स्कुटर बजारमा होण्डाकै राज, हेर्नुस् : तपाइँलाई मनपर्ने स्कुटरको कति पर्छ मूल्य ?

काठमाडौं । नेपालको स्कुटर बजारमा रोमाञ्चक भिडन्त भइरहेको छ । कयौँ पुराना र स्थापित ब्राण्डहरु बजार हिस्सा गुमाइरहेका छन् । कतिपय कम्पनीले बजार हिस्सा बढाउँदै लगेका पनि छन् । एक समयसम्म ‘महिलाहरुको साधन’ का रुपमा अथ्र्याइने स्कुटरमा अहिले युवा पुस्ताका पुरुषको पनि उत्तिकै रुची बढ्न थालेको देखिन्छ ।
अर्कातिर चारपांग्रे कारको बजारमा पछिल्लो समय विद्युतीय सवारीले बजारलाई तरंगित पारेको छ । तर दुईपांग्रे सवारीमा भने विद्युतीय साधनप्रति आकर्षण त्यो स्तरमा बढ्न सकेको छैन । अझै पनि पेट्रोलियम इन्धनबाट चल्ने परम्परागत सवारीले नै बजार नियन्त्रण गरिरहेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा नेपालमा आयात भएको ७० हजार ५२८ थान स्कुटरमध्ये सबैभन्दा ठूलो हिस्सा होण्डा र त्यसपछि टीभीएस तथा यामाहाले आयात गरेको देखिएको छ ।
होण्डाका ७ भेरियन्ट

लामो समयदेखि होण्डा नेपालको स्कुटर बजारमा राज गरिरहेको छ । विगतमा धेरै लामो समयसम्म होण्डाको डिओ स्कुटरले एकाधिकार नै जमाएको थियो भन्दा फरक पर्दैन । अहिले उसको हिस्सा कमजोर हुँदै गएको भए पनि अझैसम्म होण्डा देशको पहिलो ब्राण्ड हो ।
गत आर्थिक वर्ष नेपालमा आयात भएकोमध्ये आधाभन्दा धेरै स्कुटर एक्लै होण्डाको छ । होण्डाले डिओ, ग्राजिया, एभिएटर र एक्टिभा भर्सनमा स्कुटर बेचिरहेको छ । नेपालमा स्याकर ट्रेडिङ कम्पनीले डिओका तीन र ग्राजिभाका दुई भेरियण्टका स्कुटर बेचिरहेको छ ।
डिओ ११० बीएस सिक्स मोडेलको स्कुटर २ लाख ६९ हजार ९०० मूल्य तोकिएको छ । डिओ १२५ को मूल्य ३ लाख १८ हजार ९०० छ । ग्राजियाको मूल्य २ लाख ६८ हजार ९०० र यसैको बीएस सिक्स भेरियण्टमा ३ लाख २ हजार ९०० मूल्य तोकिएको छ ।
१०९.१९ सीसीको एभियटरको भाउ २ लाख ३५ हजार ९०० छ । एक्टिभा १२५ सीसी स्कुटरको मूल्य २ लाख ५७ हजार ९०० तय गरिएको छ । १०९.२ सीसीको होण्डा डिओका लागि भने २ लाख ३३ हजार ९०० अधिकतम खुद्रा मूल्य तोकिएको छ ।
रफ्तार बढाउँदै टीभिएस

टीभीएस अहिले नेपाली बजारमा दोस्रो ठूलो स्कुटर ब्राण्ड बनेको छ । टीभीएसले ‘एनटर्क’ मोडेलका स्कुटर विक्री गरिरहेको छ । यसका तीन भेरियन्टमध्ये एनटर्क एक्सपी सबैभन्दा महँगो छ । यसको मूल्य ३ लाख २३ हजार ९०० तोकिएको छ ।
त्यस्तै एनटर्क डिस्क स्कुटरको मूल्य २ लाख ७१ हजार ९०० र एनटकी ड्रमको मूल्य २ लाख ३७ हजार ९०० तोकिएको छ । जगदम्बा मोटर्स प्रालिले बेच्ने यी सबै १२५ सीसी क्षमताका स्कुटर हुन् ।
पाँच लाखसम्मको स्कुटर बेच्छ यामाहा

