नवीकरणीय ऊर्जामा आक्रामक लगानी गर्दै एनएमबी बैंक « Arthapath.com
३ जेष्ठ २०८१, बिहीबार

नवीकरणीय ऊर्जामा आक्रामक लगानी गर्दै एनएमबी बैंक



काठमाडौं । नेपालले सन् २०४५ भित्र ‘खुद उत्सर्जन’ (नेट इमिसन) शून्यमा झार्ने अन्तरराष्ट्रिय प्रतिबद्धता जनाएको छ । तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्व जलवायु सम्मेलन (कोप–२६) मा यस्तो प्रतिबद्धता जनाएका थिए ।

पृथ्वीको तापमान बढ्न नदिन वायुमण्डलमा ‘हरितगृह ग्यास’ (कार्बन डाइअक्साइड, मिथेन, ओजोन, नाइट्रस अक्साइड, क्लोरोफ्लोरो कार्बन र जलवास्प लगायत)को उत्सर्जन घटाउनुपर्ने भन्दै सन् २०११ देखि विश्यव्यापी रूपमा नै चर्को बहस चलिरहेको छ ।

अत्यधिक मात्रामा प्रयोग भइरहेको पेट्रोल, डिजेल, मट्टीतेल, कोइलालगायत खनिज इन्धनको प्रयोगले वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढाइरहेको छ ।

यसलाई घटाउन पेट्रोलियम पदार्थको प्रयोग कम गरेर नवीकरणीय ऊर्जाको उत्पादन र उपयोग बढाउने खालको रणनीति अपनाउनु पर्छ । यही ‘हरित क्रान्ति’लाई सार्थक बनाउन भन्दै सरकारले सन् २०३५ भित्र २८ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य अघि सारेको छ ।

वन तथा वातावरण मन्त्रालयले तयार गरेको ‘जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना २०८०–२०८७’ले पनि सन् २०३० सम्म १५ हजार मेगावाटसम्म स्वच्छ ऊर्जाको उत्पादन हुने प्रक्षेपण गरेको छ ।

यद्यपि सरकारलाई यस्ता योजनामा लगानीको स्रोत जुटाउन ठूलै चुनौती छ । उक्त जलवायु लक्ष्यहरु प्राप्ति गर्न आगामी २५ वर्षमा नेपालले ८० अर्ब अमेरिकी डलर खर्च गर्नुपर्ने अनुमान गरिएको छ । जुन, अहिलेको वित्त व्यवस्थापनले पुरा हुने छाँटकाँट देखिन्न ।

तथापि, सरकारको त्यस्तो महत्वाकांक्षी लक्ष्यलाई सघाउन पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले पनि ‘ग्रीन फाइनान्स’मा आफ्नो लगानी बढाइरहेका छन् । शून्य कार्बन उत्सर्जनका निम्ति हरित ऊर्जामा लगानी केन्द्रित गर्नेमध्ये एउटा प्रमुख वित्तीय संस्थाको रुपमा एनएमबी बैंक अगाडी आएको छ ।

एनएमबीको प्रयास

एनएमबी बैंकले जलविद्युत् र सौर्य ऊर्जा उत्पादनमा आफ्नो लगानीलाई आक्रामक ढङ्गले विस्तार गरिरहेको छ । बैंक अहिले ठूला जलविद्युत् परियोजनाका साथसाथै सौर्य ऊर्जा, बायो–ग्यास र लघु–जलविद्युत् लगायतका नवीकरणीय ऊर्जा सम्बन्धी परियोजनाहरुमा सक्रीय रुपमा लगानी बढाइरहेको छ ।

स्वच्छ ऊर्जाका निम्ति विदेशी लगानी भित्र्याउनमा पनि अन्य बैंकको तुलना एनएमबी निकै अगाडि छ । जसका लागि बैंकले विभिन्न विदेशी निकायहरूसँग साझेदारी गरेको छ ।

उसले विश्व बैंक समूह अन्तरगतको इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आईएफसी), ब्रिटिश व्यापार लगानी (बीबीआई), स्वीस इन्भेष्टमेन्ट फण्ड लगायत संस्थाहरूबाट ऋण लिएर देशभित्र ठूलो मात्रामा ‘ग्रीन इनर्जी’मा लगानी गरेको छ ।

