विकास बैंकमै पहिलो म्युचुअल फण्ड ल्याउँदै मुक्तिनाथ

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले प्रवर्ध्दन गरेको मुक्तिनाथ क्यापिटलले म्युचुअल फण्ड ल्याउने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट स्वीकृती पाएको ‘मुक्तिनाथ म्युचुअल फण्ड १’ का इकाईहरु विक्री गर्न लागेको हो ।
क्यापिटलले कुल १ अर्ब रकमको बन्दमुखि सामूहिक लगानी कोष योजना ल्याउन लागेको छ । यसको बिज पूँजीको रुपमा १५ प्रतिशत अर्थात् १५ करोड रुपैयाँ बराबरको रकम कोष प्रवर्ध्दक तथा कोष व्यवस्थापकले समेत लगानी गर्ने भएको छ ।
लगानीकर्ताको विस्वास जित्न र प्रतिफलको सुनिश्चितताका निम्ति कुल विक्री हुने इकाईमध्ये १५ प्रतिशत प्रवद्र्धकले लगानी गर्न लागेको हो । यी ईकाइहरु पूर्ण रुपमा विक्री नभएको अवस्थामा चाहीँ प्रवर्ध्दकले कुल ईकाइको १५ प्रतिशत लगानी गर्ने आह्वानपत्रमा उल्लेख छ ।
यस योजनामा १ ईकाइको १० रुपैयाँका दरले मूल्य निर्धारण गरिएको छ । नेपालमा कानून अनुसार नै १ ईकाइको १० रुपैयाँ मूल्य बराबरले योजनाका ईकाइहरु बेच्नुपर्ने व्यवस्था छ ।
यो योजनामा सहभागि हुने सर्वसाधारण लगानीकर्ताले कम्तिमा १ हजार रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ । यसको अधिकतम सीमा चाहीँ १० करोड रुपैयाँ छ । यसरी सानो पैसा लगानी गरेर १ अर्बको कोषको हिस्सा बन्न पाइने मौका दिइएको प्रवर्ध्दकले जनाएको छ ।