तस्करलाई पोस्ने गरी किन बढाइयो सुनको भन्सार महसुल ?

काठमाडौं । हालैमात्र नेपाल–भारत सीमा क्षेत्रमा नेपाली मुद्रा तीव्र दरले अवमूल्यन् भएको समाचार आएको छ । केही दिन अघिसम्म १५८ रुपैयाँ तिर्दा सजिलै भारु १०० पाइने गरेकोमा एकाएक त्यो भाउ बढेर १६३ सम्म पुगेको सीमावर्ती क्षेत्रका व्यवसायी बताउँछन् ।
वीरगञ्ज, विराटनगर, भैरहवाजस्ता नाकामा भारु महँगो हुन थालेको छ । सीमा क्षेत्रमा अनौपचारिक कारोबार गर्नेहरुले यी दुई मुद्राको माग र आपुर्तिलाई हेरेर सटही दर तय गर्छन् । आधिकारिक तौरमा १०० भारु बराबर १६० नेपाली रुपैयाँ रहने भए पनि मुद्राको उपलब्धता र मागले यो दर ५ देखि १० रुपैयाँसम्म पनि तलमाथि पर्ने गरेको छ ।
दुई देशबीच हुने अनौपचारिक कारोबार, रेमिटेन्स र सुनजस्ता बहुमूल्य धातुको तस्करी लगायत कयौँ कारणले भारु र नेरुको विनिमय दरलाई प्रभावित पार्छ । मुद्रा कारोबारीहरुले सीमा क्षेत्रमा पसल नै राखेर सटही सुविधा दिने गरेका छन् । यस्तै सटही सुविधा कुनै बेला काठमाडौंको असन, इन्द्रचोकमा पनि उपलब्ध थियो ।
यसरी मुद्रा सटही गर्दा कम माग र ज्यादा आपूर्ति भएको मुद्रामा कारोबारीले कमिसन लिन्छन् । त्यसलाई ‘बट्टा’ भनिन्छ । उदाहरणका लागि कुनै मुद्रा कारोबारीले तपाइँलाई १०० भारु दिएर १७० नेरु लिग्यो भने १० रुपैयाँ ‘बट्टा’ हुन्छ । भारतले आफ्ना ठूला दरका नोटमा बन्देज लगाएपछिको अवस्थामा यस्तो बट्टादर १० रुपैयाँसम्म पुगेको थियो ।
पछि भारु २००० को नोट छ्यापछ्याप्ति भएसँगै नेपाली मुद्रा महँगो हुन पुग्यो । त्यसपछि १०० भारु बराबर नेपाली रुपैयाँ १५५ सम्म झरेको थियो । यसरी पैसा साट्दा नेरु ५ रुपैयाँ बराबरको ‘बट्टा’ भारु बोकेर साट्न आउनेले तिर्नुपर्छ । यही सिलसिलामा कहिले कुन त कहिले कुन मुद्रा महँगो हुने चक्र चलिरहन्छ ।
विगतमा १५ पैसा बट्टा (कमिसन) तिरेर बैंकबाटै भारु र नेरु साट्न पाइने सुविधा थियो । तर हाम्रो सरकारले भारु नोट किनेर ल्याउने र बजारमा बेच्ने यो प्रणालीलाई थेग्नै सकेन । भारुको माग अचाक्लि बढ्न थालेपछि बैंकमार्फत् पैसा दिन छाडियो । त्यसपछि यी दुई मुद्राको अनौपचारिक बजारमा सटही दर फराकिलो अन्तरले तलमाथि गर्न थालेको हो ।
सुनले ल्याएको उलटफेर
अहिले भने सीमा क्षेत्रमा नेपाली मुद्रा कमजोर हुनुका पछाडी सुनको मूल्यले सबैभन्दा ठूलो भूमिका खेलेको जानकार बताउँछन् । लामो समयदेखि सुनको भाउ कीर्तिमानी स्तरमै छ । विश्वब्यापी रुपमै महँगिएको सुनका निम्ति मानिसहरुले दुई वर्ष अघिको तुलनामा झण्डै दोब्बर मूल्य खर्चनु परिरहेको छ ।
