महत्वाकांक्षाले केही सहकारीमा समस्या भएको जनप्रतिनिधीको दाबी, भिजन गोर्खाको अध्यक्षमा दोहोरिए श्रेष्ठ

काठमाडौं। पछिल्लो समय केही ठूला सहकारी संस्थाहरुमा समस्या देखिएको विषयलाई जनप्रतिनिधीहरुले ‘महत्वाकांक्षा’को परिणाम भनेका छन् । गत शनिबार राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो जनप्रतिनिधीको यस्तो भनाइ आएको हो । यद्यपि, अधिकांश सहकारीहरुले अहिलेको विषम परिस्थितिलाई पनि सौहार्दपूर्ण ढंगले व्यवस्थापन गरिरहेका छन् । गत शनिबार आयोजित भिजन गोर्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभामा यस्तो आवाज उठेको हो ।
कार्यक्रममा प्रमुख अतिथि रहेका टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले ज्ञानको कमी, अति महत्वकांक्ष र सहकारी चलाउने स्पष्ट दृष्टिकोण नै नभएका कारण पछिल्लो समय केही सहकारी संस्थाहरु धरासायी बन्दै गएको बताए । सहकारीहरुले धेरै निक्षेपकर्ताको बचत फिर्ता गर्न कठीन परिरहेका भन्दै समय सापेक्षा रुपमा सहकारी संस्थाहरु चलाउन जरुरी रहेको उनले बताए ।
सहकारीको अध्यक्षमा हरिकुमार श्रेष्ठ पुनः चयन भएका छन् । श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । सहकारीको उपाध्यक्षमा राजेन्द्र पोखरेल, सचिवमा ईन्द्रराज बस्नेत र कोषाध्यक्षमा रुपेन्द्रविक्रम भण्डारी सर्वसम्मत चयन भएका छन् । संस्थाको सदस्यहरुमा सुवास शाक्य, शान्ती श्रेष्ठ, उत्तम अधिकारी, विनोद अधिकारी र रामचन्द्र रिमाल पनि सर्वसम्मत नै चयन भएका छन् ।
संस्थाका अध्यक्ष श्रेष्ठले छरिएर रहेको पुँजी र स्रोत साधनको सदुपयोग गरी आर्थिक, सामाजिक रुपान्तरण गर्न आफूहरुको सहकारीले महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । उनले आगामी दिनमा सहकारीलाई थप बलियो र सशक्त बनाउँदै लाने योजना रहेको सुनाए । सहकारीको व्यवस्थापन समूहले कारोबारको हिसाब र लेखा कसरी राख्ने, संञ्चित पुँजीलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा बुझ्न आवश्यक रहेको उनले बताए ।
२०६४ सालमा स्थापना भएको सहकारीको हाल शेयर पुँजी १ करोड ३२ लाख ४७ हजार ५०० रुपैयाँ रहेको छ । सहकारीले हालसम्म ३ करोड ६३ लाख ६४ हजार ७ सय १२ रुपैयाँ निक्षेप संकलन गरी ४ करोड ५३ लाख १२ हजार ९९ रुपैयाँ कर्जा लगानी गरेको छ ।