बैंकले पटक पटक गरी आईएफसीबाट मात्रै ६ करोड ५० लाख अमेरिकी डलर ऋण लिएर हरित ऊर्जा क्षेत्रमा लगानी गरेको छ । जसमध्ये अब २ करोड ५० लाख डलर मात्र तिर्न बाँकी रहेको बैंकले जनाएको छ ।

त्यस्तै, बीबीआईबाट २ करोड ५० लाख डलर ऋण लिएको छ । जुन ऋण दिगो बैंकिङका परियोजनामा लगानी गरेको छ । स्वीस इन्भेष्टमेन्ट फण्डबाट पनि १ करोड २० लाख डलर ऋण लिएको छ ।

यी र यस्तै साझेदारहरूसँगको सहकार्यमा नवीकरणीय ऊर्जा प्रवर्द्धनमा जोड दिँदै आइरहेको छ । विदेशबाट ऊर्जा क्षेत्रमा मात्र लगानी गर्नको लागि ऋण ल्याउने नेपालको पहिलो बैंक नै एनएमबी हो ।

बैंकले विद्युतीय सवारीदेखि सौर्य कर्जा होस वा ग्रामीण भेगमा बिजुली पुÞर्याउनका लागि चाहिने लघु जलविद्युत परियोजना नै किन नहोस, देशमा नविकरणीय ऊर्जा विकास र ऊर्जामा आत्मनिर्भरताको लागि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ ।

डेढ करोड लगानी बन्यो अर्बौंको ‘पोर्टफोलियो’

बैंकले सुरुवाती चरणबाट नै जलविद्युत् क्षेत्रको लगानीलाई प्राथमिकतामा राखेको थियो । बैंकहरूले गर्ने लगानी उत्पादनशील क्षेत्रमा हुनपर्छ भन्ने आदर्श बोकेको यस बैंक अहिले जलविद्युत क्षेत्रमा लगानी गर्ने बैंकहरूमध्येकै अब्बल सूचीमा पर्छ ।

करीब २० वर्ष अगाडि डेढ करोड रुपैयाँ लगानी गरेर जलविद्युत क्षेत्रमा व्यावसायिक कर्जा दिन थालेको बैंकले सो क्षेत्रमा अहिले अर्बौंको ‘पोर्टफोलियो’ बनाएको छ । हरित ऊर्जालाई प्राथमिकतामा राख्दै बैंकले यस क्षेत्रमा आक्रामक लगानी विस्तार गरेको हो ।

एनएमबी बैंकले नवीकरणीय ऊर्जामा आफ्नो कुल कर्जाको करीब १२ प्रतिशत लगानी गरेको छ । उसले हरित अर्थतन्त्रको विकासमा सघाउन कृषि कर्जामा पनि अर्को ११ प्रतिशत हाराहारी ऋण प्रदान गरेको छ ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई २०८१ असार मसान्तसम्म कुल कर्जाको न्यूनतम ६.५ प्रतिशत जलविद्युत क्षेत्रमा लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । वि.सं. २०८२ असार मसान्तसम्म ७ प्रतिशत, २०८३ असार मसान्तसम्म ८ प्रतिशत र २०८४ असार मसान्तसम्म कुल कर्जाको १० प्रतिशत लगानी ऊर्जा क्षेत्रमा गर्नुपर्ने व्यवस्था केन्द्रिय बैंकले गरेको छ ।

तर एनएमबीले अहिले नै राष्ट्र बैंकको उच्चतम सीमाभन्दा बढी लगानी गरिसकेको छ, जुन हातको लक्ष्यको तुलनामा दोब्बर हो । उसले केही वर्षभित्र नै नवीकरणीय ऊर्जामा गरिने लगानी कुल कर्जाको १५ प्रतिशत पुर्याउने लक्ष्य अघि सारेको छ ।

