थप चार ठाउँमा विद्युतीय सवारी चार्जिङ स्टेशन बनाउँदै प्राधिकरण, अघि बढ्यो निर्माण प्रक्रिया « Arthapath.com
२१ फाल्गुन २०७९, आईतवार

थप चार ठाउँमा विद्युतीय सवारी चार्जिङ स्टेशन बनाउँदै प्राधिकरण, अघि बढ्यो निर्माण प्रक्रिया



काठमाडौं । देशको थप चार ठाँउमा विद्युतीय सवारी चार्जिङ स्टेशन बन्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले थप ४ ठाउँमा विद्युतीय सवारी चार्जिङ स्टेशन बनाउने भएको हो ।

प्राधिकरणले काठमाडौं उपत्यका भित्र थप दुई वटा चार्जिङ स्टेशन बनाउन लागेको छ । काठमाडौंको सामाखुसी र बल्खुमा र उपत्यका बाहिरका चितवनको मुग्लिन र महोत्तरीको बर्दीबासमा विद्युतीय सवारी चार्जिङ स्टेशन बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।

ती ठाउँमा चार्जिङ स्टेशन बनाउन आइतबार टेन्डर आह्वान गरेको हो । इच्छुक कम्पनीले आजैका मितिले १५ दिनभित्र आवेदन दिइ सक्नेछन् । ठेक्का पाउने कम्पनीले नै चार्जिङ स्टेसन निर्माण, आपूर्ति र इक्युमेन्टको इस्टलेसन गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।

पछिल्लो समय विद्युतीय सवारी साधनको प्रयोग बढेसँगै चार्जिङ स्टेशन निर्माण पनि बढेको छ । हाल सरकार र निजी क्षेत्र दुवैले धमाधम चार्जिङ स्टेशन निर्माण गरिरहेका छन् । आन्तरिकरूपमा खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी आयात घटाउन र विद्युतीय सवारीसाधन प्रयोगमार्फत वातावरणमैत्री यातायात प्रणालीको विकासमा चार्जिङ स्टेशन निर्माण गरिएको प्राधिकरणले जनाएको छ ।

नेपालमा पछिल्लो समय विद्युतीय सवारीको हिस्सा पनि बढ्दै गएको छ । सरकारको नीति नै विद्युतीय सवारी साधानको प्रवद्र्धन गर्नेमा नै केन्द्रित छ । जसका लागि नेपाल विद्युत प्राधिकरणले हाल ५० वटा स्थानमा विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण गरिरहेको छ । निजी क्षेत्रका विद्युतीय सवारी विक्रेताले पनि आफ्नै लगानीमा चार्जिङ स्टेशन निर्माण गरिरहेका छन् । हालसम्म १२ वटा सञ्चालनमा आइसकेका छन् । ३२ वटा जडान सम्पन्न भइसकेका छन् । बाँकी चार्जिङ स्टेशन निर्माणको अन्तिम चरणमा पुगेको प्रधिकरणले जानकारी दिएको छ ।

विद्युतीय सवारीमा बढ्दै आकर्षण, एक महिनामै थप २६० वटा इभी नेपाल भित्रियो

नेपालमा विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दोक्रममै छ । पछिल्लो एक महिनामै थप २६० वटा विद्युतीय सवारी (कार, जीप र भ्यान) नेपाल भित्रिएको छ ।

भन्सार विभागको चालु आर्थिक वर्ष २०७९/८० माघ मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार चालु आवको सात महिनामा २ हजार ९ वटा विद्युतीय सवारी नेपाल भित्रिएको हो ।

७ महिनामा ५ अर्ब ६२ करोड ९९ लाख ८३ हजार रुपैयाँ बराबरको विद्युतीय कार, जीप र भ्यान आयात भएको विभागले जनाएको छ । जुन, गत पुस महिनाका तुलनामा १४.८६ प्रतिशतले बढी हो । गत पुस मसान्तसम्ममा भने विभिन्न तौल क्षमताका १ हजार ७४९ वटा विद्युतीय सवारी नेपाल भित्रिएको थियो । गत पुस मसान्तसम्ममा भने ४ अर्ब ९२ करोड ९१ लाख ४५ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको थियो ।

चालु आवको माघ महिनासम्ममा विद्युतीय सवारी आयातबाट सरकारले १ अर्ब ५८ करोड ३६ लाख रुपैयाँ राजश्व पाएको छ ।
नेपालमा छिमेकी मुलुक चीन, भारत, अमेरिका र कोरियाबाट विद्युतीय कार, जीप र भ्यान आयात हुने गरेको विभागले जनाएको छ । विश्व बजारका लोकप्रिय ब्राण्डको विद्युतीय कार, जीप, भ्यानहरु नेपालमा उपलब्ध छन् । नेपालमा महिन्द्रा, किया, टाटा, एमजी र हुुुण्डाइ, बिवाइडी ब्राण्डको विद्युतीय कारहरु निकै रुचाइएका विद्युतीय कारको ब्राण्ड हुन् ।

नेपालमा सबैभन्दा धेरै भारतीय र चीनबाट विद्युतीय गाडी आयात हुने गरेको छ । चालु आवको ७ महिनामा सबैभन्दा धेरै विद्युतीय सवारी भारतबाट आयात भएको छ । भारतबाट ३ अर्ब ८९ करोड ३४ लाख १७ हजार रुपैयाँ बराबरको १ हजार ४३५ वटा विद्युतीय सवारी आयात भएको हो । सो देशबाट १०० किलोवाट तौल क्षमताका विद्युतीय कार, जीप र भ्यान आएको भएको हो ।

सो अवधिमा कोरियाबाट ९५ करोड १४ लाख ६३ हजार रुपैयाँ बराबरको २४६ वटा विद्युतीय सवारी आयात भएको विभागले जनाएको छ । यस्तै, चालु आवको माघ मसान्तसम्ममा चिनबाट भने ७५ करोड ५९ लाख १९ हजार रुपैयाँ बराबरको ३२१ वटा इलेक्ट्रिक गाडी नेपाल भित्रिएको विभागले जनाएको छ ।

यस्तै, चालु आवको ७ महिनामा अमेरिकाबाट २ करोड २७ लाख ७८ हजार र इन्डोनेसियाबाट ६४ लाख हजार रुपैयाँ बराबरको विद्युतीय सवारी नेपाल भित्रिएका छन् । यी दुई देशबाट क्रमशः ४ वटा र ३ वटा गाडी आयात भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्