’

नेपालको सन्दर्भमा ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि जस्ता क्षेत्रमा व्यापक सम्भावना रहेकोले यी क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सके यसले रोजगारी सिर्जना तथा नेपालको समग्र आर्थिक विकासमा टेवा पुग्ने अध्यक्ष ढकालको धारणा थियो ।

नेपाल कला र संस्कृतिमा धनी देश रहेको र देशका अमूल्य निधीका रुपमा रहेका कला, संस्कृति र परम्पराहरुको माध्यमबाट विश्वसामु चिनाउन सकिने उनले बताए ।

अबुधाबीस्थित नेपाली राजदूतावास र दुबई चेम्बर अफ कमर्ससँग मिलेर महासंघले सन् २०२३ डिसेम्बरमा ‘नेपाल–दुबई व्यवसायिक फोरम’को आयोजना गरेको थियो । यसले दुई देशका व्यवसायिक नेतृत्वहरुलाई आसपी सहकार्यका सम्भावनाहरू उजागर गर्ने अवसर प्रदान गरेको ढकालले बताए ।

विदेशमा कार्यरत नेपाली कामदारहरूको योगदानको निजी क्षेत्रले उच्च सम्मान गर्ने गरेको उनले भने । साथै महासंघले नेपाल र यूएई दुवैलाई लाभ पुग्ने साझेदारीहरू निर्माण गर्न कटिबद्ध रहेको पनि उनले बताए ।


प्रतिक्रिया दिनुहोस्