रकमका हिसाबले हालसम्म ३४ अर्ब रुपैयाँ नवीकरणीय ऊर्जामा लगानी गर्न प्रतिबद्धता जनाइसकेको बैंकले बताएको छ । जसमध्ये २२ अर्ब ४० करोड रुपैयाँ कर्जा प्रवाह भइसकेको बैंकको दाबी छ । यो रकम विभिन्न ४४ वटा जलविद्युत् परियोजनामा लगानी भएको छ ।

बैंकले राष्ट्रिय प्रशारण लाइनदेखि लघु जलविद्युत् आयोजनाको दयारा फराकिलो बनाउन सेतुको काम गरेको छ । नेपालमै पहिलो पटक ‘इनर्जी बोन्ड’ (ऊर्जा ऋणपत्र) निकाल्ने बैंक पनि एनएमबी हो । उसले हालसम्म ४ अर्ब २२ करोड बराबरको यस प्रकारका ऋणपत्र जारी गरिसकेको छ ।

जलविद्युत आयोजना, लघु जलविद्युत आयोजना, सौर्य ऊर्जा परियोजना, बायोग्यास तथा अन्य नवीकरणीय ऊर्जा, कृषि, तथा ऊर्जा दक्षतामा आधारित परियोजनाहरुमार्फत् एनएमबी बैंकले हरित एवम् दिगो विकासमा लगानी केन्द्रित गरेको बैंकका अधिकारीहरुले बताएका छन् ।

के छ आगामी रणनीति ?

हरित अर्थतन्त्र निर्माण गर्नका लागि अग्रपंक्तिमै रहेको एनएमबी बैंकले दिगो तथा नविकरणीय ऊर्जा, कृषि तथा ऊर्जा दक्षतालाई प्राथमिकतामा राखेर काम गरिरहेका बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय बताउँछन् ।

उनी भन्छन्, ‘हामीले वातावरण तथा सामाजिक नीति निर्माण गरी कार्यान्वयन गरिरहेका छौँ । त्यससँगै ऋण उपभोग गरिरहेका परियोजनाहरुको स्थलगत अनुगमन गरी वातावरण तथा सामाजिक परिप्रेक्षलाई दृष्टिगत गरेर ऋणीलाई सल्लाह सुझाव पनि दिइरहेका छौँ ।’

आगामी दिनहरुमा यस्ता कार्यलाई अझ सशक्त रुपमा अघि बढाउन बैंक प्रतिबद्ध रहेको उनले बताए । बैंकले पञ्चवर्षीय रणनीति तय गरेर वातावरण मैत्री उत्पादकत्व क्षेत्रमा लगानी बढाउने योजना बनाएको छ ।

कुनै नयाँ ‘स्कीम’ ल्याउँदा दिगो एवम् वातावरणमैत्री क्षेत्रमा केन्द्रित भएर ल्याउने योजनामा बैंक छ । यस निम्ति डिजिटलाइजेशनलाई पनि प्राथमकितामा राखेर काम गर्दै आइरहेको बैंकले जनाएको छ ।

नियामक नेपाल राष्ट्र बैंक र सरकारले पनि कयौँ नीति नियम र निर्देशिकाहरु मार्फत् वित्तीय क्षेत्रको लगानीलाई हरित एवम् दिगो अर्थव्यवस्था निर्माण र उत्पादनमा बढोत्तरी गर्ने लक्ष्यसँग जोड्न प्ररित गरिरहेका छन् ।

यस्ता लक्ष्यहरुको समिप पुग्न सरकारलाई सघाउनेमात्र होइन, दिगो र सुरक्षित बैंकिङ सेवा दिनमा एनएमबी आफ्ना प्रतिस्पर्धीहरुभन्दा अगाडी देखिएको छ ।

बैंकले वातावरण तथा सामाजिक जोखिमलाई न्यूनीकरण गरी हरित अर्थतन्त्रको विकास गर्नको लागि बढी भन्दा बढी लगानी गर्ने योजना बनाएको छ ।

अनुत्पादक क्षेत्रमा कर्जा लगानी घटाउँदै जाने नीति बैंकको छ । देशमा बढी भन्दा बढी रोजगारी श्रृजना गरी उत्पादकत्व बढाउने उद्देश्य रहेको डेपुटी सीईओ उपाध्याय बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्