नेपाली बजारमा तेस्रो ठूलो हिस्सा ओगटेको ब्राण्ड यामाहा नै यहाँको सबैभन्दा प्रिमियम स्कुटर बेच्ने ब्राण्ड हो । उसले फेसिनो, रे, एरोक्स जस्ता मोडेलका स्कुटर आयात गरेर बेचविखन गर्दै आएको छ । यामाहाले २ लाख २० हजारदेखि ५ लाखसम्मको स्कुटर बेचिरहेको छ ।
१५५ सीसीको बीएस सिक्स इञ्जिन भएको एरोक्स स्कुटरको मूल्य ४ लाख ९९ हजार ९०० तोकिएको छ । यो नेपालमा उपलब्ध सबैभन्दा महँगो स्कुटर हो ।
साथै नेपालमा हाइब्रिड अर्थात् पेट्रोल र ब्याट्री दुबैबाट चल्ने स्कुटर पनि बेचिरहेको छ । रे जेडआर १२५ एफआई हाइब्रिड स्कुटरको मूल्य २ लाख ७९ हजार ९०० र यसैको ‘स्ट्रिट र्याली’ भेरियन्टको मूल्य ३ लाख १४ हजार ९०० तोकिएको छ ।
एमएडब्ल्यु राइडर्स प्रालिले रे जेडआर ‘स्ट्रिट र्याली’ कै ननहाइब्रिड अर्थात् पेट्रोलले मात्रै चल्ने स्कुटर भने २ लाख ९९ हजार ९०० मा बेचिरहेको छ । फेसिनो बीएस सिक्स स्कुटर पनि २ लाख ७९ हजार ९०० मै विक्रीमा राखिएको छ । एरोक्सबाहेक यी सबै भेरियन्ट १२५ सीसी क्षमतामा उपलब्ध छन् ।
यामाहाले ११३ सीसी क्षमताको पनि दुई भेरियण्ट बेचिरहेको छ । यसमध्ये रे जेडआर ‘स्ट्रिट र्याली’ ११३ को मूल्य २ लाख २० हजार ९०० र रे जेड ११३ को मूल्य २ लाख १९ हजार ९०० तोकिएको छ ।
हिरोको ‘जूम’

हालैमात्र हिरोको आधिकारिक विक्रेता परिवर्तन भएको छ । यसअघि ज्योति ग्रुप अन्तरगतको नेपाल जनरल मार्केटिङ प्रालिले हिरोका दुईपांग्रे सवारी साधन बेच्दै आएको थियो । त्यसबेला नेपालमा प्लेजर, प्लेजर प्लस, डुएट, डेस्टिनी, मिस्ट्रो एज जस्ता विभिन्न मोडेलका स्कुटर नेपालमा विक्री हुँदै हाएको थियो ।
तर हालैमात्र यो ब्राण्डको विक्री गर्ने अधिकार चौधरी समूहमा पुगेकाे छ । गत माघमा सीजी मोटर्सले हिरो मोटोकर्पको आधिकारिक विक्रेता प्राप्त गरेपछि उसले हिरोको नयाँ मोडेल जूम मात्रै बजारमा ल्याएको छ । चौधरी ग्रुपले ब्राण्ड किन्नुअघि हिरोको स्कुटर आयात नै रोकिएको थियो ।
सीजीले ब्राण्ड हात पारेको तेस्रो महिना अर्थात् गत चैतदेखिमात्रै हिराको स्कुटर नेपाल भित्रिएको तथ्यांकमा देखिन्छ । यस अनुसार ११० सीसी क्षमताको जूमका दुई भेरयन्टमध्ये जूम भीएक्सको मूल्य २ लाख ५२ हजार ९०० र जूम जेडएक्सको मूल्य २ लाख ६२ हजार ९०० तोकिएको छ ।
भेस्पा अप्रिलियाको सुस्त सुधार

