एनएसीको आन्तरिक उडान पुरै बन्द, व्यवस्थापनको लापरबाहीले दुर्गमका नागरिक सेवा बिहिन

आन्तरिक उडान धानिरहेको एउटा मात्रै ट्वीनअटर जहाज पनि ग्राउन्डेड
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय ध्वजा वाहक नेपाल वायुसेवा निगमको आन्तरिक उडान पूर्ण रुपमा बन्द भएको छ ।
साढे ६ दशमभन्दा लामो उडान इतिहास बनाएको कम्पनीले जम्मा दुईवटा ट्वीनअटर जहाजबाट आन्तरिक उडान धानिरहेकोमा थियो । त्यसमा पनि एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड भयो ।
त्यसयता एउटै जहाजले उडान थेगिरहेकोमा अब त्यो पनि ‘थला परेको’ छ । गत आइतबारबाट बाँकी एउटा ग्राउन्डेड भएपछि आन्तरिक उडान पूर्ण रुपमा बन्द हुन पुगेको हो ।
इन्जिनको उडान अवधि (फ्लाइट आवर) सकिन्छ भन्ने कुरा पहिले नै थाहा भएर नयाँ इञ्जिन मगाइएको भए पनि समयमै आपूर्ति नभएका कारण जहाज ग्राउण्डेड भएको नेपाल एयर लाइन्सले जनाएको छ ।
नेपाल एअरलायन्सले देशभरका विभिन्न २० वटा दुर्गम गन्तव्यमा उडाउन भर्नका लागि आफ्ना दुई दुईवटा ट्वीनअटर विमानहरुको उपयोग गर्दै आएको थियो । निजी विमान सेवा प्रदायकहरुले उडान गर्न नमान्ने दुर्गम इलाकामा पनि उक्त सरकारी स्वामित्वको कम्पनीले सेवा दिँदै आएको थियो ।
तर अहिले दुबै विमान ग्राउण्डेड भएपछि दुर्गम क्षेत्रमा यात्रा गर्ने यात्रुले बहुतै सास्ती पाउने भएका छन् । कमजोर सडक पूर्वाधार र ब्यापक लामो दूरीका कारण आपतकालिन अवस्थामा दुर्गम भूभागबाट यात्रा गर्न यी विमानहरु ‘वरदान’ सावित हुँदै आएका थिए । अब त्यो अवसर तत्कालका लागि रोकिएको छ ।
कम्पनीले समयमै विमान मर्मतको प्रक्रिया अघि नबढाउँदा यस्तो दुर्दशा व्यहोर्नु परेको हो ।