तीन वर्षको आयात आँकडाले भन्छ- ‘उपभोग साँच्चै घटेको छ’

काठमाडौँ । भन्सार विभागको आँकडाले नेपालमा उपभोग कसरी घटेको छ भन्ने एउटा दृष्टान्त प्रस्तुत गरेको छ । पछिल्लो ३ वर्षको आँकडा केलाउँदा यस्तो देखिएको हो ।
सामान्य अवस्थामा आयात सम्बन्धि विवरणहरु केलाउँदा अक्सर आयात मूल्यलाई आधार मान्ने गरिएको थियो । तर आज हामीले आयातित वस्तुको परिमाणलाई मात्रै दाँजेर हेर्ने कोसिस गरेका छौँ । यसले मूल्यमा भएको उतारचढावबाट उपभोगको वास्तविक आँकडालाई प्रभावित नपारोस् भन्ने हाम्रो आशय हो ।
नेपालमा आयात भएका प्रमुख ४५ वस्तुको वार्षिक आँकडा केलायर हेर्दा अधिकतर वस्तुहरुको आयात खुम्चिएको देखिन्छ । यी वस्तुको आयातमा मात्रै नेपालले हरेक साल विदेशी सामान किनेर तिर्ने पैसाको ४५ देखि ५१ प्रतिशतसम्म भुक्तानी गरेको देखिन्छ ।
तीनै शीर्ष ४५ वस्तुमध्ये ३२ वस्तुको आयात खुम्चिएको छ । गत आर्थिक वर्षको आँकडासँग दाँजेर हेर्दा दुई वर्ष अघिको तुलनामा हवाई इन्धनको आयात ९३.४६ प्रतिशत घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा ३० लाख २६ हजार किलोलिटर भन्दा धेरै आयात भएको हवाई इन्धन गत आवसम्म आउँदा जम्मा १ लाख ९७ हजार किलोलिटर आयात भएको देखिन्छ ।
यसले हवाई जहाजहरु इन्धन भर्न नेपालभन्दा विदेशमा बढी केन्द्रित भएको देखाउँछ । त्यसपछि बासमती बाहेकको चामलको आयात पनि घटेको छ । तीन वर्ष अघि ४५ करोड ८२ लाख किलो चामल आयात भएकोमा गत आर्थिक वर्षमा घटेर केवल ३ करोड ९७ लाख किलोमा झरेको छ । अर्को प्रकारको चामल पनि ७ करोड किलो पुगेको आयात घटेर ४ करोड ९० लाख किलोभन्दा कम भएको छ ।
मोटा चामलको आयातमा भारी कमी आउनुको कारण चाहीँ नेपालमा भएका मदिरा उद्योगहरुको खपत घट्नु हो । मदिरा उद्योगहरुमा माग कम भएपछि उनीहरुले पर्याप्त मात्रामा चामलको खपत गर्न सकेनन् । अर्कातिर भारी मात्रामा युवा पलायन हुनुले पनि चामलको आयात कम गरेको छ ।
पछिल्ला वर्षमा भारतमा विदेशी ब्राण्डका मदिरा उत्पादन सहज भएपछि नेपालका उद्योगहरु समस्यामा परेका थिए । यसको एउटा असर चामल आयातमा परेको छ । सरकारले अन्तःशुल्क लगाउने प्रमुख वस्तुमध्ये एक मदिराको उत्पादन खुम्चिएपछि यसको मार सरकारी ढुकुटीलाई पनि पर्दै आएको छ ।
भटमासको कच्चा तेलको आयात पनि खुम्चिएको छ । नेपालले पाम तथ भटमासको तेल प्रशोधन गरेर भारत निर्यात गर्दै आएको भए पनि पछिल्लो समय भारत निर्मातमा समस्या देखिएपछि नेपाली तेल उत्पादकहरुको व्यवसाय पनि धर्मराएको छ । त्यसैले तेल उत्पादकले कच्चा पदार्थको रुपमा ल्याउने सामानको आयात पनि खुम्चिएको छ ।
तीन वर्ष अघि नै ३३ करोड ३० लाख लिटर भटमासको कच्चा तेल आयात भएकोमा गत आवमा यो घटेर ९ करोड २ लाख लिटरमा झरेको छ । भटमासको तेलमात्रै होइन, भटमासकै आयात पनि घटेको छ । १४ करोड ३८ लाख किलो आयात भएको भटमास तेस्रो वर्षमा पुग्दा ७ करोड ११ लाख किलोमा झरेको छ ।
