बैंकमा पैसा बढी भएपछि कम मार्जिनमै ऋण दिन हानाथाप, स्प्रेड घटेको घट्यै « Arthapath.com
२९ कार्तिक २०८१, बिहीबार

बैंकमा पैसा बढी भएपछि कम मार्जिनमै ऋण दिन हानाथाप, स्प्रेड घटेको घट्यै



काठमाडौँ । नेपाल राष्ट्र बैंकले पाँच महिनायता आफ्नो वेवसाइटमा भारित औसत ब्याजदरको तथ्यांक अध्यावधिक गरेको छैन । तर केन्द्रिय बैंककै मासिक तथ्यांकलाई आधार मान्ने हो भने गत भदौ मसान्तसम्म बाणिज्य बैंकहरुले निक्षेपकर्तालाई औसत ५.४८ प्रतिशत ब्याज दिइरहेका थिए । तर उनीहरुले ऋणीहरुसँग ९.५२ प्रतिशत औसत ब्याज उठाइरहेको देखिन्छ ।

यो विवरण भारित औसतका आधारमा निकालिएको हो । यसलाई अझ छुट्याएर हेर्ने हो भने भदौमा बचत खातामा पैसा राख्ने निक्षेपकर्ताले औसत ३.३८ प्रतिशत ब्याज पाइरहेका थिए । मुद्दति खातामै पनि १ वर्षसम्मको अबधिका निक्षेपमा ५.६७ देखि ६.४० प्रतिशतमात्रै ब्याज दिइएको थियो । २ वर्षभन्दा ज्यादा अवधिको मुद्दति खातामा १०.३३ प्रतिशत ब्याजदर रहेको राष्ट्र बैंकले बताएको छ, तर यस्तो रकम तुलनात्मक रुपमा कम छ ।

ऋणीका हकमा भने उपभोग्य कर्जामा औसत १०.३ प्रतिशत ब्याज लगाइएको थियो । स्थानीय सरकारले साढे ३ प्रतिशत ब्याजमै ऋण पाएको भए पनि निजि क्षेत्रमा सबैभन्दा सस्तो कर्जा माछा पालन र माछाको कारोबारमा प्रवाह भएको राष्ट्र बैंकले देखाएको छ । यस क्षेत्रमा औसत ब्याजदर ८.५८ प्रतिशत रहेको भदौको तथ्यांक छ ।

कृषि तथा वन क्षेत्रमा ९.०१, खानिजन्य काममा ९.५२, कृषि तथा पेय पदार्थको प्रशोधनमा ९.३५, निर्माण क्षेत्रमा ९.९४ प्रतिशत ब्याज लगाइएको देखिन्छ । विद्युत्, ग्यास र पानीका लागि प्रवाह भएको कर्जामा ९.५६ प्रतिशत ब्याज लगाइएको छ । होटेल तथा रेस्टुरेन्टमा ९.७६ प्रतिशत र सर्वाधिक कर्जा प्रवाह भएको क्षेत्र थोक तथा खुद्रा ब्यापारमा बाणिज्य बैंकहरुले औसत ९.९३ प्रतिशत ब्याज लिएको देखिन्छ ।

यसरी भदौ मसान्तमा बाणिज्य बैंकहरुको भारित औसत ब्याजदरको अन्तर (स्प्रेड) ४.०४ प्रतिशत देखिएको छ । तर असोज मसान्तमा बाणिज्य बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार औसत ब्याजदर अन्तर ३.९६ प्रतिशतमा झरेको देखिन्छ । यो गत असारको तुलनामा केवल २ आधार विन्दु (०.०२ प्रतिशत बिन्दु)मात्रै कम हो ।

अर्थात्, असारको तुलनामा स्प्रेड खासै कम त भएको छैन, तर यो राष्ट्र बैंकले दिएको ४ प्रतिशतको सीमाबाट तल ओर्लिएको छ ।

चालू आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा ब्यापक रुपमा तरलता बढेको छ । बैंकहरुमा लगानीयोग्य पैसा ज्यादा भएपछि राष्ट्र बैंकले तारन्तार तरलता खिँचिरहेको छ । यसमा राष्ट्रबैंकलाई ठूलो ब्याज हानि पनि भइरहेको छ । केन्द्रिय बैंकले घाटा सहेर बजारबाट पैसा थुत्नु परिरहेको बेलामा पनि पाँच वटा बाणिज्य बैंकले असारको तुलनामा असोज मसान्तसम्म आउँदा स्प्रेड बढाएका छन् ।

स्प्रेड बढ्नु भनेको कि त निक्षेपकर्तालाई, कि ऋणीलाई दपेट्नु हो । तर बैंकको नजरबाट हेर्दा नियामकले दिएको सीमासम्म अधिकतम स्प्रेड हासिल गर्नु उक्त बैंक व्यवस्थापनको चातुर्य वा व्यवस्थापकीय कौशल ठानिन्छ ।

यस अवधिमा सरकारी स्वामित्वको कृषि विकास बैंक र एभरेष्ट बैंकले सर्वाधिक स्प्रेड बढाएका छन् । त्यसपछि एनआईसी एसिया, माछापुच्छ्रे र राष्ट्रिय बाणिज्य बैंकले पनि स्प्रेड बढाएको वित्तीय विवरणमा देखिन्छ । लक्ष्मी सनराइज, सानिमा, सिद्धार्थ र प्राइम कमर्शियल बैंकले भने स्प्रेडलाई यथास्थितिमै राखेका छन् । बाँकी सबै बाणिज्य बैंकको स्प्रेड घटेको छ ।

यसमध्ये पनि नेपाल एसबीआई बैंकले असारको तुलनामा २३ आधार बिन्दुले र कुमारी बैंकले ९ आधार बिन्दुले स्प्रेड घटाएका छन् । हिमालयन, ग्लोबल आईएमई र प्रभू बैंकको स्प्रेड कटौति पनि अरुभन्दा ज्यादा छ ।

स्प्रेड कम हुँदा बैंकहरुको मार्जिन अर्थात् नाफा कम हुन्छ । निक्षेपकर्तालाई दिने ब्याज रकम र ऋणीबाट लिने ब्याज रकमबीचको अन्तर नै स्प्रेड हो । यस्तो आँकडा निकै कम हुनुको अर्थ बैंकको वित्तीय व्यवस्थापन कौशल कमजोर भएको द्योतक हो । कारोबारको आकार ठूलो भएका संस्थालाई तुलनात्मक रुपमा कम स्प्रेडमा पनि ज्यादा नाफा निस्कन सक्छ । तर उनीहरुको खर्च पनि स्वाभाविक रुपमा बढी हुने गर्छ ।

प्राइमजस्ता सञ्चालन खर्च कम भएका संस्थाले कमैमात्र स्प्रेडमा काम गर्दा पनि अरु प्रतिस्पर्धी बैंकको तुलनामा ज्यादा लाभांश क्षमता हासिल गर्न भने सक्छन् । तर सरसर्ति हेदा अहिले स्प्रेडमा धेरै ठूलो अन्तर चाहीँ देखिँदैन । अहिले सर्वाधिक स्प्रेड ४ प्रतिशतमा सीमित गरिएको छ भने सबैभन्दा कम स्प्रेड भएको नेपाल एसबीआईले ३.७६ प्रतिशत ब्याजदर अन्तरमा काम गरिरहेको छ । यो भनेको केवल २४ आधारबिन्दुको साँघुरो करिडोर हो ।


प्रतिक्रिया दिनुहोस्