बीमा कम्पनीमा सेयर बजारले ततायो माहोल, ‘फूल टाइम’ लगानीमा मारामार ! « Arthapath.com
३१ श्रावण २०८१, बिहीबार

बीमा कम्पनीमा सेयर बजारले ततायो माहोल, ‘फूल टाइम’ लगानीमा मारामार !



काठमाडौँ । केही कम्पनीहरुलाई अपवाद मान्ने हो भने गत आर्थिक वर्षमा बीमा कम्पनीहरुको नाफा ब्यापक मात्रामा बढेको देखिन्छ । उनीहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बीमा कम्पनीहरुको नाफामा उछाल आएको देखिएको हो ।

अहिले सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीको नाफा औसतमा ५२.८ प्रतिशत बढेको छ । त्यसमध्ये गत साल नाफा घटेका राष्ट्रिय बीमा कम्पनी र नेको इन्स्योरेन्सलाई सूचीबाट हटाएर हेर्ने हो भने बाँकी १२ कम्पनीको औसत नाफा बृद्धिदर ८०.७१ प्रतिशत पुगेको छ ।

जीवन बीमा कम्पनीहरुको नाफा निर्जीवनकै रफ्तारमा त बढ्न सकेन, तर उनीहरुले पनि उल्लेख्य नाफा बृद्धि गरेको देखिन्छ । सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीको वित्तीय विवरण विहीबारसम्म सार्वजनिक भएको छैन । यसबाहेक १३ वटा कम्पनीको कुल नाफा बृद्धि औसतमा १३.५३ प्रतिशत बढेको छ ।

यसमा पनि गत साल नाफा खुम्चिएका लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल, मेट लाइफ र सन नेपाल लाइफलाई अलग्याउँदा बाँकी १० कम्पनीको नाफा औसतमा ६३.०९ प्रतिशत बढेको छ ।

‘श्रावणको खहरे’ जस्तै गरी उर्लिएको नाफाको यो भेल अउनुमा गत साल बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदर एक महत्वपूर्ण कारण थियो । बैंकहरुले संस्थागत निक्षेपकर्तालाई १० प्रतिशत हाराहारीसम्म ब्याज दिएका थिए । कतिपय बैंकले त ‘दैनिक चक्रीय गणना पद्धति’को नाममा वार्षिक ११ प्रतिशतभन्दा बढी ब्याज आम्दानी हुने गरी निक्षेप चलाएका थिए ।

आर्थिक वर्षको मध्ये भाग अर्थात् गत पुसको आँकडा हेर्ने हो भने सम्पूर्ण जीवन बीमा कम्पनीहरुले आफ्नो कुल लगानीको ७७ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुले ७९ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थमा मुद्दति खातामा जम्मा गरेका थिए ।

तर यो आर्थिक वर्ष सुरु हुँदै गर्दा ब्याजदरमा भारी कमी आइसकेको छ । अहिले संस्थागत निक्षेपकर्ताको ब्याजदर बैंकअनुसार साढे ४ देखि ५ प्रतिशत हाराहारी छ । यसरी ब्याजबाट हुने आम्दानी खुम्चिएको बेला यो यो खाडल पुर्नमात्रै होइन, अझ ब्यापक नाफा बृद्धि गर्न बीमा कम्पनीहरु सक्रीय रुपमा सेयर बजारमा ‘खेल्न’ थालेका छन् ।

‘कर्नरिङ’ गर्न सजिलो

नेपाल बीमा प्राधिकरणले लगानी निर्देशिका जारी गरेर बीमा कम्पनीहरुलाई कुल लगानीको निश्चित प्रतिशतसम्म विभिन्न क्षेत्रमा लगानी गर्न सक्ने गरी सीमा तय गरिदिएको छ । उक्त सीमाभित्र रहेर कम्पनीहरुले लगानी गर्नुपर्ने हुन्छ ।

निर्देशिकाले जीवन र निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्नेमात्रै होइन, दुबै खाले लघु बीमा र पुनर्बीमा व्यवसाय गर्ने कम्पनीहरुका लागि पनि सेयरको दोस्रो बजार कारोबारमा समान सीमा तय गरेको छ । यस अनुसार बीमा कम्पनीहरुले आफ्नो कुल लगानीको बढीमा १० प्रतिशतसम्म रकम ‘धितोपत्र बोर्डबाट इजाजत प्राप्त धितोपत्र विनियम बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सेयर’मा लगानी गर्न पाउने छन् ।

यसरी लगानी गर्न कुनै पनि कम्पनीको कुल चुक्ता पूँजीको १५ प्रतिशतसम्म सेयर किन्न पाउे व्यवस्था गरिएको छ । यद्यपि, चुक्ता पूँजीको १५ प्रतिशतसम्म सेयर एउटै कम्पनीले किन्न पाउने व्यवस्था भएपछि यसले बीमा कम्पनीहरुलाई कुनै पनि कम्पनीको सेयरमा ‘कर्नरिङ’ गर्न पनि बैधानिकता प्राप्त भएको कतिपयको तर्क छ ।