पछिल्ला २ आर्थिक वर्षमा शीर्ष ४५ वस्तुको आयात परिमाणको परिवर्तन (प्रतिशत):

पाम तेलको हालत पनि त्यस्तै छ । कच्चा पाम तेल ३ वर्षको अन्तरालमा २७ करोड ६६ लाख लिटरबाट घटेर ८ करोड ३८ लाख लिटरभन्दा कममात्रै आयात भएको छ ।
स्टिलको आयात पनि यो ३ वर्षमा ७१.६३ प्रतिशत घटेको छ । ३ वर्ष अघि ६६ करोड ५६ लाख किलो स्टिल आयात भएकोमा गत साल १८ करोड ८८ लाख किलोमात्रै आयात भएको छ । १२५ सीसीसम्मका मोटरसाइकलको आयात ६५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
सेरामिक्स अर्थात् माटाका भाँडाकुँडाको आयात पनि ५४.५ प्रतिशत हाराहारी घटेको छ । सुनकै आयात पनि आधाभन्दा धेरै घटेको छ । आ.व. २०७८/७९ मा ५ हजार ५३ किलो सुन बैधानिक बाटोबाटै आयात भएको थियो । तर आ.व. २०८०/८१ मा आइपुग्दा यो परिमाण २६ सय ५२ किलोभन्दा पनि कममा झरेको छ ।
प्लाटिनम लगायत अन्य धातुमा मिश्रण भएको वा अपरिस्कृत सुनको आयात पनि घटेकै छ । ३ वर्ष अघि यस्तो सुन करीब ४७२ किलो आयात भएकोमा पोहोर साल २५७ किलो हाराहारीमात्रै आयात भएको छ ।
धानको आयात पनि घटेकै छ । परार साल थोरै बढेको धानको आयात पोहोरको आर्थिक वर्षमा त ४३ प्रतिशत घट्न पुग्यो । यसरी गत आवमा ३ लाख १९ हजार टन धान आयात भएको थियो, जुन अघिल्लो वर्ष ५ लाख ५६ हजार टन हाराहारी आयात भएको भन्सार विभागको तथ्यांक छ ।
बीउका लागि प्रयोग हुनेभन्दा बाहेक नै पनि गत साल ३ लाख ५० हजार टन मकै आयात भएको छ । तर यही मकै आर्थिक वर्ष २०७८/७९मा ५ लाख २४ हजार टनभन्दा धेरै आयात भएको थियो । खाद्य पदार्थमा आलुको आयात पनि घटेको छ ।
ल्यापटप र नोटबूकको आयात गत आर्थिक वर्षमा २२ प्रतिशतले बढेको भए पनि त्योभन्दा अघिल्लो साल ५० प्रतिशत घटेको थियो । त्यसैले गत आवमा पनि ३ वर्ष अघिको अनुपातमा यस्ता विद्युतीय उपकरण भित्रिन सकेनन् ।
लुब्रिकेन्ट अर्थात् मोबिलको आयात पनि २५ प्रतिशतभन्दा फराकिलो अन्तरले घटेको छ । फलामे रड तथा
डण्डीको आयात पनि झण्डै २४ प्रतिशत खस्किएकै छ । डिजेलको आयात पनि अघिल्लो साल त २० प्रतिशत घटेको थियो । तर गत आर्थिक वर्षमा भने थप नघटेको देखिन्छ ।
कोइलाको आयात भने परार साल ३२ प्रतिशत घटेकोमा पोहोर २० प्रतिशत बढेको छ । परिणामको हिसाब हेर्ने हो भने ३ वर्ष अघिको अवस्थामा कोइला आयात हुन अझै १९ प्रतिशत आयात बढ्नुपर्ने आवस्यकता छ ।
टायर, रबर र मोटरका पार्टपूर्जाको आयात पनि घटेकै छ । प्लास्टिक दाना (पोलिप्रोपिलिन) को आयात पनि घटेको छ । यसले पोलिथिन झोला र अन्य प्लास्टिकका सामानको उत्पादन खस्किएको देखाउँछ ।
पेट्रोलको आयात भने आव. २०७९/८० मा ८ प्रतिशत घटेपनि गत आवमा १ प्रतिशतको साँघुरो बृद्धि देखिएको छ । खाना पकाउने पेट्रोलियम ग्यासको आयात पनि गत आवमा त २ प्रतिशत बढेको थियो, तर त्यस अघिको वर्षमा ४ प्रतिशत घटेका कारण अझै ३ वर्ष अघिको स्थितिमा फर्किन सकेको छैन ।