यस्तो बेला गत जेठमा तत्कालिन अर्थमन्त्री वर्षमान पुनले सुनको भन्सार दर बढाएर २० प्रतिशत पुर्याइदिए । बजेटको अंगको रुपमा प्रस्तुत भन्सार महसुल विधेयक २०८१ का कारण नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढ्न पुग्यो ।
भन्सार महसुल विधेयक २०८१ को व्यवस्था :

मध्ये जेठमा बजेट प्रस्तुत हुनुअघि नेपाल र भारत दुबैतर्फ सुनको भन्सार महसुल १५ प्रतिशत थियो । तर भारतमा लोकसभा निर्वाचनपछि बनेको सरकारले यही साउन ८ मा वार्षिक बजेट प्रस्तुत गर्यो । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले सुनको भन्सार महसुल बढाउनुको साटो उल्टै घटाएर केवल ६ प्रतिशतमा झारिदिइन् ।
यसै कारण नेपालभन्दा भारतमा सुनको भाउ निकै सस्तो पर्न गएको छ । बुधवारको मूल्य हेर्ने हो भने नेपालमा १० ग्राम सुनको भाउ १ लाख २६ हजार ७१५ रुपैयाँ छ । भारतमा टाटा तनिस्कले त्यति नै सुनको भाउ ६९ हजार ६०० भारु (नेरु. १ लाख ११ हजार ३६०) तोकेको छ ।
यसरी १० ग्राम सुनमै १५ हजार ३५५ रुपैयाँ अर्थात् तोलामा झण्डै १८ हजार रुपैयाँ मूल्य अन्तर परेको छ । नेपाली बजारमा सुनको भाउ यति धेरै महँगो भएपछि सीमावर्ती क्षेत्रमा उपभोक्ताहरु भारतीय बजारबाट सुन किन्न थालेका छन् ।
एकातिर भारतमा नेपालबाट भइरहेको सुन तस्करी रोकिएको, उल्टै भारतबाट नेपालमा सुन भित्रिन थालेपछि यसको प्रभाव विनिमय दरमा परेको छ । यही कारण भारुको तुलनामा नेरु पुनः एक पटक कमजोर देखिएको छ ।
भन्सार महसुलले तस्करीलाई कसरी सघाउँछ ?
‘सुन तस्करी भएर आउने जोखिमलाई निमिट्यान्न पार्ने’ भनेर भारतले भन्सार महसुल घटाउने रणनीति अँगिकार गरेको हो । भारतीय सञ्चार माध्यमहरुले सुन तस्करी गर्नका निम्ति कम्तिमा पनि ८ देखि १० प्रतिशतको संरक्षण चाहिने हुन्छ । अन्यथा विदेशबाट सुन किनेर भारत पुर्याउँदा तस्करलाई नाफा बच्दैन ।
सरकारले महँगो भन्सार लगाइदिँदा तस्करले पनि किनेको भन्दा धेरै महँगो मूल्यमा सुन बेच्न पाउँछन् । भन्सार कम भएको अवस्थामा सुनको तस्करी हुन सम्भव हुँदैन ।
त्यसो त, पछिल्लो समय विस्वब्यापी रुपमा युद्ध खतराहरु बढ्दै गएपछि भारत, चीन, रुसजस्ता देशले सुनमा लगानी थुपार्न थालेका छन् । त्यहाँका केन्द्रिय बैंकहरुले आफ्नो कुल विदेशी विनिमय सञ्चितिमा सुनको हिस्सा बढाउँदै लगेका छन् ।
यसरी भन्सार सस्तो बनाएर मूल्यमा राहत दिँदा नागरिकको स्तरमा पनि सुनमा लगानी बढ्ने आशा सरकारले गरेको हुनसक्छ । तर नेपालमा भने वर्षमान पुनले ठीक उल्टो नीति अघि सारेका छन् ।
यहाँका सुनचाँदी व्यवसायीले नयाँ बजेट आउने वित्तिकै महसुल बृद्धिको विरोध गरेका थिए । स्वयम् मन्त्री पुनलाई नै भेटेर पनि यसबारे आफ्नो राय राखेका थिए । तर मन्त्री पुनले उनीहरुको तर्क सुन्न चाहेनन् ।
