नबिलमा भएको आएफआईसीको सेयर किनबेच किन रोकियो ?

काठमाडौँ । बंगलादेशको सबैभन्दा ठूलो बैंक आईएफआईसीको मुख्य साझेदारीमा २०५१ जेठमा नेपाल बंगलादेश (एनबी) बैंक स्थापना भएको थियो । नेपाल सहित ओमन र ब्रिटेनमा पनि यो बैंकले सहायक बैंकहरु खोलेको छ । आईएफआईसीले एनबीको ४०.९ प्रतिशत स्वामित्व ग्रहण गरेको थियो ।
तर नेपालमा व्यवसाय खासै फस्टाउन नसकेपछि उसले लामो समयदेखि नेपालबाट लगानी फिर्ता गर्ने नीति लियो । एनबीमा भएको ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर विक्रीका लागि आईएफआईसीले २०७८ असार २९ मा ३५ दिने सूचना प्रकाशित गरेको थियो ।
तर आईएफआईसीको सेयर विक्री नहुँदै एनबी बैंक नबिल बैंकमा गाभियो र २०७९ असार २७ मा एकीकृत कारोबार सुरु भयो । नबिलमा गाभिँदा एनबीको १०० कित्ता सेयरलाई नबिलको ४३ कित्तामा समायोजन गरिएको थियो ।
यसरी एकीकृत कारोबार सुरु हुनु अगाडी नै एनबीमा भएको आईएफआईसीको स्वामित्व सारिका चौधरी (अर्बपति विनोद चौधरीकी धर्मपत्नी) लाई बेच्ने निश्चय गरिसकेको थियो । त्यसबेला प्रतिकित्ता १५७ रुपैयाँ मूल्य तय भएर सबै प्रक्रिया अघि बढेको थियो । तर दुई बैंक मर्ज भएपछि सेयर नामसारीका लागि अन्तिम स्वीकृति दिन नेपाल राष्ट्र बैंक तयार भएन ।
‘सबै नियामकीय तथा प्रशासनिक पुर्वतयारी सक्काएर अन्तिम स्वीकृतिका लागि राष्ट्र बैंकमा फाइल गएको थियो’ नबिलका एक उच्च अधिकारीले भने, ‘राष्ट्र बैंकले सेयर स्वामित्व परिवर्तन गर्ने प्रस्ताव गरिएको फाइल अझैसम्म तामेलीमै राखेको छ ।’ यसबारे केन्द्रिय बैंकले कुनै लिखित प्रष्टिकरण पनि नदिएको उनले बताए ।
तर मौखिक रुपमा भने मर्जर भएको दुई वर्ष नपुगेसम्म स्वामित्व परिवर्तनको अनुमति नदिने जानकारी गराइएको नबिलको उच्च व्यवस्थापनले जनाएको छ । ‘यही कुरा लिखित रुपमा दिनुस् भनेर धेरैपटक माग्दा पनि उहाँहरुले दिनुभएन’, ती व्यवस्थापकले भने, ‘लिखित रुपमा दिने हो भने तिमीहरु अदालत जान्छौ भन्ने उहाँहरुको तर्क थियो ।’
यही तर्कका आधारमा नबिलमात्रै होइन, हिमालयन बैंकलाई पनि पाकिस्तानी बैंक हबिबको स्वामित्व बेच्न दिएको छैन ।
मर्ज भएको दुई वर्षभित्र स्वामित्व परिवर्तन गर्दा पूँजीगत लाभकर तिर्नु नपर्ने व्यवस्था आयकर ऐनले गरेको छ । आईएफआईसी र चौधरी समूहले यही कानूनी छिद्रको लाभ उठाउन खोजेका थिए । तर यसअघि नै महालेखा परीक्षकले यस्तै किसिमको घटनामा प्रश्न उठाएपछि केन्द्रिय बैंक झस्किएको थियो ।
मर्ज भएको दुई वर्ष नपुग्दै सेयर स्वामित्व हस्तान्तरण गर्न स्वीकृति दिएर राज्यलाई राजस्व घाटा पुर्याएको भन्दै महालेखा परीक्षकले आफ्नो प्रतिवेदनमा प्रश्न उठाइएको थियो । त्यस पछि पनि सोही प्रकारको घटना दोहोराउँदा भविष्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्न उठाउने र भ्रष्टाचारको लफडामा परिने त्रासले केन्द्रिय बैंकलाई त्रसित बनाएको नबिलका ती व्यवस्थापकले बताए ।
कतिमा हुनसक्छ कारोबार ?
