नेपालमा डिजिटल भुक्तानी सशक्त गर्न भिसा र फोनपेबीच रणनीतिक साझेदारी

काठमाडौं । विश्वव्यापी डिजिटल भुक्तानी क्षेत्रका अग्रणी कम्पनी भिसाले नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको क्यूआर प्रणालीमार्फत भुक्तानी गर्न सक्षम बनाउन ‘स्क्यान टु पे’ सुविधा सुरु गर्न नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपेसँग सहकार्य गरेको छ । यस सहकार्यले भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि नेपालमा सीमापार भुक्तानीलाई सुरक्षित, सहज र सुविधाजनक बनाउने अपेक्षा छ ।
भिसा र फोनपेको यो ‘स्क्यान टु पे’ सुविधाले नेपालभरिका १५ लाखभन्दा बढी क्यूआर व्यवसायहरूमा भिसा कार्डबाट भुक्तानी गर्न सकिने हुँदा नेपाल आउने पर्यटकहरूको खरिद अनुभवलाई उत्कृष्ट बनाउनेछ । अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्नो मनपर्ने डिजिटल वालेट एपमा टोकनाइज्ड भिसा कार्ड जोडेका छन भने, उनीहरूले नेपालमा फोनपे क्यूआर स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।
भिसाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले नेपालका उपभोक्ता र पर्यटकहरूलाई भिसा कार्डहरू स्क्यान गर्न र जुनसुकै ठाउँमा डिजिटल रूपमा भुक्तानी गर्न सक्षम बनाउन फोनपेसँग साझेदारी गर्न पाउँदा खुसी व्यक्त गरे।
फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले यो साझेदारी फोनपेको क्यूआर योजनालाई नेपालमा रुचाइएको सीमापार भुक्तानी योजनाको रूपमा विस्तार गर्ने दिशामा एक महत्वपूर्ण कदम भएको बताए ।
विश्वभरका भिसा कार्डधारकहरूलाई क्यूआर भुक्तानी स्वीकृति जस्ता वैकल्पिक भुक्तानी मार्गहरूमा निर्बाध र सुरक्षित डिजिटल कारोबार अनुभव गर्ने उनको भनाइ छ । भिसाको विश्वव्यापी नेटवर्क र फोनपेको मजबूत क्यूआर पूर्वाधारले सीमापार लेनदेनलाई अझ पहुँचयोग्य र सुविधाजनक बनाउँदै नेपालमा डिजिटल भुक्तानीको प्रयोग बढाउन उनको दाबी छ ।
नेपाल र एसियामा सबैभन्दा लोकप्रिय भुक्तानी विधिहरू मध्ये एक क्यूआर कोडले नेपालका लाखौं व्यापारीक आउटलेटहरूमा नगदरहित भुक्तानीलाई सरल बनाउँदै कारोबारको समय घटाउनुका साथै सुरक्षित डिजिटल भुक्तानीलाई सशक्त गर्नेछ। साना व्यवसायहरूले पीओएस मेशिन नभएकै अवस्थामा कार्ड भुक्तानी स्वीकार गर्न सक्नेछन भने ठूला खुद्रा पसलहरूले ग्राहकहरूलाई छिटो र सजिलो भुक्तानी सेवा प्रदान गर्नुका साथै धोखाधडीबाट जोगिने सुविधा पनि थपिनेछ ।
भिसाले नेपालमा डिजिटल भुक्तानीको प्रयोग र स्वीकार्यता बढाउन बैंक र साझेदारहरूसँग निरन्तर काम गर्दै आएको छ । फोनपेमार्फत भिसा कार्ड प्रयोग गर्ने सुविधा नेपाललाई डिजिटल बनाउने भिसाको प्रतिबद्धताको अर्को ऐतिहासिक कदम हो । यसले नेपालमा डिजिटल भुक्तानीको भविष्यलाई नयाँ आयाम दिने अपेक्षा छ ।