क्षुद्र ग्रहको धुलो ल्याएर ४.५० अर्ब वर्षको इतिहास खोतल्दै अमेरिका, पत्ता लाग्ला मान्छेको उत्पत्तिको कथा ? « Arthapath.com
८ आश्विन २०८०, सोमबार

क्षुद्र ग्रहको धुलो ल्याएर ४.५० अर्ब वर्षको इतिहास खोतल्दै अमेरिका, पत्ता लाग्ला मान्छेको उत्पत्तिको कथा ?



काठमाडौं । पृथ्वी सहित ग्रहहरुको उत्पत्ति र धर्तिमा मानव लगायत जीवनको विकासबारे नयाँ तथ्यहरु प्राप्त हुने ठूलै अभिलाषा बोकेर बैज्ञानिकहरुले करोडौं किलोमिटर टाढाबाट माटो बटुलेर ल्याएका छन् । अमेरिकाको अन्तरिक्ष अनुसन्धान संस्था ‘नासा’ले सौर्य मण्डलको सबैभन्दा खतरनाक चट्टानको रुपमा चिनिएको एक क्षुद्र ग्रहको धुलो पृथ्वीमा ल्याएको हो ।

बेनु नाम दिइएको उक्त क्षुद्र ग्रहको सतहमा एक अन्तरिक्ष यान पठाएर नासाले ‘धुलो’ संकलन गरेको हो । यो क्षुद्रग्रह पृथ्वीबाट ८ करोड २३ लाख किलोमिटर टाढा छ । यो भनेको पृथ्वी र सूर्यबीचको दुरीको आधाभन्दा धेरै हो । सूर्यबाट प्रकाशलाई पृथ्वीमा आउन ८ मिनेट लाग्छ भने बेनुबाट पृथ्वीमा प्रकाश आउनुपर्दा ४ मिनेट ३४ सेकेन्ड लाग्छ ।

यति टाढाको सानो क्षुद्र ग्रह पनि अर्को शताब्दीको अन्त्य (सन् २२०० लाग्नेबेला)तिर धर्तिमा ठोक्निे हो की भन्ने आशंका केहीले गरेका छन् । उक्त क्षुद्र ग्रहमा एक अन्तरिक्ष यान पठाएर त्यहाँको सतहको धुलो संकलन गरिएको हो । अन्ततः एउटा क्याप्सुल (विशेष किसिमको भाँडो)मा राखेर ल्याइएको उक्त नमुना (धुलो) नेपाली समय अनुसार गए राती १०ः३७ बजे पृथ्वीमा अवतरण गरिएको छ ।

उक्त क्षुद्र ग्रहको धुलोबाट पृथ्वीको विगतबारे रोचक र महत्वपूर्ण जानकारीहरु प्राप्त हुने अनुमान गरिएको छ । उक्त नमुनाको रसायनिक अध्ययनबाट आजभन्दा ४ अर्ब ५० करोड वर्षअघि ग्रहहरु कसरी उत्पत्ती भए भनेर नयाँ जानकारी प्राप्त हुने आशा वैज्ञानिकहरुको छ । पृथ्वीमा जीवन कसरी सुरु भयो भन्ने कुरामा पनि केही संकेत मिल्ने आशा गरिएको छ ।

यदी त्यसो भयो भने डार्बिनको विकासबादी सिद्धान्तलाई थप पुष्टि गर्न वा गलत सावित गर्न वैज्ञानिकहरुलाई मौका मिल्ने छ । यस अध्ययनले साँच्चै ‘नयाँ कुरा’ पत्ता लगाएमा भारतीय उपमहाद्वीपमा विकास भएका ‘नवदर्शन’ र इस्लामिक एवम् प्राचिन ग्रीक दर्शनले भनेका कयौं तथ्यहरुको पनि वैज्ञानिक पुष्टि हुनसक्ने संभावना रहन सक्छ ।

बेनुको अध्ययन गर्न भनेर नासाले ‘ओसाइरिस–रेक्स’ अन्तरिक्ष यान ७ वर्षअघि सन् २०१६ मा प्रक्षेपण गरेको थियो । पृथ्वीबाट छुटेको २ वर्षमा उक्त अन्तरिक्ष यान क्षुद्र ग्रहमा पुग्यो । अन्दाजी ५०० मिटर फराकिलो उक्त चट्टानलाई अन्तरिक्ष यानले अर्को दुई वर्ष अवलोकनमै वितायो । त्यसपछि मात्रै करीब २५० ग्राम जति धुलो संकलन गर्यो र त्यही धुलो बोकेर पृथ्वीमा फर्किएको हो ।

बेनु क्षुद्र ग्रह करीब ५१० मिटर अग्लो रहेको अनुमान छ । हाम्रो नवनिर्मित धरहरा करीब ८४ मिटर र स्काई वाक टावर ७८ मिटर अग्ला छन् । अर्थात् हाम्रो धरहराभन्दा करीब ६ गुणा अग्लो र त्यति नै फराकिलो छ बेनु । अन्तरिक्षमा यस्ता अनगिन्ति क्षुद्र ग्रहहरु छन् । वैज्ञानिकहरु यस्ता चट्टानलाई पृथ्वीजस्ता ग्रहको निर्माणमा प्रयोगहुने इट्टाजस्तै मान्छन् । इट्टा जोडेर घर बनेजस्तै यस्ता ससाना चट्टान जोडिएर धर्ति बनेको उनीहरुको अनुमान छ ।

नासाले यस प्रकारका क्षुद्र ग्रहहरुको अनुसन्धानमा पहिलो पटक नुमना पृथ्वीमा ल्याउन सफल भएको हो । बेनुको धुलो क्याप्सुलमा हालेर पृथ्वीमा ल्याइसकेपछि नासाको अन्तरिक्ष यानलाई एपोफिस भनिने अर्को क्षुद्र ग्रहमा पठाइने भएको छ । त्यहाँ उक्त प्रोब अवको ६ वर्षपछि सन् २०२९ मा पुग्ने छ ।

एजेन्सीहरुको सहयोगमा ।


प्रतिक्रिया दिनुहोस्