विदेशबाट आउने यात्रुले ल्याउन पाउने सुनको परिमाण पनि घटाउँदै लगिएको छ

नेपालमा बैधानिक बाटोबाट सुन ल्याउन झनै बढी कसीकसाउ गरिँदै छ । विदेशमा भएका वा विदेश गएका नेपालीले झिटिगुन्टाको रुपमा ल्याउन पाउने सुनको मात्रा क्रमशः घटाउँदै लगिएको छ । स्वदेशी बजारमा विक्री गर्ने प्रयोजनका निम्ति बाणिज्य बैंकले मात्रै सुन आयात गर्न पाउने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।
बाणिज्य बैंकहरुलाई पनि सुन आयात गर्ने कोटा लगाइएको छ । यसरी बैधानिक बाटोबाट हुने आयातलाई चौतर्फी रुपमा कडाई गरिएको छ । अर्कातिर लगातार भन्सार महसुल बढाइएको छ । यसो गर्दा तस्करहरुले मात्रै बढी लाभ पाउने अवस्था आएको सुनचाँदी व्यवसायी बताउँछन् ।
बजारको माग धान्ने सुन ल्याउन पनि नदिने, भन्सार राजस्व पनि असाध्यै बढाएर प्रतिरोध गर्ने सरकारको नीतिले तस्करको ‘मार्जिन’ बढाएको उनीहरुको भनाइ छ ।
नेपालमा हुने सुनको अबैध तस्करीमा माओबादी सम्बद्ध नेताहरु र तिनका परिवारको नाम जोडिएकै बेलामा निवर्तमान अर्थमन्त्री पुनले सुनको भन्सार बढाएका छन् । यस घटनाले ‘कतै उनी सुनको अझ बढी तस्करीलाई प्रवर्ध्दन गर्ने मनस्थितिबाट निर्देशित भएका त होइनन् ?’ भन्ने प्रश्न उब्जाएको एक सुनचाँदी व्यवसायी बताउँछन् ।
मूल्यान्तरले ल्याएको जोखिम
यो सामाचार तयार पार्दै गर्दा हङकङमा सुनको भाउ प्रतिग्राम ६०८.७ हङकङ डलर छ । यो भनेको प्रतितोला १ लाख २२ हजार रुपैयाँ बारबर हो । दुबईमा प्रतिग्राम २८५.९ दिह्राम छ । यो भनेको प्रतितोला १ लाख २१ हजार ९१५ रुपैयाँ हुन्छ ।
त्यति नै सुन भारतमा १ लाख २९ हजार ९०० रुपैयाँमा पाइन्छ भने नेपालमा १ लाख ४७ हजार ८०० रुपैयाँ तिर्नुपर्छ । यसरी हङकङ र दुबईको भाउसँग तुलना गर्दा भारतमा करीब नेरु. ८ हजारको मूल्य फरक पर्छ । तर नेपाली बजारमा प्रतितोला २६ हजार हाराहारी महँगो पर्न गएको छ ।
यति ठूलो मूल्य अन्तरले तस्करी गर्नेहरुलाई लाभ दिन्छ । नेपाली व्यवसायीका अनुसार तस्करीबाट आएको सुन बजारमा प्रतितोला २ देखि ३ हजार रुपैयाँ सस्तो भाउमा विक्री हुन्छ । यो मूल्य ह्रासलाई कटाउने हो भने पनि हङकङ वा दुबईबाट सुन किनेर नेपालमा बेच्दा तोलामै २३ हजारसम्म बढी मूल्य पाइने अवस्था बनेको छ ।
यस हिसाबले १ किलो सुन तस्करी गरेर नेपालमा ल्याउन सक्नेले करीब २० लाख रुपैयाँ नाफा पाउँछ । यति ठूलो मार्जिन तस्करको हातमा पुग्ने गरी भन्सार महसुल बढाइनुले अनावस्यक रुपमा पहेँलो धातु महँगिएको छ । विवाह आदि सांस्कृति कार्यक्रममा अत्यावस्यक हुने सुनको भाउ अचाक्लि बढ्दा नागरिकको ढाड सेकिएको छ । सँगसँगै भारतीय बजारमा जाने प्रबृत्तिले नेपालका व्यवसायी टाट पल्टिने अवस्था बन्न थालेको छ ।