यो सीमा २०७९ मा चुक्ता पूँजीको ५ प्रतिशतसम्म मात्रै थियो भने गत पुस ५ मा बढाएर १५ प्रतिशत पुर्याइएको हो । अधिकतर कम्पनीले चुक्ता पूँजीको ३० प्रतिशत र कतिपय वास्तविक क्षेत्रका कम्पनीले त १० प्रतिशतमात्रै स्वामित्व सर्वसाधारणमा विक्री गरेका छन् । यसो हुँदा ती कम्पनीको दोस्रो बजार स्वामित्वमा बीमा कम्पनीहरुले राम्रैसँग सट्टेबाजी गर्नसक्ने बाटो खुलेको छ ।

यसबाहेक सरकारी ऋणपत्र र बचतपत्र, कृषि उत्पादन तथा वितरण, शीत भण्डार, पर्यटन, उद्योग, जलविद्युत्, सौर्य ऊर्जा, केबलकार, सडक पूर्वाधार, घरजग्गा, मुद्दती निक्षेप, सूचीकृत कम्पनीका ऋणपत्र वा डिबेञ्चर, कृषि पर्यटन जलस्रोतलगायत पूर्वाधार, नागरिक लगानी कोष र म्युचुअल फन्ड तथा प्राइभेट इक्वीटी फण्डहरुमा समेत लगानी गर्न दिने प्रावधान छ ।

लगानीको सीमा

गत असार मसान्तको तथ्यांक अनुसार सबै बीमा कम्पनीहरुले कुल ७ खर्ब ९० अर्ब ९६ करोड ७६ लाख ६ हजार रुपैयाँ लगानी गरेका छन् । त्यसमध्ये सेयरमा भएको लगानी जम्मा २४ अर्ब १७ करोड १२ लाख ८७ हजार थियो । यो कुल लगानीको ३.०६ प्रतिशत हो ।

बीमा कम्पनीहरुको लगानी निर्देशिका अनुसार १० प्रतिशत लगानी सेयर बजारमा गर्न पाइने भएकाले उनीहरुले अझै आफ्नो लगानीको ७ प्रतिशत हिस्सा अर्थात् ५४ अर्ब ९२ करोड ५५ लाख सेयर बजारमा थप लगानी गर्नसक्ने ठाउँ थियो ।

यसमध्ये सबैभन्दा ठूलो ‘स्पेस’ जीवन बीमा कम्पनीहरुको हातमा छ । उनीहरुले असार मसान्तपछि कम्तिमा ४९ अर्ब १० करोड रुपैयाँ सेयर बजारमा थप लगानी गर्न सक्ने अवस्था थियो । निर्जीवन कम्पनीहरुले २ अर्ब ७९ करोड र पुनर्बीमा कम्पनीले २ अर्ब ६८ करोडभन्दा धेरै लगानी सेयर बजारमा बढाउन सक्ने अवस्था थियो ।

यो सीमामा खेल्न साउन लागेसँगै बीमा कम्पनीहरु तत्पर देखिएका छन् । यसैले उनीहरुले लगानी बढाउँदै लगेको कम्पनीका सीईओहरु बताउँछन् ।

‘अहिले कसैलाई फुर्सद छैन’

आर्थिक वर्षको सुरुमा आफ्नो व्यवसाय विस्तार गर्ने र नयाँ रणनीतिहरु बनाएर कर्मचारीलाई पनि पुनःजागृत गर्ने व्यस्तता शीर्ष व्यवस्थापनमा हुन्छ । तर अहिले बीमा कम्पनीका शीर्षस्थ अधिकारीहरु बीमाको व्यवसाय बढाउनेमा भन्दा सेयर बजारमा लगानी गरेर पहिलो त्रैमासमै ब्यापक नाफा बृद्धि गर्ने बाटोमा ज्यादातर अग्रसर देखिन्छन् ।

‘अहिले तपाइँले हेर्नु भयो भने कुनै पनि सीईओलाई फुर्सद छैन, सबै सेयर बजारमा लागेका छन्’, एक जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतले भने, ‘मुद्दति निक्षेपमा घटेको ब्याजको खाडल भर्न सेयर बजारमा लाग्नुपर्ने अवस्था छ ।’

कतिपय कम्पनीहरुले त सेयर बजारमा लगानी बढाउन विशिष्ट समूह वा टोली नै बनाएर अध्ययन र लगानी व्यवस्थापन गरिरहेको बीमा कम्पनीका उच्च अधिकारीहरुले जनाएका छन् ।

नियामकीय व्यवस्था अनुसार जीवन बीमाले जीवन बीमाकै र निर्जीवन बीमाले निर्जीवन बीमा कम्पनीकै सेयरमा लगानी गर्न पाउँदैनन् । त्यसबाहेक सबै कम्पनीमा लगानी गर्न पाउने भएकाले उनीहरुले ब्यापक मात्रामा लगानी बढाएका छन् । अहिले सेयर बजार उचालिनुमा बैंक र बीमा कम्पनीहरुको संस्थागत लगानी पनि एक मुख्य कारण रहेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्