साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्दै, नयाँ गभर्नर आजै नियुक्ति हाेला ? « Arthapath.com
१८ चैत्र २०८१, सोमबार

साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्दै, नयाँ गभर्नर आजै नियुक्ति हाेला ?



काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषय निकै चर्चामा छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल आउँदो चैत २४ गते सकिँदैछ ।

नयाँ गभर्नर नियुक्ति गर्न अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति बनीसकेको छ । गत चैत ११ गते सोमबार अर्थमन्त्री पौडेललको संयोजकत्वमा समिति बनाएको हो । समितिको सदस्यमा विजयनाथ भट्टराई र डा. विश्व पौडेल छन् । भट्टराई पूर्व गभर्नर हुन भने पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष हुन् ।

समितिले कम्तिमा एक डेपुटी गभर्नरसहित तीन जनाको नाम सिफारिस गर्नेछ । समितिले सिफारिस गरेका ३ मध्ये १ जनालाई मन्त्रिपरिषदको बैठकले गभर्नर नियुक्त गर्नेछ ।

सम्भवत आजै अर्थात् सोमबार (चैत १८ गते ) बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ गभर्नरको टुंगो लगाउने छ । सोमबार मन्त्रिपरिषदको नियमित बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सरकारका नियमित काम कारवाहीबारे छलफल हुने छ ।

उक्त बैठकले नयाँ गभर्नर नियुक्ति गर्ने सम्भावना रहेको स्रोतको भनाई छ । ‘सोमबार ५ बजे मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठकले सम्भवतः आजै नेपाल राष्ट्र बैंकको १८औं गभर्नरको पनि टुंगो लाग्ने सम्भावना छ’, स्रोतले भन्यो ।

नयाँ गभर्नरका लागि दर्जनौं नामहरु चर्चामा आएपनि हाल भने आँकक्षीको संख्या घटेको छ । हाल राष्ट्र बेंकका डेपुटी गभर्नर डा. नीलम ढुंगाना तिमिल्सना, प्रकाश कुमार श्रेष्ठ, प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अशोक शेरचन, नबिल बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना, डा. गुणाकर भट्ट, पूर्वसचिव केवल भण्डारी लगायतको नाम चर्चामा छ । यद्यपि, नयाँ गभर्नरको नियुक्ति प्रक्रियाको सुरुवाती चरणमा भने दुई दर्जन भन्दा बढी आँकक्षीहरु देखिएका थिए । तर, गभर्नर नियुक्ति मिति नजिकिँदै गर्दा आँकक्षीहरु पनि घट्दै गएका छन् ।

मूलतः नीलम, प्रकाश श्रेष्ठ र ज्ञानेन्द्र ढुंगानाको नाम सिफारिस हुन सक्ने प्रवल सम्भावना छ । हाल तीन तीन वटा नाम निकै शक्तिशाली आंकक्षीको रुपमा हेरिएको छ । सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले यी नामहरुबाटै एक जना गभर्नर बनाउने सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस्