नेपालले चार महिनामा ३५ देशबाट किन्यो २४६ किलो सुन, कसले दियो सस्तो ? « Arthapath.com
७ मंसिर २०८१, शुक्रबार

नेपालले चार महिनामा ३५ देशबाट किन्यो २४६ किलो सुन, कसले दियो सस्तो ?



काठमाडौँ । पहेँलो धातुको भाउ उचालिएर ‘आशाक छुन’ लागेको छ । गएको १५ कात्तिकमा नेपाली बजारमा सुनको मूल्य सर्वाधिक विन्दुमा पुग्दा प्रतितोला १ लाख ७१ हजार पुगेको थियो । त्यस दिन १० ग्राम सुनको मूल्य १ लाख ४६ हजार ६०५ रुपैयाँ पुग्यो ।

ठीक एक वर्ष अघि यही सुनको भाउ तोलाको १ लाख १५ हजार थियो । १ वर्षमा ५६ हजार अर्थात् ४८.७० प्रतिशत महँगियो । एकातिर ३ वर्षदेखि मन्दीमा गएको घरेलु अर्थतन्त्र, त्यसमाथि यसरी आकाशिएको सुनको भाउले सुनचाँदी पसलहरु अधिकतर सुनसान देखिए ।

अर्कातिर भारतले अबैध सुनको आयातलाई निरुत्साहित गर्न भन्दै भन्सार दर घटाइदिएपछि त नेपालभन्दा भारतमा सस्तोमै सुन पाइन थाल्यो । चार्डपर्व र विहेको मूल मौसममा भारतबाट भारी मात्रामा सुनको अबैध आयात भइरहेका विवरणहरु आइरहेका छन् ।

शुक्रबारकै मूल्य हेर्ने हो भने नेपाली बजारमा १० ग्राम सुनको मूल्य १ लाख ४१ हजार ८९० रुपैयाँ तोकिएको छ । वीरगञ्जको पारिपट्टी रक्सौलमा त्यति नै सुन भारु. ७८ हजार ८२० मा कारोबार भइरहेको छ । यो भनेको नेपाली मुद्रामा १ लाख २६ हजार ११२ रुपैयाँ हो ।

यसरी १० ग्राम सुनमा १५ हजार ७७८ रुपैयाँ नेपालतर्फ महँगो परेको छ । तोलाको हिसाब गर्ने हो भने नेपालभन्दा भारतमा सुनको मूल्य १८ हजार ४०५ रुपैयाँ सस्तो पर्छ यसो भएपछि अहिले नेपालमा भारतबाट सुन आयात भइरहेको छ ।

तै पनि नेपालमा सुनको बैधानिक आयातमा ठूलो अंकुश लाग्न सकेन । नेपालले गत साउनदेखि कात्तिक सम्ममात्रै २ सय ४६ किलोभन्दा धेरै सुन आयात गरेको छ । संसारका विभिन्न ३५ देशबाट यो सुन आयात भएको भन्सार विभागले शुक्रबार जारी गरेको तथ्यांकमा देखिन्छ ।

यसका लागि नेपालले २ अर्ब ६८ करोड १२ लाख ७२ हजार रुपैयाँ खर्चिएको विभागको तथ्यांक छ । यस बीचमा नेपालले आयात गरेको सुनको औसत मूल्य प्रतितोला १ लाख २७ हजार ८७ रुपैयाँ परेको छ ।

नेपालले कच्चा वा कुनै निश्चित आकारमा नभएको सुन पनि किनेको छ । बिस्किट वा अन्य निश्चित आकारमा भएको सुन र गरगहनाको रुपमा पनि पहेँलो धातु स्वदेश भित्र्याएको छ । यो आँकडा वैदेशिक रोजगारीमा जाने नेपालीले झिटिगुन्टा कानून अन्तरगत ल्याएको बैधानिक सुनभन्दा बाहेकको हो, जुन बैंकहरुले प्रतितपत्र खोलेर आयात गर्छन् ।

तर अचम्म लाग्दो कुरा चाहीँ नेपालले सबैभन्दा धेरै सुन दुबई, कतार, हङकङ वा चीनबाट होइन, टर्कीबाट आयात गरेको छ । वितेको ४ महिनामा आयात भएको करीब साढे २ सय किलोमध्ये १०० किलो सुन केवल टर्कीबाट किनिएको देखिन्छ ।

त्यसपछि दुबई अर्थात् संयुक्त अरब इमिरेट्स र कतारबाट बढी सुन आएको देखिन्छ । त्यसपछि साउदी अरबबाट धेरै सुन आएको छ । यसरी खाडी क्षेत्रका मुलुकबाटै नेपालले ज्यादातर सुन भित्र्याएको देखिन्छ ।

हङकङ त नेपालमा अबैध सुन भित्रिने मुख्य स्रोत विन्दु रहँदै आएको थियो । तर बैध सुनको आयातको तथ्यांकले त्यो हाम्रो पाँचौँ रोजाइ रहेको देखाउँछ । त्यसपछि ब्रिटेन र थाइल्याण्डबाट पनि धेरै सुन आएको छ ।

दक्षिण कोरिया, अमेरिका, कुवेत, बहराइन, मलेसिया, अस्ट्रेलिया, जापान, सिंगापुरजस्ता मुलुकको लामो सूचीपछि मात्रै आउँछ चीन ।

नेपालले सुन ल्याउँदा प्रतिग्राम औसत लागत मूल्य १० हजार ७६३ रुपैयाँ परेको छ । तर गहनाको रुपमा सुन ल्याउँदा भने यही लागत ११ हजार ३६ रुपैयाँ परेको देखिन्छ । २ अर्ब ६८ करोडको सुन ल्याउँदा सरकारले पनि ५१ करोड ७८ लाख ४८ हजार रुपैयाँ राजस्व उठाएको छ ।

यसको मतलव खरीद मूल्यको १९.३१ प्रतिशतभन्दा धेरै राजस्व सरकारले लिएको छ । अर्थात् तपाइँले किन्ने १ तोला सुनमा २४ हजार ५४५ रुपैयाँ सरकारले भन्सार विन्दुमै राजस्व लगाइसकेको छ ।

नेपालले सबैभन्दा सस्तो सुन पनि टर्कीबाटै किनेको छ । त्यहाँबाट ज्यादा सुन आयात हुनुको कारण पनि सस्तो मूल्य नै हो । बैंकहरुले जहाँ सस्तो मूल्यमा पाइन्छ, त्यहीँबाट सुन किन्ने गरेका छन् ।

त्यसपछि माल्टा, अजरबैजान, स्वाजिल्याण्ड, ओमन, मलेसिया, थाइल्याण्ड, बहराइनको सुन सस्तो परेको छ । म्यानमारबाट आयात भएको सुनका लागि नेपालले ज्यादा मूल्य तिरेको छ । त्यहाँबाट गहना आयात भएको हुनाले पनि मूल्य महँगो परेको हो ।

अफगानिस्तान, हङ्कङ, सिंगापुर, अस्ट्रेलिया, अमेरिकाबाट आयात भएको सुनको मूल्य बढी परेको छ । त्यसपछि साउदी अरब, कतार, स्वीट्जरल्याण्ड, जर्मनी, ताजिकिस्तान, चीन, ब्रुनेई, पोर्चुगल, जापान, इजरायल, कुवेत, ब्रिटेन, बेल्जियम, आइसल्याण्ड, जोर्डन, न्यूजिल्याण्डबाट आयात भएको सुन महँगो परेको तथ्यांकमा देखिन्छ ।

त्यसो त, सुनको मूल्य अन्तरराष्ट्रिय बजारमा उतारचढाव भइरहने भएकाले कुनै देश विशेषको सुन सस्तो वा महँगो हुने संभावना कम रहन्छ । बरु कुन समयमा किनेको हो भन्ने कुराले चाहीँ मूल्यमा प्रभाव पार्छ ।

नेपालले विगत ४ महिनामा विभिन्न देशबाट आयात गरेको सुनको परिमाण र मूल्य (रकम रू. हजारमा)


प्रतिक्रिया दिनुहोस्