बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया शुरु, अधिकारीको संयोजकत्वमा समिति

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको नयाँ अध्यक्ष नियुक्त गर्न सरकारले प्रक्रिया अघि बढाएको छ । प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २४ मा भ्रष्टाचार मुद्दा दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।
त्यसपछि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले ‘कामचलाऊ’ अध्यक्षको भूमिका निर्वाह गर्दै आएका छन् । आगामी माघमा यसै पनि सिलवालको कार्यकाल सकिँदै थियो । उनले २०७७ माघमा अध्यक्षको नियुक्ति पाएका थिए ।
भूकम्पको समयमा गृह मन्त्रालयका सचिव रहेका सिलवाल झण्डै २ वर्ष गृह मन्त्रालय हाँकेका र केही जिल्लामा प्रमुख जिल्ला अघिकारी (सीडीओ) समेत रहिसकेका कारण उनको स्वभाव हक्कि थियो । उनकै अध्यक्षताको समयमा तत्कालिन बीमा समितिलाई प्राधिकरण बनाइयो ।
पटक पटक उनको कार्यकालको विवाद पनि बाहिर आयो । यस अघिका अर्थमन्त्री वर्षमान पुनले त उनलाई हटाउन मन्त्रालयकै एक सहसचिव मार्फत् प्रस्ताव पठाएका थिए । उनै सिलवालले नेपालमा बीमा क्षेत्रका कम्पनीहरु मर्ज गर्न जोड दिन्थे भने सँगसँगै ‘लघु बीमा’को नाममा नयाँलाइसेन्स पनि बाँडेका थिए ।
सिलवालको बहिर्गमनपछि सरकारले नयाँ अध्यक्ष नियुक्त गर्ने प्रक्रिया थालनी गरेको हो । यसका लागि पुस ९ गते मंगलबार बसेको मन्त्री परिषदको बैठकले एक सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा गठित उक्त समितिमा अर्थ मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरे र ज्योतिचन्द्र ओझा सदस्य चुनिएका छन् । मन्त्री परिषदले ‘राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा’ समिति गठन गर्ने भनेको छ ।
तर अर्थ मन्त्रालयको मातहतमा आउने यो वित्तीय क्षेत्रको नियामकको क्षेत्राधिकार आगोगभित्र उपाध्यक्ष अधिकारीले स्वयम् लिएका छन् ।