के आजबाट शेयर बजार ‘गुटुङ–टुङ’ बढ्ला ? « Arthapath.com
९ मंसिर २०८१, आईतवार

के आजबाट शेयर बजार ‘गुटुङ–टुङ’ बढ्ला ?



काठमाडौँ । नेपालले सार्वभौम ‘क्रेडिट रेटिङ’मा दक्षिण एसियामै दोस्रो र संसारका कयौँ मुलुकभन्दा राम्रो ‘स्कोर’ प्राप्त गरेपछि यसको असर शेयर बजारमा देखिन सक्ने केही लगानीकर्ताले आशा गरेका छन् । पहिलो पल्ट गरिएको क्रेडिट रेटिङले नेपालमा सट्टेबाजीका लागि सुरक्षित वातावरण देखिएको भन्दै लगानीकर्ता आशावादी भएका हुन् ।

त्यसमाथि सम्भवतः यसै हप्ता सार्वजनिक हुने अपेक्षा गरिएको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाले पनि सेयर बजार र घरजग्गा कारोबारलाई अझै लचक रुझान लिने अपेक्षा छ । अहिले धेरै मानिसको पैसा घरजग्गामा फसेका कारण वित्तीय संकटको गाँठो फुकाउन घरजग्गामा लगानी विस्तार गर्ने नीति सरकारको छ ।

घरजग्गामा लगानी फुकाउँदा त्यसको असर सेयर बजारमा पनि पर्ने नीति निर्माताको विस्वास छ । यसले पनि सेयर बजारलाई अबका दिनमा नयाँ उचाइमा पुर्याउने परिदृष्य तयार भएको लगानीकर्ता बताउँछन् ।

उता, गत पुस २० देखि रिक्त रहँदै आएको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रियाले गति लिएको छ । आजैमात्र अर्थ मन्त्रालयले बाँकी प्रत्यासीहरुलाई अन्तरवार्ता र प्रस्तुतीकरणका निम्ति बोलाएको छ । यससँगै सिफारिस समितिले प्रक्रिया अघि बढाएमा यसै हप्ता बोर्डले नयाँ नेतृत्व पाउने संभावना छ ।

यता, बैंक तथा वित्तीय संस्थाहरु अब आक्रामक रुपमा लगानी विस्तार गर्ने बाध्यतामा छन् । केही समय पर्याप्त तरलता हुँदाहुँदै पनि पूँजीको अड्चनले कर्जा विस्तार गर्न नसकेका बैंक तथा वित्तीय संस्थाहरु अब राष्ट्र बैंकले पूँजीको गाँठो फुकाइदिएको भन्दै लगानी विस्तारमा दिशामा देखिन्छन् ।

‘अब चार्डपर्व सकियो । बर्षात् सकियो । अब पनि कर्जा विस्तारमा ध्यान नदिने हो भने समस्या हुन्छ’, एक बैंकरले भने, ‘राष्ट्र बैंकले पनि हदैसम्मको लचकता अपनाएर जाने संकेत गरिरहेको छ । यसलाई हामीले सहयोग गर्नुपर्छ ।’

तर अहिले तुरुन्तै पैसाको प्रवाह हुनसक्ने दुई क्षेत्रमात्रै हुन्– सेयर बजार र घरजग्गा । पछिल्लो समय घरजग्गाको भाउ ओरालो लागेको छ । त्योभन्दा बढी कारोबार नै रोकिएको छ । अधिकांश सहकारीका समस्या पनि यही घरजग्गाको कारोबारमा रोकिँदा सिर्जना भएको छ ।

यी समस्यालाई फुकाउने बाटोको खोजि भइरहँदा बैंकरहरु ठूला र मध्यम स्तरका सेयर लगानीर्तालाई फोन गर्दै कर्जा लिन आग्रह गर्न थालेका छन् । यो पैसा सेयर बजारमा गए पछि यसै पनि बजार उकालो लागिहाल्छ । यसले अब सेयर बजारले नयाँ उचाइ तर्फको यात्रा आरम्भ गर्ने परिदृष्य तयार भएको एक लगानीकर्ता बताउँछन् ।

आइतबारको सुरुआति रुझान हेर्ने हो भने कारोबार खुलेको पहिलो २० मिनेटमा केही घट्न खोजेको सेयर बजार सूचक नेप्से त्यसपछि सम्हालिएर बढ्ने दिशामा अघि बढेको थियो ।

पछिल्लो साढे चार महिनामा नेप्से परिसूचक :

यद्यपि, आइतबारको बजार बन्द हुँदा नेप्से १३ अंक घटेर २६६७ अंकमा रोकिएको छ । लगानीकर्ताहरुले अहिलेको यो साँघुरो कमीबाट आत्तिन नहुने, बरु सेयर बजार नयाँ आधार क्षेत्र नजिकै रहेकाले खरीद गर्ने उपयुक्त मौका भएको बताउँछन् ।

नेप्सेमा ब्यापार भएका पछिल्ला चार दिनको प्रबृत्ती हेर्ने हो भने पनि घट्दो क्रम रोकिँदै गएको देखिन्छ । गत मंगलबार ५१ अंकभन्दा धेरै घटेको नेप्से बुधबार केवल ९ अंक बढेर ४२ अंकको ऋणात्मक हालतलाई यथावत राखेको थियो । बिहीबार फेरि ३१ अंक घटेको नेप्से आइतबार १३ अंकको न्यूनतामै रोकियो । यसले बजारको घट्ने क्रम थामिँदै गएको देखाउँछ ।

यसअघि २ हजार ३७ अंकबाट ३ हजार अंकमा नेप्से पुगेपछि अन्तिम विन्दु २४६० अंकसम्म झरेको छ । इन्ट्रा–डे कारोबारलाई नियाल्ने हो भने गत असोज ९ मा २४४३ र १३ असोजमा २४४२ अंकमा टेवा पाएको थियो । त्यसपछि उकालो लागेको नेप्से २६१० अंकबाट तल झरेको छैन । मध्ये असोजदेखि नेप्से परिसूचक २६०० देखि २७५० को स्तरका बीच डेढ सय अंकको करिडोरमा चलेको देखिन्छ ।

यसले पनि यतिबेला प्रवेश गर्ने लगानीकर्तालाई ज्यादै ठूलो जोखिम नहुने देखाउँछ । किनकी, गएको साउन १० पछि नेप्से अधिकतर समय २६०० अंकभन्दा माथि नै रहेको छ ।


प्रतिक्रिया दिनुहोस्