शिथिल निर्माण क्षेत्र : विकास निर्माणका काममा बैंकबाट जाने कर्जा दबाबमै

काठमाडौं । बैंकहरुले निर्माण क्षेत्रमा गर्ने लगानी दबाबमै देखिएको छ । आर्थिक शिथिलताका कारण निर्माणजन्य गतिविधि चलायमान नहुँदा बैंकहरुको कर्जा लगानी पनि सुस्त देखिएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार मुलुकभर विकास निर्माणका काममा बैंकहरुबाट प्रवाह हुने कर्जा सामान्य सुधार देखिएको छ ।
चालु आर्थिक वर्षको चार महिनामा बैंकहरुबाट निमार्ण क्षेत्रमा १ खर्ब ८७ अर्ब ९० करोड रुपैयाँ मात्रै कर्जा प्रवाह भएको छ । यो गत आवको कात्तिक मसान्तसम्मको तुलनामा भने ३.७१ प्रतिशत मात्रै बढी हो । गत आवको पहिलो चार महिनामा भने वाणिज्य बैंकहरुले १ खर्ब ८१ अर्ब १७ करोड ६४ लाख रुपैयाँ कर्जा निर्माण क्षेत्रमा लगानी गरेका थिए ।
गत असोजसम्मको आँकडामा पनि बैंकहरुले यस क्षेत्रमा प्रवाह गर्ने कर्जा घटेको थियो । कात्तिक, मंसिरपछि भने विस्तारै निर्माण सिजन सुरु हुने भएकाले केही सुधार देखिएको हो । यद्यपि, अहिले निर्माण क्षेत्र चलामायन भने छैन ।
आर्थिक शिथिलताकै कारण निर्माणजन्य गतिविधि बढन् सकिरहेको छैन् । सडक, पुल, भवन, जलविद्युत परियोजना लगायतका ठुला पूर्वाधारहरुमा निजी क्षेत्रले पनि लगानी बढाउन सकिरहेका छैन् ।
अर्को तर्फ निर्माण व्यवसायीले सरकारबाट पाउनुपर्ने भुक्तानी नपाएकाले सो क्षेत्र चलायमान हुन सकिरहेको छैन । ऋणको सावाँ तथा ब्याज तिर्न नसक्दा थप काम गर्न अप्ठ्यारो भएको व्यवसायीहरु बताउँछन् । यस्तो अवस्थामा बैंकबाट थप ऋण लिएर लगानी गर्न समेत डराउनुपर्ने अवस्था रहेको व्यवसायीहरु बताउँछन् ।

राष्ट्र बैंकका अनुसार अधिकांश बैंकहरुले सो क्षेत्रमा प्रवाह हुने कर्जा लगानी सामान्य बढाएका छन् । झन्डै आधा दर्जन बैंकको यस्तो शीर्षकको लगानी भने घटेको देखिन्छ । ग्लोबल आइएमई लगायतका ७ वटा बैंकले निर्माण क्षेत्रमा लगानी घटाएका छन् ।
गत वर्षको कात्तिक मसान्तसम्मको तुलनामा लक्ष्मी सनराइजले ३८.४५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले १०.१४ प्रतिशत, ग्लोबल आइएमईले ९.९३ प्रतिशत, सानिमा बैंकको ६.४३ प्रतिशत र सिद्धार्थ बैंकको पनि ५.९५ प्रतिशत घटेको छ । चालु आवको पहिलो चार महिनामा यी बैंकहरुले निर्माण क्षेत्रमा क्रमशः १८ अर्ब १० करोड ३८ लाख, ३ अर्ब २८ करोड ९३ लाख, ८ अर्ब ८ करोड ५३ लाख, ७ अर्ब ८ करोड ४७ लाख र ४ अर्ब ६७ करोड २९ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यस्तै, निर्माण क्षेत्रमा नेपाल एसबिआईको कर्जा लगानी पनि ३.३८ प्रतिशत घटेर १ अर्ब ७१ करोड ८७ लाख र कुमारी बैंकको ३.४३ प्रतिशत घटेर १७ अर्ब ४६ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । निर्माण क्षेत्रमा सबै भन्दा धेरै लगानी भने नबिल बैंकको देखिएको छ । बैंकले गत कात्तिक मसान्तसम्ममा २४ अर्ब १२ करोड ५१ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा भने १७.३ प्रतिशत बढी हो । रकमको आधारमा लक्ष्मी सनराइज दोस्रो सूचीमा छ । बैंकले १८ अर्ब १० करोड ३८ लाख रुपैयाँ कर्जा लगानी निर्माण क्षेत्रमा गरेको छ ।
यस्तै, एनआइसी एशियाको १६ अर्ब ६५ करोड ४५ लाख, प्रभूको १४ अर्ब १ करोड ८३ लाख, कृषि विकासको १२ अर्ब ६४ करोड ५१ लाख, सिटिजनको १२ अर्ब ४३ करोड ८० लाख, प्राइमको ११ अर्ब ४९ करोड ९३ लाख रुपैयाँ लगानी निर्माण क्षेत्रमा देखिएको छ ।
यता, माछापुच्छ्रे ७ अर्ब १८ करोड ४४ लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७ अर्ब ५ करो २२ लाख, एनएमबिको ५ अर्ब १४ करोड १ लाख, एभरेष्टको ३ अर्ब ३घ करोड ३९ लाख, राष्ट्रिय वाणिज्यको ३ अर्ब २८ करोड ९३ लाख, नेपाल बैंकको २ अर्ब ९५ करोड २५ लाख र हिमालयनको २ अर्ब ११ करोड ७६ लाख रुपैयाँ लगानी निर्माण क्षेत्रमा गरेका छन् ।
लगानी बढाउन भने एभरेष्ट अगाडि देखिएको छ । गत आवको तुलनामा एभरेष्ट बैंकको यस्तो शीर्षकको कर्जा प्रवाह ७५.७ प्रतिशत बढी हो । यस्तै, सिटिजनको पनि ३२.३ प्रतिशत, प्रभूको २६.६१ प्रतिशत, कृषि विकासको २५.७९ प्रतिशत र प्राइमको २३.०७ प्रतिशत बढेको देखिन्छ ।
