क्यान महासंघलाई सञ्चारमन्त्री गुरुङ भने,‘एआईको बिषयमा कार्यपत्र लिएर आउनुहोस्’ « Arthapath.com
४ श्रावण २०८१, शुक्रबार

क्यान महासंघलाई सञ्चारमन्त्री गुरुङ भने,‘एआईको बिषयमा कार्यपत्र लिएर आउनुहोस्’



काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रमा आएको क्रान्तिलाई मुलुकको समृद्धिको आधार बनाउने काममा सरकारले सवैको सहयोगको अपेक्षा गरेको बताए ।

क्यान महासंघका अध्यक्ष रणजीतकुमार पोदारको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग शुक्रबार मन्त्रालयमा छलफल गर्दै मन्त्री गरुङले यस्तो बताएका हुन् । सरकारका प्रवक्तासमेत सूचनाको क्षेत्रमा आएको क्रान्ति र आर्टिफिसियल इन्टेलीजेन्स (एआई) को सुरुवातसँगै देखिएको चुनौतीलाई समेत मध्यनजर गरी सरकारले आफ्नो नीतिगत सुधार र ब्यवस्थापनको काम अघि बढाउने बताए ।

क्यान महासंघका पदाधिकारीसँगको छलफलमा मन्त्री गुरुङले आफूले पदबहालीकै क्रममा डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्न कार्यदल गठनको निर्णय लिएको स्मरण गराए । मन्त्री गुरुङले क्यान महासंघलाई आर्टिफिसियल ईन्टेलिजेन्सको बिषयमा कार्यपत्र लिएर आउन समेत आग्रह गरे । ‘आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को बिषयमा कार्यपत्र लिएर आउनोस, आवश्यक नीतिगत कुरा गर्न सरकार तयार छ,’ मन्त्री गुरुङले भने,‘सरकार नीजि क्षेत्रमैत्री रहेको र मुलुकमा सकारात्मक परिणाम निकाल्नका लागि सहकार्य गर्न चाहेको छ ।’

मन्त्री गुरुङसँग क्यान अध्यक्ष पोदार, महासचिव चिरञ्जिबी अधिकारीसहित पदाधिकारीले मन्त्रालयमा भेट गरेका हुन् । सो क्रममा भेटघाटमा क्यान महासंघका अध्यक्ष पोदारले सूचना प्रविधी क्षेत्रका बजेटको कार्यान्वयन यसका प्रभाकारिकताको विषयमा ध्यानाकर्षण गराएका थिए ।

यसैगरी क्यान महासंघका महासचिव तथा साईबर सुरक्षा विज्ञ चिरञ्जिबी अधिकारीले आर्टिफिसियल इन्टेलिजेन्स, साईबर सेक्युरिटी र ब्लकचेन प्रविधीलाई अनुशरण गर्नुपर्ने सुझाव दिएका थिए । उनले आवश्यक नीति तथा कार्ययोजनाको अभाव, सुरक्षामा कम लगानी र नियमित सुरक्षा परीक्षण नहुनु साइबर सुरक्षा कमजोर रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्