शेयर बजारः प्रतीक्षामा बितेको वर्ष

पर्खाइमा भिज्यो शीरानी
सम्झनीमा बित्यो सपनी
राजु लामाको यही गीतजस्तै वर्ष २०८० साल नेपाली सेयर बजार केबल मौकाको प्रतीक्षामै व्यतित भएको छ । २०७९ असारमा नेप्सेले पछिल्लो उच्चतम विन्दुबाट घट्ने रफ्तारलाई ‘ब्रेक’ लगाएको थियो । त्यसपछि नेप्से परिसूचक १८०० देखि २२०० अंकको बीचमा कुदेको ९ महिना बित्दा साल २०८० सुरु भयो ।
यसले पक्कै पनि नयाँ वर्षबाट अर्थतन्त्रको गतिरोध अन्त्य हुने र सेयर बजार उकासिने अपेक्षा लगानीकर्ताले गरेका थिए । यस अघिको वियररनमा करीब १५ महिना यस्तै ‘साइड वेज’ मुभमेण्टबाट गुज्रिएपछि नेप्सेले नयाँ बृद्धिको बाटो समातेको थियो ।
सोही आधारमा यो साल पनि नयाँ आर्थिक वर्ष सुरु भएसँगै बजार उकासिने अपेक्षामा अधिकतर लगानीकर्ता देखिन्थे । सरकारले कयौं नीतिगत सुधारका काम पनि अघि सार्यो । नियामक निकायले पनि कतिपय सकारात्मक पहलहरु गरे । ब्रोकरबीच पथ प्रतिस्पर्धा सिर्जना भयो ।
तर बजार उकालो लाग्न सकेन । २०७९ वैशाख २८ मा २३६९ अंकमा प्रतिरोध पाएर ओरालो लागेको नेप्सेले त्यसपछि फेरि कहिल्यै २३०० अंक भेट्टाउन सकेको छैन । अघिल्लो एक वर्ष ‘करेक्सन’का लागि छुट्याइएको मान्ने हो भने पनि त्यसपछि बजार उकालो लाग्नु पर्ने थियो ।
तर वितेको एक वर्षमा कयौं प्रयासका बाबजुत नेप्से ‘उस्तै–उस्तै’ हालतमा कायम रहिरह्यो । यो पुरा एक वर्षमा नेप्सेको रेखाचित्र घटिमा १८०७ र बढीमा २२४४ अंकसम्म छोएर फर्किए । यही ४३७ अंकको साँघुरो घेरामै सेयर बजारले थप एक वर्ष गुजारेको छ ।
सम्वत् २०८० मा नेप्से परिसूचकको मैनबत्ती चित्र र कारोबार रकम

गएको पुसदेखि नेप्सेले आफ्नो आधार क्षेत्रलाई १८०० को स्तरबाट उकासेर २००० को स्तरमा पुर्याएको देखिन्छ । तर फेरि पनि यसले नवीन पर्वतको चढाई गर्ने चाहना देखाइसकेको छैन । यद्यपि, यो साल गत ३ माघमा नेप्सेमा भएको ९ अर्ब ६६ करोड ९७ लाख ९५ हजारको कारोबार रकमले भने ऐतिहासिक कीर्तिमानी बनाएको थियो ।
त्यही घटनापछि नेप्सेले आफ्नो आधार क्षेत्र उचालेको देखिन्छ । तर यसको टिकाऊ कति हुन्छ भन्ने अझै अन्योल छ । छिमेकी भारत र अन्य बजारमा सेयर बजारले ऐतिहासिक उचाइ चुमिरहेका बेला नेपाली बजार भने कमजोर परेको छ ।
वर्ष २०८० मा सेयर बजारको पूँजीकरण (रकम रू. १० लाखमा)

सहकारी संस्थाहरुमा आएको भुक्तानी समस्याले अर्थतन्त्रका अन्य आयामजस्तै सेयर बजारलाई पनि नकारात्मक प्रभाव पारेको जानकारहरु बताउँछन् । यसलाई नीतिगत रुपमा ‘बढाई–चढाई’ गर्नुपर्ने माग गर्नेहरु पनि छन् । तर कतिपय अर्थशास्त्री सेयर बजारलाई बढी महत्व दिन नहुने तर्क गर्छन् ।
अहिले सेयर बजारको अर्को नीतिगत बहस हुने स्थल अर्थ मन्त्रालय भएको छ । नेपालमा पछिल्ला केही वर्षमा सेयर बजार एक वित्तीय बजारमात्र नभएर त्योभन्दा ‘धेरै ठूलो’ भएको छ । अब यो ‘राजनीतिक हतियार’ बन्न थालेको भनेर पनि विश्लेषण र आलोचना सुरु भएको छ ।
नेप्से परिसूचक:

कुनै पनि अर्थमन्त्रीको सफलता र असफलता ‘सेयर बजारले निर्धारण गर्ने’ अवस्था बनेको भनेर पनि चिन्ता व्यक्त हुन थालेका छन् । सँगसँगै सेयर बजारलाई राजनीतिको माध्यम बनाउने प्रयत्न पनि कतिपय दल र उनीहरुका सांसद एवम् नेताले गर्दै आएका छन् ।
हरेक पटकको बुलरनमा सयौं परिवारलाई घर गाडी जोड्ने मौका दिने सेयर बजार हरेक बियररनमा २–४ जनाको आहुती पनि लिने गर्छ । तर यो विषय आम चर्चामा त्यत्ति सुनिँदैन । बरु बजार बढ्ने आशामा धेरैले जोखिम उठाउन खोज्दा वर्षौंको बचत डुबाउने अवस्था पनि बनेको छ ।
समूहगत रुपमा शेयर बजारमा हिस्सा (पूँजीकरणका आधारमा)

यस्तै कहिले तीता र कहिले मीठा अनुभूतिहरुमा मानिसलाई निमग्न बनाउने सेयर बजारले यो साल भने ‘रुनु र हाँस्नु’ बनाइदिएको छ । फेरि पनि सेयर बजारमा सूचीकृत १४ अर्ब कित्ता सेयरको किनबेचमा जोडिइरहेका ३५ लाख ८५ हजार लगानीकर्ता उही राजु लामाकै गीत गाइरहेका छन् । आफ्नो सर्वश्व बिच्छ्याएको त्यही सेयर बजारको सम्झनामा ।
चाँडै फर्कि आऊ, ए मेरी मायालु…..