बढ्न थाल्यो वैदेशिक लगानी प्रतिवद्धता, ४६० वटा प्रोजेक्टका लागि २८ अर्ब ७८ करोडको कमिटमेन्ट

काठमाडौं । वैदेशिक लगानी प्रतिवद्धता बढ्न थालेको छ । १० महिनामै साढे २८ अर्ब बढीको वैदेशिक लगानी प्रतिवद्धता भित्रिएको छ ।
उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म आइपुग्दा २८ अर्ब ७८ करोड ६७ लाख ७४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ४.५३ प्रतिशत धेरै हो । गत आवको १० महिनामा पनि २७ अर्ब ५३ करोड ८८ लाख २६ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको थियो ।
सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) क्षेत्रका अर्थात् स्वचालित प्रणाली, स्वीकृति र सेयर खरिद लगायतमा विदेशी लगानीकर्ताले उक्त परिमाणको लगानी भित्र्याउने प्रतिबद्धता जनाएका हुन् ।
विभागका अनुसार १० महिनामा ४६० वटा परियोजनाका लागि सो रकम बराबरको वैदेशिक लगानी प्रतिवद्धता आएको हो । स्वचालित प्रणालीबाट १७५ परियोजनाका लागि २ अर्ब ६२ करोड ८२ लाख ५७ रुपैयाँ वैदेशिक लगानी प्रतिवद्धता भएको छ । यता, अप्रुभल रुट मार्फत भने २११ वटा परियोजनका लागि २४ अर्ब २१ करोड ३४ लाख ७६ हजार रुपैयाँ लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।
विभाग अनुसार सेयर पर्चेज एग्रिमेन्ट(एसपीए), सेयर सब्सक्रिप्सन एग्रिमेन्ट (एसएसए) र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट (टीटीए) क्षेत्रका ७४ वटा उद्योगका लागि १ अर्ब ९४ करोड ५० लाख ४१ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।

विभागका अनुसार १० महिनामा चार वटा ठुला उद्योगका लागि वैदेशिक लगानी प्रतिवद्धता आएको छ । यस्तै, ७६ वटा मध्यम खालका उद्योगका लागि र ३७५ वटा साना उद्योगका लागि वैदेशिक लगानी प्रतिवद्धता आएको विभागले जनाएको छ ।
विभागका अनुसार माघ महिनामा मात्रै १ अर्ब १५ करोड ७४ लाख ९५ हजार रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो । यस्तै, गत पुस महिनामा मात्रै ३ अर्ब ११ करोड ५७ करोड ५६ रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको थियो ।

यस्तै, मंसिरमा मात्रै २ अर्ब ५१ करोड ७३ लाख ५० हजार रुपैयाँ बराबरको ६७ उद्योगका लागि वैदेशिक लगानी प्रतिवद्धता आएको छ । यस्तै, गत कात्तिकमा २ अर्ब २४ करोड ३७ लाख ९६ हजार रुपैयाँ, असोजमा ३ अर्ब ९७ करोड ६३ लाख, भदौमा ४ अर्ब ११ करोड ६६ लाख ५० हजार र साउनमा ९ अर्ब ४६ करोड ४५ लाख ७२ हजार बराबरको लगानी प्रतिवद्धता आएको थियो ।
हालसम्म भने कुल ५ खर्ब ४६ अर्ब ६० करोड ४२ लाख ३० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिवद्धता भित्रिएको छ । लगानी प्रतिवद्धता आएका उद्योग संचालनमा आएपछि ३ लाख ३७ हजार ९६७ जनाले प्रत्यक्ष रोजगारी पाउने विभागले जनाएको छ ।