डेडिकेटेड र ट्रंक लाइन विवाद: प्रधानमन्त्रीको निर्देशनपछि हच्किए कुलमान, ६ उद्योगमा लाइन जोड्ने निर्णय « Arthapath.com
७ श्रावण २०८१, सोमबार

डेडिकेटेड र ट्रंक लाइन विवाद: प्रधानमन्त्रीको निर्देशनपछि हच्किए कुलमान, ६ उद्योगमा लाइन जोड्ने निर्णय



काठमाडौं । प्रधानमन्त्री केपी शर्माको निर्देशनपछि लाइन काटिएको ६ वटा उद्योगमा नेपाल विदुत प्राधिकरणले बिजुली जडान गर्ने भएको छ ।

डेडिकेटेड र ट्रंक लाइनको सुविधा प्रयोग गरि महसुल नबुझाएको भन्दै प्राधिकरणले ६ वटा उद्योगको विद्युत आपूर्ति बन्द गराएको थियो । गत असार २५ गतेदेखि २७ गतेको बीचमा प्राधिकरणले हुलास स्टील, जगदम्बा स्टील, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा सिन्थेटिक र रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेको थियो ।

ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट विद्युत उपयोग गर्ने उद्योगहरुले बक्यौता महशुल नतिरेको भन्दै लाइन काटिएको ती उद्योगमा तत्कालन बिजुली जडान गर्न प्रधानमन्त्री ओली निर्देशन दिएका थिए । गत शुक्रबार बालुवाटरमा उद्योगी, प्राधिकरण, उर्जा मन्त्री बिच भएको छलफलमा नै ओलीले बिजुली जडान गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओलीको निर्देशन बमोजिम तत्काल उद्योगहरुमा विद्युत सूचारु गर्न नमिल्ने कार्यकारी निर्देशक घिसिङले बताएका थिए । यद्यपि, विद्युत सूचारको विषयमा प्राधिकरण संचालक समितिलेको बैठकले निर्णय लिने घिसिङले बताएका थिए ।

सोही अनुसार नै विद्युत आपूर्ति बन्द गरिएको उद्योगमा लाइन जोड्ने प्राधिकरणले निर्णय गरेको छ। सोमबार बिहान बसेको प्राधिकरण संचालक समितिको बैठकले सो निर्णय गरेको हो । यद्यपि, विभिन्न सर्तसहित हाललाई विद्युत आपूर्ति सूचारु गर्ने निर्णय भएको प्राधिकरण स्रोतले जनाएको छ । स्रोतका अनुसार तीन महिनाभित्र बक्यौता बुझाउने सर्त राखिएको छ । सोही सर्तअनुसार अब कानुनी प्रक्रिया मार्फत माइन्युटिङग गर्ने सहमति भएको प्राधिकरण स्रोतले बतायो ।

विद्युत नियमन आयोगले पनि आइतबार साँझा प्राधिकरणलाई पत्र लेखेर लाइन जोड्न निर्देशन दिएको थियो ।

डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादलामो समयदेखि चलिरहेको छ । विभिन्न ६१ उद्योगले ट्रंक लाइन तथा डेडिकेटेड फिडरमार्फत् विजुली उपभोग गरेर करीब साढे ७ अर्ब रुपैयाँ बक्यौता राखेको प्राधिकणले बताउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्