संसारका १७० बढी मुलुकमा फैलियो नेपालको व्यापार संजाल, तर ३६ देशले मात्रै कसरी दिलाए नाफा ?

काठमाडौं । नेपालले गत वर्ष विश्वका डेढ सय बढी मुलुकहरुमा व्यापार गरेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले विश्व ठुला अर्थतन्त्र भएकासहित १७० बढी मुलुकसँग वैदेशिक व्यापार गरेको हो ।
भन्सार विभागका अनुसार गत आवमा नेपालले कुल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्ष नेपालले कुल १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको छ। यस्तै, १ खर्ब ५२ अर्ब ३८ करोड १२ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको छ । एक वर्षमा वैदेशिक व्यापार गरिएका अधिकांश मुलुकसँग ठुलो व्यापार घाटा व्यहोरेको छ । कुल १४ खर्ब ४० अर्ब ६० करोड ४२ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।
विभागका अनुसार वैदेशिक व्यापार गरिएका १७० मुलुकमध्ये तीन दर्जन देशसँगको व्यापार मात्रै नेपालको पक्षमा देखिएको छ । नेपाललाई व्यापारमा सर्वाधिक लाभ दिने मुलुकमा डेनमार्क पहिलो सूचीमा छ। गत वर्षमात्रै डेनमार्कसँगको व्यापारमा नेपालले ५६ करोड ७५ लाख रुपैयाँ नाफामा देखिएको छ। विभागका अनुसार गत वर्षमो सो मुलुकमा नेपालले ४५ करोड ४५ लाख रुपैयाँ बराबरको आयात गरेको छ । तर, ८२ करोड २१ लाख बढीको निर्यात गर्न सफल भएको छ ।
नेपालले द्धिपक्षीय व्यापारमध्ये अफ्गानस्थानले पनि नाफा दिलाएको देखिन्छ । गत वर्ष अफ्गानस्थानले नेपालबाट ४६ करोड ६० लाख रुपैयाँ बराबरको वस्तु किनेको छ । विभागका अनुसार सो मुलुकमा नेपालले कुल ४९ करोड ३६ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । तर, २ करोड ७६ लाखको मात्रै आयात गरेको छ । यता, नर्वेसँगको व्यापार पनि नेपालकै पक्षमा देखिएको छ। विभागका अनुसार नर्वेले पनि नेपालसँग २० करोड ५० लाख रुपैयाँ बराबरको वस्तु खरिद गरेको छ भने नेपालले नर्वेबाट ५ करोड १७ लाख रुपैयाँ बराबरको आयात गरेको छ । यसरी आयात भन्दा निर्यात धेरै हुँदा नर्वेसँगको व्यापारमा नेपालले १५ करोड ३३ लाख रुपैयाँ नाफा गरेको छ ।
ती मुलुकहरुमा नेपालबाट विशेषगरि छाला जुत्ताहरु निर्यात गरेको देखिन्छ। यस्तै, कार्पेट तथा भूईँमा ओच्छ्याउने वस्तुहरु, झोलादेखि हवाइजहाजका पार्टपूर्जा, नारीहरुले लगाउने सुरुवाल तथा अन्य कपडाहरु डेनमार्क लगायतका मुलुकहरुले नेपालबाट लगेको पाइन्छ ।
यस्तै, सुडानसँगको व्यापारमा नेपाल ३ करोड ४२ लाख, मौरीटेनियासँग ३ करोड ५ लाख, लाटभियासँग २ करोड ५७ लाख, आइसल्याण्डसँग २ करोड ५२ लाख, न्यु केलेडोनियासँग २ करोड ४७ लाख, माल्भ्सिसँग २ करोड ३३ लाख र मौरिटीयससँग १ करोड ५६ लाख रुपैयाँ नाफामा देखिएको छ ।
यस्तै, फिजी, क्रोसिया, माल्टा, उरुगे, डोमिनीसिय, ताजकिस्तान, क्लोमबिया, कम्बोडिया, पानामा लगायतका नामै नसुनेका दर्जन बढी मुलुकसँगको द्धिपक्षीय व्यापारमा नेपालले नाफा गरेको छ ।
नेपालले सबैभन्दा धेरै निर्यात भारत तर्फ गर्छ । तर, निर्यातको तुलनामा आयात नै उच्च रहेकाले सो मुलुकसँगको व्यापार सँधै घाटामा छ । गत वर्ष नेपालले भारतबाट ९ खर्ब ९६ अर्ब ६८ करोड २१ लाख रुपैयाँ बराबरको आयात गरेको छ । यस्तै, १ खर्ब ३ अर्ब १७ करोड ६९ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । तर, गत वर्ष भारतसँग नेपालको व्यापार घाटा ८ खर्ब ९३ अर्ब ५० करोड ५१ लाख रुपैयाँ पुगेको छ ।
भारतपछि नेपालले सबैभन्दा धेरै निर्यात अमेरिकातर्फ गर्दै आएको छ । अमेरिमा नेपालले १७ अर्ब ३१ करोड ४५ लाख रुपैयाँ बराबरको निर्यात गरेको छ । तर, १९ अर्ब ४८ करोड २४ लाख रुपैयाँको आयात गरेको छ । अमेरिकासँग नेपालको व्यापार घाटा २ अर्ब १६ करोड ७८ लाख छ । अर्को ठुलो आर्थिक साझेदार चीनसँग पनि नेपालको व्यापार घाटा २ खर्ब ९६ अर्ब १८ करोड ६० लाख रुपैयाँ कायम भएको छ । एक वर्षको अवधिमा नेपालले चीनबाट २ खर्ब ९८ अर्ब ७७ करोड ४६ लाख रुपैयाँको आयात गरेको छ । तर, २ अर्ब ५८ करोड ८६ लाख रुपैयाँ बराबरको मात्रै वस्तु निर्यात गरेको छ ।
नेपाललाई नामै नसुनेका देशहरूसँगको व्यापारमा दिलाएका छन् । तर, नेपालसँग सबैभन्दा धेर मूल्यका वस्तुहरु खरिद गर्ने मुलुकसँग भने घाटा व्यहोर्दै आएको छ ।
