सेयर बजारमा उछाल, १०० कम्पनीको मूल्यमा ५० प्रतिशतभन्दा धेरै महँगिए « Arthapath.com
१५ श्रावण २०८१, मंगलवार

सेयर बजारमा उछाल, १०० कम्पनीको मूल्यमा ५० प्रतिशतभन्दा धेरै महँगिए



काठमाडौँ । यो पल्ट सेयर बजारले धेरैलाई अचम्ममा पारेको छ । विगतको उदाहरण हेर्दा बजार बढ्ने क्रममा सबैभन्दा पहिले साना कम्पनीहरुको भाउ उकासिने गरेको थियो । तर यस पल्ट विशाल पूँजी आधार भएका बाणिज्य बैंकहरुको मूल्य चुलिएको छ ।

विगत एक महिनाको अन्तरालमा अधिकतर बैंकहरुको मूल्यमा उछाल आएको देखिएको छ । १६ असारमा नेप्से परिसूचक पछिल्लो समयको न्यूनतम विन्दु छुन पुग्दा कम्पनीहरुको मूल्य अहिलेभन्दा निकै तल थियो । तर एक महिना नपुग्दै करीब १०० कम्पनीको सेयर मूल्य ५० प्रतिशतभन्दा फराकिलो अन्तरले बढेका छन् ।

सोमबारको मूल्यसँग तुलना गर्दा दुबै दिन कारोबारमा आएका २४१ कम्पनीहरुको मूल्य सूचीले ठूला बैंकहरु ज्यादा कमाउनेमा अग्रस्थानमा रहेको देखाएको छ । यस आँकडाले एक महिनाभन्दा कम समयमै सेयर बजारबाट ७५ प्रतिशतसम्म प्रतिफल हासिल भएको देखिएको हो ।

सर्वाधिक पूँजीगत लाभ कमाउने कम्पनीको शीर्ष सूचीमा एसियन हाइड्रोपावर लिमिटेड रहेको छ । यो कम्पनीको सेयर मूल्य एक महिनामा ७५ प्रतिशत बढेको छ । यो रियल इस्टेट व्यवसायी विजय राजभण्डारीको कम्पनी हो ।

यो कम्पनीले इलामको माइजोगमाईमा ६.२ मेगावाट क्षमताको नदी प्रवाहमा आधारित विद्युत् आयोजना सञ्चालन गरिरहेको छ । तल्लो जोगमाई खोला जलविद्युत् आयोजनाबाट २०७८ कात्तिक १५ देखि व्यावसायिक रुपमा विद्युत् उत्पादन सुरु गरिएको थियो ।

यो जलविद्युत् कम्पनीलाई छाड्ने हो भने मूल्यमा उछाल आएका शीर्ष ७ कम्पनीहरु बैंक तथा वित्तीय संस्थामात्रै परेका छन् । त्यसमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंक यो दौडको सबैभन्दा अगाडी देखिएको छ । कम्पनीको सेयर मूल्य ६९ प्रतिशत महँगिएको छ ।

त्यसपछि नेपाल फाइनान्स, प्रभू बैंक, कुमारी बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको सेयर मूल्य पनि ६० प्रतिशतभन्दा धेरै बढिसकेका छन् । हिमालयन र लक्ष्मी सनराइज बैंक पनि ६० प्रतिशतको नजिकै पुगेका छन् । त्यसपछि आईएमई समूहले खोलेको संस्थागत लगानी कम्पनी हाथ्वे इन्भेष्टमेण्ट नेपालको सेयर मूल्य साढे ५६ प्रतिशत बढेको छ ।

पछिल्लो एक महिनामा सर्वाधिक महँगिएका शीर्ष १५ कम्पनी :

माछापुच्छ्रे, प्राइम, नेपाल एसबीआई र एनएमबी बैंकका साथै मन्दाकिनी हाइड्रोपावर र सीईडीबी हाइड्रोपावर डेभेलपमेण्ट कम्पनीको सेयर मूल्य पनि ५० प्रतिशतभन्दा धेरै अन्तरले महँगिएका छन् । शीर्ष १५ को यो सूची पछाडी पनि कि त जलविद्युत्, की बैंककै सेयर महँगिएको देखिन्छ ।

