पाँच महिना अघि ४४ अर्ब डलरमा बिक्री भएको ट्वीटरको भाउ २० अर्बमा झर्यो

काठमाडौं । नेपालमा पनि ट्वीटर निकै प्रसिद्ध हुँदै गएको छ । कामकाजी र सम्भ्रान्त वर्गका व्यक्तिले फेसबुकभन्दा ट्वीटरलाई बढी प्रयोग गर्ने गरेका छन् । पसिना नआउने खालका काम (जसलाई ह्वाइट कलर जब भनिन्छ) गर्ने अर्थात् अफिसियल भूमिकामा भएका उच्च अधिकारीहरुको लागि ट्वीटर बढी लोकप्रिय छ । तर यसका मालिक एवम् प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले कम्पनीको मूल्य भारी अन्तरले घटाएका छन् ।
ट्वीटर एक अमेरिकी माइक्रोब्लगिङ वेबसाइट हो । यसका (सीईओ) एलन मस्कले कम्पनीको मूल्यांकन करीब ५५ प्रतिशत घटाएका छन् । ५ महिनाअघि मात्रै ४४ अर्ब अमेरिकी डलरको खर्चेर ट्वीटर किनेका उनले अहिले सो कम्पनीको भाउ २० अर्ब डलर देखाएको समाचार आएका छन्।
हालैमात्र सीईओ मस्कले ट्विटरका कर्मचारीलाई पठाएको एउटा ई–मेलमा कम्पनीको मूल्य अब २० अर्ब डलरमा झरेको उल्लेख छ । गएको अक्टोबरमा मात्रै ४४ अर्ब डलर खर्च गरेर किनेको कम्पनीलाई यति छोटो समयमा यति धेरै अवमूल्यन् किन गरेको हो भनेर उनले खुलाएका छैनन् ।
मस्कले कम्पनीको स्वामित्व र नेतृत्व सम्हालेदेखि नै यसको वित्तीय हालत सुधार्ने प्रयास गरिरहेका छन् । तर संसारकै सबैभन्दा महँगो कार टेस्लादेखि अन्तरिक्ष यान उत्पादन गर्ने स्पेस–एक्ससम्म सञ्चालन गरेका मस्कलाइृ ट्वीटरको हकमा भने विश्वले पत्याएन ।
उनले कम्पनी किनेलगत्तै कम्पनीको मूल्यांकन घटेको देखिएको छ । अमेरिकामा पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता बन्द गर्ने निर्णयपछि सामाजिक सञ्जालको राजनीतिक शक्तिबारे चर्चा चुलिएको थियो । यही विश्वब्यापी राजनीतिक शक्तिको प्रदर्शन गर्ने लोभमा मस्कले जति सुकै मूल्य तिरेर भए पनि ट्वीटर किन्ने निधो गरेका थिए ।
तर उनको हातमा ट्वीटर आएलयत्तै संसरका प्रमुख कम्पनीहरुले ट्वीटरलाई विज्ञापन दिन कम गरेका छन् । यसको सिधा असर कम्पनीको आम्दानीमा परेको छ । यो साल ट्विटरले ३ अर्ब डलर हाराहारीमात्रै आम्दानी गर्ने सीईओ मस्कको अनुमान छ ।
मस्कले ४४ अर्ब खर्चेर किनेको कम्पनीमाथि अहिले पनि १३ अर्ब डलर ऋणको भारी छ । वर्षमा ३ अर्ब कमाएर यो पैसा तिर्न सजिलो छैन । आफूले कम्पनी किने यता ट्विटर दिनहुँ ४० लाख डलर घाटामा चलिरहेको भनेर मस्कले आफ्ना कर्मचारीहरुलाई जानकारी दिएका छन् । त्यसो त ट्वीटर अहिलेमात्रै होइन ६–७ वर्षअघि देखि नै निरन्तर घाटामै चलेको थियो । घाटा कम गर्न भनेर मस्कले करीब ७० प्रतिशत कर्मचारीलाई कामबाट निकालिसकेका छन् । तर त्यति हुँदा पनि परिस्थिति सामान्य हालतमा फर्किएको छैन ।
एजेन्सीको सहयोगमा ।