‘एकीकृत स्वास्थ्य परिचय नम्बर’ प्रणाली लागू गर्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सम्बन्धी सबै विवरण भएको प्रणाली लागू गर्ने तयारी थालेको छ ।
सबै विद्युतीय चिकित्सा विवरण एउटै प्रणालीमा ल्याउन एकीकृत विद्युतीय चिकित्सा प्रणाली लागू गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसख्या मन्त्री प्रदीप पौडेलले बताए । व्यक्तिका सबै स्वास्थ्य विवरण एकै ठाउँमा रहने गरी ‘युनिक हेल्थ आइडी’ निर्माणको तयारी थालेको उनले बताएका छन् ।
यसका लागि बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको नेतृत्वमा सुझाव समिति गठन गर्ने निर्णय गरेका छन् ।
समितिमा मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा, कानून तथा फैसला कार्यान्वयन महाशाखा तथा पञ्जिकरण विभागका प्रतिनिधि छन् ।
यसैगरी सूचना प्रविधि परामर्शदाता इञ्जिनियर शशांकश्री न्यौपाने, स्वास्थ्य बीमा बोर्ड, विश्व स्वास्थ्य संगठन तथा नेपाल उद्योग परिसंघका प्रतिनिधि पनि समितिमा छन् । समितिको सदस्य सचिवमा मन्त्रालयका सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी छन् ।
समितिलाई स्वास्थ्य पहिचान नम्बर श्रृजना गर्ने विधि, प्रक्रिया तथा अल्गोरिदम अध्ययन गरी प्रस्ताव गर्न कार्यादेश दिइएको छ । यसैगरी राष्ट्रिय परिचय पत्र, स्वास्थ्य बीमा प्रणाली तथा नेपाल सरकारबाट जारी भएका मान्यता प्राप्त परिचय पत्रसँग आवश्यक अनुसन्धान गर्न पनि भनिएको छ ।
मन्त्रालया प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयले समितिबाट प्राप्त विस्तृत सुझावसहितको प्रतिवेदन दिए पछि थप प्रक्रिया अघि बढ्नेछ ।
विश्वका विभिन्न देशमा हरेक व्यक्तिको अलग्गै स्वास्थ्य परिचय नम्बरको व्यवस्था गरिएको छ । यसले व्यक्तिका स्वास्थ्य सम्बन्धी सबै विवरण एकत्रित हुने र यसले उपचार तथा राज्यलाई नागरिकको स्वास्थ्य तथ्यांकका आधारमा कार्यक्रम र योजना तर्जुमामा मद्दत मिल्ने विज्ञहरुको भनाइ छ ।
समितिका सदस्य इञ्जिनियर न्यौपानेले विद्यमान विद्युतीय चिकित्सा अभिलेख कार्यान्वयन र विद्युतीय माध्यमबाट सहज स्वास्थ्य सुविधा दिन नयाँ व्यवस्था लागू हुन सके मद्दत पुग्ने बताए ।