अर्थतन्त्र चलायमान हुने संकेत : आयात १० प्रतिशत र निर्यात साढे ४६ प्रतिशत बढ्यो

काठमाडौं । नेपालको वैदेशिक व्यापारमा व्यापार सुधार देखिएको छ । पछिल्लो समय आयात र निर्यात दुवै वृद्धि भएको छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म आइपुग्दा आयात १० प्रतिशत वृद्धि भएको छ ।
चालु आवको ७ महिनामा नेपालले कुल ९ खर्ब ८८ अर्ब ५८ करोड ७७ लाख रुपैयाँ बराबरको आयात गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा भने १०.०९ प्रतिशत बढी हो । गत आवको माघ मसान्तसम्ममा भने ८ खर्ब ९७ अर्ब ९४ करोड ३९ लाख रुपैयाँ बराबरको माल वस्तु आयात भएको थियो ।
समिक्षा अवधिमा डिजेल, पेट्रोल नै सर्वाधिक आयात भएको छ । विभागका अनुसार ६६ अर्ब ४८ करोड २ लाख रुपैयाँ बराबरको डिजेल आयात भएको छ । यता, ३७ अर्ब ६४ करोड १५ लाख बरारबको पेट्रोल आयात भएको छ ।
यस्तै खाना पकाउने ग्यास पनि ३५ अर्ब ४७ करोड ७६ लाख रुपैयाँ बराबरको आयात भएको छ । विभागका अनुसार सोयाविन तेलको कच्चा पदार्थ पनि ७ महिनामा ३१ अर्ब ६८ करोड ९२ लाख रुपैयाँ बराबरको आयात भएको देखिन्छ ।
यता, आयातसँगै निर्यातको आँकडामा उकालो नै देखिएको छ । समिक्षा अवधिमा निर्यात पनि साढे ४६ प्रतिशत वृद्धि भएको छ । ७ महिनाको अवधिमा नेपालले कुल १ खर्ब २७ अर्ब २० करोड ४८ लाख रुपैयाँ बराबरको बस्तु तथा सेवा निर्यात गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा भने ४६.५० प्रतिशत बढी हो । गत आवको माघ मसान्तसम्म नेपालले कुल ८६ अर्ब ८३ करोड ९ लाख रुपैयाँ बराबरको मात्रै निर्यात गरेको थियो । विभागका अनुसार सोयाबिन तेल, सूर्यमुखी तेला, कार्पेट, अलैंची लगायत धेरै वस्तु सर्वाधिक निर्यात भएका छन् ।
भन्सार विभागका अनुसार पछिल्लो समय आर्थिक गतिविधि बढ्दै गएको देखिन्छ । आयात गत मंसिरदेखि नै निरन्तर बढी रहेको छ । आयात निर्यातको आँकडाले यस्तो प्रष्ट पार्छ । समिक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार पनि १३.३० प्रतिशत वृद्धि भई ११ खर्ब १५ अर्ब ७९ करोड २५ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत आवको पहिलो १० महिनामा ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरको मात्रै वैदेशिक व्यापार भएको थियो ।
यद्यपि, व्यापार घाटा पनि उत्तिकै बढ्दो देखिन्छ । नेपालको आयातको तुलनामा निर्यात ज्यादै कम छ । त्यसकारण पनि वैदेशिक व्यापार घाटा महिनैपिच्छे उकालो लागेको छ । ७ महिनाको अवधिमा नेपालले कुल ८ खर्ब ६१ अर्ब ३८ करोड २८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । व्यापार घाटा एक वर्षमा ६.२० प्रतिशत वृद्धि भएको छ ।
आयात वृद्धिसँगै भन्सार राजश्व पनि वृद्धि भएको छ । ७ महिनामा सरकारले कुल २ खर्ब ६२ अर्ब ९५ करोड ६६ लाख रुपैयाँ भन्सार राजश्व उठाएको छ । यो गत वर्षको सो अवधिको तुलनामा भने ११.२४ प्रतिशत अर्थात् २६ अर्ब ५७ करोड ४० लाख रुपैयाँ बढी हो ।
राजश्वमा पनि पेट्रोल, डिजेल, खाना पकाउने ग्यास लगायतको उच्च योगदान छ । समिक्षा अवधिमा डिजेल आयातबाट सरकारले २९ अर्ब ४५ करोड १६ लाख, पेट्रोलबाट २४ अर्ब ५८ करोड ३२ लाख रुपैयाँ राजश्व प्राप्त गरेको छ ।