बीमा कम्पनीमा दायित्वको भारी, शिखर सबैभन्दा सुरक्षित, कुनकुन कम्पनी छन् जोखिममा ? « Arthapath.com
२८ श्रावण २०८१, सोमबार

बीमा कम्पनीमा दायित्वको भारी, शिखर सबैभन्दा सुरक्षित, कुनकुन कम्पनी छन् जोखिममा ?



काठमाडौँ । अचेल बीमा कम्पनीहरुले ब्यापक मात्रामा नाफा बढेको देखाउँदै अपरिस्कृत वित्तीय विवरणहरु प्रकाशन गरिरहेका छन् । यस्ता प्रतिवेदनको लोभलाग्दो आँकडाले सेयर बजारलाई पनि तरंगित पारेको छ । तर बीमा कम्पनीहरुले तिर्न बाँकी दायित्व पनि असाध्यै धेरै रहेको देखिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा संकलन गरेको कुल प्रिमियमको ८९.१० प्रतिशत रकम अझै पनि बीमा दाबी भुक्तानी हुन सकेको छैन । यद्यपि, यो सबै दाबी भुक्तानी योग्य हो की होइन भन्ने स्पष्ट छैन । तर दाबीको आकार हेर्दा हाम्रा निर्जीवन बीमा कम्पनीहरुको थाप्लोमा ज्यादै ठूलो दायित्वको बोझ देखिन्छ ।

नियामक निकायले दिएको विवरण अनुसार गत असार मसान्तसम्म १४ निर्जीवन बीमा कम्पनीसँग ७७ हजार ६११ वटा दाबी भुक्तानीको फाइल विचाराधिन छन् । त्यसमा १९ अर्ब २० करोड ४६ लाख ५९ हजार रुपैयाँ बराबरको दाबी प्रस्तुत गरिएको छ ।

यो रकम तिनै निर्जीवन बीमा कम्पनीहरुले गएको एक आर्थिक वर्ष भरीमा आर्जन गरेको कुल प्रिमियम रकमको झण्डै बराबर हो । कम्पनीहरुले गत साल २१ अर्ब ५५ करोड ३७ लाख प्रिमियम संकलन गरेको तथ्यांक नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको छ ।

प्रिमियमका हिसाबले नेपाली बजारमा सबैभन्दा ठूलो निर्जीवन बीमा कम्पनीको रुपमा शिखर इन्स्योरेन्सले आफ्नो स्थान पुनः प्राप्ती गरेको छ । यसअघि मर्जर र एक्वीजिशनका कारण अन्य संस्थाहरु अगाडी आए पनि गत आर्थिक वर्षबाट पुनः शिखरले पहिलो स्थान हासिल गरेको हो ।

व्यावसायिक आकारमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो र सिद्धार्थ प्रिमियर तेस्रो स्थानमा छन् । हिमालयन एभरेष्ट चौँथो र आईजीआई प्रुडेन्सियल पाचौँ स्थानमा छन् । शिखर बाहेक यी सबै कम्पनी मर्जरबाट बनेका हुन् । त्यसपछि नेको इन्स्योरेन्सको स्थान छ ।

सातौं र आठौँ स्थानमा पुनः मर्जरबाट गुज्रिएका युनाइटेड अजोड र सानिमा जीआईसी इन्स्योरेन्स छन् । एनएलजी, ओरियन्टल, प्रभू, राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्स्योेरेन्स र नेशनल इन्स्योरेन्स त्यसपछि देखिएका छन् ।

तर भुक्तानी दिन बाँकीको सूची हेर्ने हो भने सगरमाथा लुम्बिनी सबैभन्दा अगाडी देखिन्छ । ऊ एक्लैले ३ अर्ब ८१ करोड ७४ लाखभन्दा बढी बीमा दाबी तिर्न बाँकी छ । सिद्धार्थ प्रिमियरले २ अर्ब १९ करोड ५० लाख र आईजीआई प्रुडेन्सियलले १ अर्ब ८३ करोड ७४ लाखभन्दा धेरै दाबी भुक्तानी गर्न सकेको छैन ।

राष्ट्रिय बीमा कम्पनीले पनि १ अर्ब ५१ करोड २२ लाख हाराहारी दाबी तिर्न बाँकी छ । यी चार कम्पनीले मात्रै कुल बाँकी दाबीको करीब आधा हिस्सा ओगट्छन् ।

प्रिमियमको अनुपातमा बाँकी दाबीलाई दाँजेर हेर्ने हो भने सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी सबैभन्दा कमजोर हातमा देखिएको छ । जम्मा १ अर्ब ५९ करोड प्रिमियम उठाएको यो कम्पनीले १ अर्ब ५१ करोड रुपैयाँ बीमा दाबी तिर्न बाँकी छ । यो कुल प्रिमियमको करीब ९५ प्रतिशत हो ।

सगरमाथा लुम्बिनीको हालत पनि उस्तै छ । उसले गएको वर्षभरीमा उठाएको प्रिमियको लगभग ८० प्रतिशत रकम बीमा दाबीमा तिर्न बाँकी छ । यो सूचीमा सबैभन्दा ठूलो बीमा कम्पनी शिखर इन्स्योरेन्स भने सर्वाधिक ‘इफिसियन्ट’ देखिएको छ । उसको कुल प्रिमियममा बाँकी दाबीको अनुपात केवल १५ प्रतिशत छ । ओरियन्टल र युनाइटेड अजोड पनि तुलनात्मक रुपले ‘ग्राहकमैत्री’ देखिएका छन् ।

बीमा दाबीको भुक्तानी रोकिनुले बीमा कम्पनीहरुको विस्वसनीयता र बीमाप्रतिको जनधारणामा नकारात्मक प्रभाव पर्ने जानकार बताउँछन् । यस्तो बेला दाबीको फस्र्योट गर्ने क्षमता नै बीमा कम्पनीहरुको सेवाको प्रभावकारिता मापन गर्ने एक मुख्य आधार हो । कम्पनीहरुले बीमा फस्र्योट गर्न नसक्दा ठूलो दायित्वको भारी बोकेर बस्नु परेको देखिन्छ भने उनीहरुको वित्तीय प्रतिवेदनमा देखिएको उल्लासमय नाफाको आँकडालाई पनि फिक्का पारिदिएको छ ।


प्रतिक्रिया दिनुहोस्