इटलियन कम्पनी पियाज्जोका थुप्रै सवारी ब्राण्डमध्ये भेस्पा (वेस्पा) र अप्रिलिया पनि नेपाली बजारमा निकै लोकप्रिय हुन थालेको छ । प्रिमियम स्कुटर सेगमेन्टमा पर्ने यी ब्राण्ड नेपालमा दुगड ब्रदर्स एण्ड सन्स प्रालीले बेच्दै आएको थियो । तर २०७९ चैतमा दुगडको हातबाट यो ब्राण्ड खोसियो ।
अहिले भिमसरीया ग्रुप अन्तरगत पुल्कित भिमसरियाको कम्पनी डेल्टा अटोकर्प प्रालिले यी ब्राण्ड बेचिरहेको छ । हुवावे, लेनोभो, वानप्लस, इन्फिनिक्सदेखि आईफोनसम्म नेपालमा आयात गर्ने भिमसरिया ग्रुपले प्रिमियम दुईपांग्रे सवारीमा पनि हात हालेको हो ।
यी दुबै ब्राण्ड एउटै कम्पनीले बेच्छ । दुबै ब्राण्डलाई एकमुष्ट जोड्ने हो भने यो नेपालको चौँथो ठूलो स्कुटर ब्राण्ड बन्ने छ । दुबैगरी गत आर्थिक वर्षमा २ हजार ३७ थान स्कुटर आयात भएका छन् । गत असारबाहेक हरेक महिना यी दुबै ब्राण्डका धेरथोर स्कुटर आयात भएको देखिएको छ ।
अप्रिलियाको एसआर १६० स्कुटर (बीएस सिक्स)को मूल्य ३ लाख ९३ हजार ९०० तोकिएको छ । एसआर १५० को मूल्य भने ३ लाख ३९ हजार ९०० र यसैको रेस भर्सन ३ लाख ६३ हजार ९०० मूल्य तोकिएको छ । अप्रिलिया एसएक्सआर १६० बीएस सिक्सको मूल्य ४ लाख ६५ हजार ४०० तोकिएको छ । त्यस्तै अप्रिलिया स्टोर्म १२५ को मूल्य २ लाख ७८ हजार ९०० र अप्रिलिया एसआर १२५ को मूल्य २ लाख ८८ हजार ९०० तोकिएको छ ।
मासिक रुपमा आयात भएको स्कुटरको तथ्यांक :

भेस्पाको प्रिमियम मोडेल एलिगेन्टको अधिकतम खुद्रा मूल्य ४ लाख ४४ हजार ४४६ तोकिएको छ । त्यस्तै भेस्पा एसएक्सएल मेटको १२५ सीसीमा ३ लाख ६७ हजार ९४६ र १५० सीसीमा ४ लाख २४ हजार ४४६ रुपैयाँ मूल्य निर्धारण गरिएको छ ।
भेस्पा एसएक्सएलको भने १२५ सीसीको मूल्य ३ लाख ६५ हजार ९४६ र १५० सीसी भेरियन्टमा ४ लाख २२ हजार ४४६ रुपैयाँ तोकिएको छ । भेस्पा भीएक्सएल १२५ सीसी स्कुटरको मूल्य ३ लाख ५१ हजार ९४६ र १५० सीसीको मूल्य ४ लाख ६ हजार ९४६ तोकिएको छ ।
यस बाहेक भेस्पा एलएक्स र भेस्पा नोटको मूल्य समान ३ लाख १ हजार ९४६ रुपैयाँ तोकिएको छ ।
सुजुकी र इटालिकाको सुस्त उपस्थिति

गत आर्थिक वर्ष सुजुकीले माघ र फागुनमा गरेर जम्मा १३४ थान स्कुटर नेपा भित्र्याएको थियो । इटालिका ब्राण्डको स्कुटर गत सालको साउन, त्यसपछिको कात्तिक र गएको जेठमा गरेर जम्मा ४४ थानमात्रै आयात भएको तथ्यांक छ ।
विशाल ग्रुप अन्तरगतको भीजी अटोमोबाइल्स प्रालिले सुजुकीका दुईपांग्रे सवारी साधन बेच्दै आएकोछ । सुजुकीको एक्सेस १२५ एफआई स्कुटर २ लाख ६५ हजार ९०० मा बेच्न राखिएको छ । बर्गम्यान १२५ को मूल्य २ लाख ९७ हजार ९०० रुपैयाँ तोकिएको छ । भर्खरै लञ्च भएको एभेनिस १२५ को मूल्य भने २ लाख ९९ हजार ९०० तोकिएको छ ।
सुजुकीजस्तै न्यून रोजाइमा परेको अर्को ब्राण्ड इटालिका हो । यसको फर्मुला १५० स्कुटर ३ लाख ३५ हजार मूल्य तोकिएको छ । यो स्कुटर क्लासिक ह्वील एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालीले बेच्छ । इटालिका मोटोका साथै क्रसफायर, ब्रिटिश एस, एसरविस तिम्सुन लगायत ब्राण्ड बेच्ने यो कम्पनीले हालैमात्र ‘गाह्रो डीटी ६०’ विद्युतीय स्कुटर सार्वजनिक गरेको छ ।
महिन्द्र, बेनेली, टेरामोटर्स लगायतका अन्य ब्राण्डका स्कुटर भने वितेको एक आर्थिक वर्षमा नेपाल भित्रिएनन् । बरु विभिन्न नयाँ ब्राण्डका विद्युतीय स्कुटरहरु भित्रिए । तर उनीहरुको बजार पनि विद्युतीय कारको जस्तो ह्वात्तै बढ्न सकेन ।