विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु होः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न सबैमा आग्रह गरे ।
उनले “नेपालका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध पु¥याउने सोँच हटेको छैन । यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धि र विकासमा समेत नकारात्मक असर पर्ने बताए ,”।
मुलुकमा विकास पूर्वाधार, विशेष गरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको बताउँदै ढकालले यसका लागि ठूलो पूँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्ने बताए ।
उनले “हामीले चन्द्रागिरि केबलकार बनाउँदा पनि यस्तै प्रतिरोधको सामना गर्नुपरेको थियो । तर अहिले त्यो क्षेत्र समृद्ध छ । स्थानीयले रोजगारी पाएका छन्, मुलुकले एउटा पर्यटकीय गन्तब्य पाएको बताए ”।
ढकालले गण्डकी प्रदेश र गैँडाकोटको विकासको संभावनालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।
उनले गण्डकी प्रदेशको सम्भावनालाई उजागर गर्न निजी क्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक रहेको समेत बताए ।