तत्कालका लागि नबिलमा रहेको आईएफआईसीको स्वामित्व विक्री नहुने भएको छ । अहिले नबिलमा आईएफआईसीको २ करोड १० लाख कित्ता हाराहारी सेयर छ । एनबीमा करीब ४१ प्रतिशत रहेको स्वामित्व नबिलमा आएपछि ७.७७ प्रतिशतमा झरेको छ ।
कानूनतः गत असार २८ यता नबिलमा भएको आईएफआईसीको सेयर हस्तान्तरण गर्न कुनै समस्या छैन । तर अब सेयर किनबेच गर्दा पूँजीगत लाभकर लाग्ने भएको छ । लाभकर तिरेर स्वामित्व बेच्नुभन्दा नबिलमा भएको स्वामित्व यथास्थितिमा राख्नु नै लाभदायक हुने ठहर बंगलादेशी साझेदारको छ ।
यसअघिको वार्ता अनुसार सेयर किनबेच गरेको भए आईएफआईसीले ६ अर्ब १८ करोड ७० लाख रुपैयाँ पाउने थियो । तर अहिलेको भाउमा त्यो स्तरको मूल्य पाउन सम्भव नभएको नबिलका व्यवस्थापक बताउँछन् ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को तथ्यांक हेर्ने हो भने यसअघिको अन्तिम पल्ट गत साल पुस २ गते नबिलको संस्थापक सेयर प्रतिकित्ता ३०७.२० रुपैयाँमा कारोबार भएको थियो । त्यस दिन दोस्रो बजारमा साधारण सेयरको मूल्य प्रतिकित्ता ५१५ रुपैयाँमा बन्द भएको थियो ।
यसरी साधारण सेयरको झण्डै ६० प्रतिशत मूल्यमा संस्थापक सेयर किनबेच भएको देखिन्छ । गत विहीबार नेप्सेमा नबिलको सेयर ६४५ रुपैयाँमा अन्तिम पल्ट कारोबार भएको छ । यसलाई पुरानो अनुपातसँग दाँजेर हेर्ने हो भने अहिले पनि नबिलको संस्थापक सेयर मूल्य ३८५ रुपैयाँ हुनुपर्ने हो ।
‘ठूलो कित्ता भएकाले बजार मूल्यमा कारोबार हुन सम्भव छैन । मोलमोलाइमै मूल्य तय हुन्छ’, नबिलका ती अधिकारी भन्छन्, ‘प्रतिकित्ता ३८५ को सेयर २५० मै दियो भने पनि पुरै स्वामित्व किन्न ५ अर्बभन्दा धेरै पैसा चाहिन्छ ।’
अहिलेको अवस्थामा बंगलादेशी साझेदार पनि तत्काल सेयर नबेच्ने अवस्थामा पुगेको छ । चौधरी समूह पनि अहिले नकिन्नेमा सहमत देखिन्छ । तर कुनै न कुनै बेला उसले नेपालको सेयर बेच्ने नै हो । यो सेयर चौधरी घरानाले नै किन्ने संभावा उच्च छ ।
तर अहिले नै चौधरी परिवारसँग पनि यो सेयर किन्ने पर्याप्त अहिले पैसा नभएको नबिलको व्यवस्थापन बताउँछ । ‘सेयर बजार घटेको छ । सिमेण्टको ब्यापार खस्किएको छ । जलविद्युतको लगानीले पनि नाफा दिन सकेको छैन’, नबिलका एक उच्च अधिकारी भन्छन्, ‘चाउचाउमा प्रतिस्पर्धी उत्पादनहरु आएका छन् । होटेलको अन्तरराष्ट्रिय चेनले नाफा निकाल्न सकेको छैन ।’