नेपालको छुर्पी युरोप अमेरिकामा कुकुर र बिरालोले खान्छ ! महिनामै अरबौंको छुर्पी व्यापारको यस्तो छ नालीबेली « Arthapath.com
१० फाल्गुन २०७९, बुधबार

नेपालको छुर्पी युरोप अमेरिकामा कुकुर र बिरालोले खान्छ ! महिनामै अरबौंको छुर्पी व्यापारको यस्तो छ नालीबेली



काठमाडौं । करोडौं रुपैयाँको गुन्द्रुकदेखि दाँत कोट्याउने सिन्कोसमेत विदेशबाटै आयात गर्नुपर्ने नेपालको वर्तमान अर्थतन्त्रको हालत हो । तर, नेपालले चाह्यो भने यहाँका हरेक उत्पादनले विश्वबजारमा एकछत्र तहल्का पिट्न सक्छ । जसरी नेपालमा उत्पादन हुने हरेक वस्तुहरुमध्ये केही मानिसदेखि पशुपंछी र जनावरको आहाराका रुपमा चर्चामा छ ।

नेपालका विभिन्न जिल्लामा उत्पादित छुर्पी अमेरिका निर्यात हुन्छ, मानिस हैन कुकुरका लागि । विदेशमा कुुकुर हेर्न मान्छे राख्ने चलन छैन । उसलाई भुलाएर राख्न छुर्पी राखिदिन्छ जुन ऊ घण्टौं चपाएर बस्छ । यसबाट घर फोहर हुँदैन । महिनामा करोडौँ रुपैयाँ मूल्य बराबरको छुर्पी अमेरिका निर्यात हुने गरेको बताइन्छ ।

कुकुरले खाने छुर्पीमा फ्याट नहुने तर, प्रोटिन मासुमा भन्दा बढी हुने यहाँका व्यवसायीहरु बताउँछन् । छुर्पी मासुभन्दा सस्तो हुन्छ । कुकुरलाई एक दिनमा खाइनसकेको छुर्पी पुनः खुवाउन सकिन्छ । मानिसले खाने छुर्पीमा बढी फ्याट हुने यस व्यवसायमा संलग्न माईजोगमाई गाउँपालिका–३ का हरि पोख्रेल बताउँछन् । उनका अनुसार कम फ्याट हुने कुकुरको आहारा छुर्पीको बजार राम्रो छ र यो बढी मूल्यमा बिक्री हुने गरेको छ ।

नेपालको छुर्पीमा अत्यधिक प्रोटिन हुने भएकाले कुकुरका लागि पोषिलो मानिन्छ । कुकुरका लागि उत्पादित छुर्पीमा ६७ देखि ७५ प्रतिशतसम्म प्रोटिन हुन्छ । छुर्पीको एउटा ठूलो टुक्रालाई खाइसक्न कुकुरले कम्तीमा पाँच घण्टा लगाउँछ । छुर्पी पशुको हड्डी जस्तै कडा हुने भएकाले कुकुरले लगातार चपाउँदा मुखबाट रगत आउँछ । मुखबाट रगत नआएसम्म उसले खाएको स्वाद थाहा पाउँदैन भनिन्छ ।

सन् २०१३ देखि विदेशमा कुकुरका लागि छुर्पी निर्यात हुन थालेको हो । आर्थिक वर्ष २०७४÷७५ मा नेपालले १६ वटा मुलुकमा ८५ करोड ७९ लाख ३२ हजार रुपैयाँको छुर्पी निर्यात गरेको नेपालले २०७८÷७९ मा हालसम्मकै उच्च २ अर्ब ९१ करोड १९ लाख रुपैयाँको छुर्पी नेपालबाट निर्यात भएको थियो । यो वर्ष पनि साउन यताको ६ महिनामा एक अर्ब ३४ करोड ७१ लाख ७७ हजारको छुर्पी अन्तर्राष्ट्रिय बजारमा बेचिसकेको छ ।

विदेशबाट अत्याधिक माग भएर आएपछि अहिले इलाम जिल्लाका विभिन्न डेरीहरुमा दुबै खालको छुर्पी उत्पादन हुनेगर्छ । डेरीमा उत्पादित छुर्पी मात्र हैन त्यस क्षेत्रका अन्य उद्योगीहरुको छुर्पीसमेत खरिद गर्ने गरेका छन् । हाल एउटै डेरीबाट सञ्चालकहरुले मासिक एक हजार किलो छुर्पी र एक हजार किलो घिउ उत्पादन गर्छन् । उनी प्रतिकिलो छुर्पी रु ९५० र घिउ प्रतिकिलो रु ६५० मा बिक्री गर्छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्