हिमाल दोलखा हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, रिडी पावर कम्पनी, रसुवागढी हाइड्रोपावर, कृषि विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स र अरुणभ्याली हाइड्रोपावरको सेयर मूल्य ४५ देखि ५० प्रतिशतको अन्तरमा महँगिएका छन् । यहाँ नेपाल लाइफ जीवन बीमातर्फ सर्वाधिक लोकप्रिय देखिएको छ ।

सानिमा बैंक, सिद्धार्थ बैंक, अपि पावर, नबिल बैंक, उपकार लघुवित्त, पिपल्स हाइड्रोपावर, चन्द्रागिरि हिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर डेभेलपमेन्ट, नेशनल हाइड्रोपावर, राष्ट्रिय बीमा कम्पनी र नेपाल बैंकको सेयर मूल्य पनि ४० प्रतिशतभन्दा धेरै नै महँगिएको छ । निर्जीवन बीमा समूहमा राष्ट्रिय बीमा कम्पनी सबैभन्दा रुचाइएको कम्पनी बनेको छ । पर्यटनमा चन्द्रागिरी हिल्स अगाडी आएको छ ।

घलेम्दी हाइड्रो, माथिल्लो तामाकोशी जलविद्युत्, राढी विद्युत् कम्पनी, ङादी ग्रुप पावर, एक्सेल डेभेलपमेन्ट बैंक, सिंगटी हाइड्रो, सानिमामाई हाइड्रो, चिलिमे हाइड्रोपावर, हिमालयन डिष्ट्रिीलरी, तारागाउँ (ह्यात्त) रिजेन्सी होटेल, सेन्ट्रल फाइनान्स, साइन रेसुङ्गा डेभेलपमेण्ट बैंक, अरुण काबेली पावर र एनआईसी एसिया बैंकको सेयर मूल्य ३५ देखि ४० प्रतिशतको अन्तरमा बढेको छ ।

त्यसपछि समृद्धि फाइनान्स, बोटलर्स नेपाल (तराई), साल्ट ट्रेडिङ कर्पोरेशन, सानिमा मध्येतमोर जलविद्युत्, युनिभर्सल पावर, सानिमा जीआईसी इन्स्योरेन्स, गुह्येश्वरी मर्चेण्ट बैंक एण्ड फाइनान्स, एसियन लाइफ इन्स्योरेन्स, एचआईडीसीएल, मेरो माइक्रोफाइनान्स, सप्तकोशी डेभेलपमेण्ट बैंक, महालक्ष्मी विकास बैंक, गुडवील फाइनान्स, सिनर्जी पावर, शिवम् सिमेण्ट, डिप्रोक्स लघुवित्त, बुटवल पावर कम्पनी, इमर्जिङ नेपाल र कामना सेवा विकास बैंकको सेयर मूल्य ३० देखि ३५ प्रतिशतको अन्तरमा बढेका छन् ।

बुम’ बजारमा पनि शाख बढाउन नसकेका कम्पनी :

यसरी बजार ब्यापक उकालो लागेको बेलामा पनि केही कम्पनीको सेयर मूल्य भने घटेको देखिएको छ । समग्र बजार बढ्दा समेत सस्तिएका कम्पनीहरुको सूचीमा सबैभन्दा खराब पर्फरमेन्स मैलुङ्ग खोला जलविद्युत् कम्पनीले गरेको छ । त्यसपछि हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य सस्तिएको छ ।

लघुवित्तको भीडमा पनि हिमालयन लघुवित्तको सेयर मूल्य यो एक महिनाको अन्तरलाई ओरालो लागेको देखिएको छ । १ः१.५ अनुपातमा अर्थात् डेढ गुणा बढी हकप्रद सेयर निष्काशन गर्न लागेको आँखुखोला जलविद्युत् कम्पनीको सेयर पनि मूल्य समायोजन पश्चात् सस्तिएर कारोबार भएको छ । बुद्धभूमि हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि सस्तिएको छ ।

यसरी मूलय सस्तिएक अधिकतर कम्पनीको विद्युत् आयोजनाहरु रसुवा, धादिङ र नुवाकोटमा पर्छन् ।


प्रतिक्रिया दिनुहोस्