स्याउ र दालको आयात पनि सानो अन्तरले घटेको छ । तामाको तारको आयात गत आवमा बढ्न थालेको देखिए पनि जिङ्कको आयात थप खस्किएको छ ।
आ.व. २०७८/७९ मा उच्च दरमा घटेका पशु दाना, तेलहन उपज र धागोको आयात गत आवमा भने उल्लेख्य बढेको देखिएको छ । कच्चा जुटको आयात गत साल केही कम भए पनि तीन वर्षका दौरान बढेकै देखिन्छ । पोलिस्टर धागोदेखि औषधिसम्मको आयात पनि बढेको छ ।
सूर्यमुखिको कच्चा तेल आयात पोहोर साल ४० प्रतिशत बढेको छ । अलकत्राको आयात पनि गत आवमा २१ प्रतिशत र त्योभन्दा अघिल्लो साल ११ प्रतिशत बढेको थियो । यसले सडक स्तरोन्नतीको काम भने नरोकिएको देखाउँछ ।
फलामे डण्डीको आयात घटे पनि बेरिएको वा चेप्टा फलामे पाताको आयात भने बढेको छ । यस्ता पाता र कच्चा फलाम (आइरन ओर) गरेर गत आवमा १२ लाख २३ हजार टन आयात भएको देखिन्छ । जुन २०७८/७९ को वर्षमा ६ लाख ९२ हजार टनभन्दा पनि कममात्रै आयात भएको थियो ।
यसले फलाम उद्योगहरु लामो समयदेखि नै ४० प्रतिशतको क्षमतामा चलिरहेका छन् भन्ने व्यवसायीको भनाइमाथि प्रश्न उठाएको छ । यद्यपि, पछिल्लो समय यस्तो फलामको आयात बढ्ने रफ्तार चाहीँ कम भएको देखिन्छ ।
युरिया (रसायनिक मल)को आयात पनि २०७८/७९ मा त १२० प्रतिशत बढेको थियो । सधैँभरी मल अभाव हुने गरेकोमा त्यो साल सरकारले पर्याप्त मल भित्र्याएर किसानलाई राहत दिएको थियो । तर गत आवमा भने मलको आयात ३ प्रतिशतमात्रै बढेको छ ।
धेरै मानिसहरु कृषि पेशा छाडेर अन्यत्र लाग्न थालेको र एक विन्दुमा पुगेपछि मलको आवस्यकता परिपूर्ति भएका कारण पनि यसको आयातमा पछिल्लो वर्ष उल्लेख्य बृद्धि नदेखिएको हुनसक्छ ।
हामीले प्रस्तुत गरेको पछिल्ला ३ वर्षमा आयात भएका शीर्ष ४५ वस्तुको सूचीमा सर्वाधिक आयात बृद्धि भएको चाहीँ डीएपी (डायमोनियम हाइड्रोजन अर्थोफोस्फेट) हो । पछिल्लो समय नेपालमा कृषकहरुले डीएपी मलको ब्यापक प्रयोग गर्न थालेको यस तथ्यले उजागर हुन्छ ।
रसायनिक मलमा युरियामात्रै ज्यादा प्रयोग हुँदै आएकोमा यो मल आयातको आँकडाले किसानहरुको क्रय क्षमतामा बृद्धि भएको पनि देखाउँछ भने उनीहरु खेतिमा मलको मीश्रण गर्नेतर्फ सचेत हुन थालेको पनि संकेत गर्छ ।
यसरी आव. २०७८/७९ देखि आव २०८०/८१ सम्मको ३ वर्षको आँकडाले कृषि क्षेत्रबाहेकमा आयात खुम्चिएको देखिएको छ । तर आयात घट्ने क्रम चाहीँ साँघुरिएको छ । किनकी आव २०७९/८० मा शीर्ष ४५ मध्ये ३२ वस्तुको आयात घटेको थियो । तर गत आव २०८०/८१ मा आउँदा तिनैमध्ये केलव २२ वस्तुको मात्रै आयात घटेको देखिन्छ । यसले अर्थतन्त्र विस्तारै लयमा फर्कने कोसिस गरिरहेको गत असारसम्मको आँकडाले देखाउँछ ।
भलै, त्यस पछि पनि अपेक्षाकृत गतिमा अर्थतन्त्र चलायमान बन्न नसकेका विवरणहरु बाहिर आइरहेका छन् ।