नेपालमा डरलाग्दाे गरी फैलिँदै शङ्कास्पद कारोबारको जालो, यस्तो छ पछिल्लो अवस्था « Arthapath.com
१८ चैत्र २०८१, सोमबार

नेपालमा डरलाग्दाे गरी फैलिँदै शङ्कास्पद कारोबारको जालो, यस्तो छ पछिल्लो अवस्था




काठमाडौं । पछिल्ला वर्षहरुमा बैंक तथा वित्तिय संस्थामार्फत हुने शंकास्पद कारोबारको ग्राफ उकालो लागेको छ । नेपाल राष्ट्र बैंककले सार्वजनिक गरेको वित्तीय जानकारी इकाई सम्बन्धी वार्षिक प्रतिवेदन अनुसार शंकास्पद कारोबार तथा शंकास्पद वित्तिय गतिविधिहरु बढ्दै गएको देखिन्छ ।

आर्थिक वर्ष २०७४/७५ मा बैंक तथा वित्तिय संस्थाबाट ७ सय ८७ शंकास्पद कारोबार भएकोमा आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा यो संख्या एकदमै बढेर ७ हजार ३ सय ३८ पुगेको छ । बैंक तथा वित्तिय संस्थाले आर्थिक वर्ष २०७५/७६ मा १ हजार ३ सय ५१, आर्थिक वर्ष २०७६/७७ मा १ हजार ९०, आर्थिक वर्ष २०७७/७८ मा १ हजार ५ सय ३३, आर्थिक वर्ष २०७८/७९ मा २ हजार ७ सय ८०, आर्थिक वर्ष २०७९/८० मा ५ हजार ९ सय ३५ शंकास्पद कारोबार दर्ता गराएका छन् ।

यस्ता शंकास्पद कारोबार भएको शंका लागेमा सम्बन्धित संस्थाले बढीमा तिन दिन भित्रमा वित्तीय जानकारी इकाइमा उक्त विवरण दर्ता गर्नु पर्ने हुन्छ ।

२०७६/७७ मा गोमेल लागू भएदेखि शंकास्पद कारोबारको संख्या बढ्दो प्रवृत्तिमा रहेको छ । एफआइयु–नेपालले विगत पाँच वर्षमा शंकास्पद कारोबार तथा शंकास्पद वित्तिय गतिविधिहरुको संख्यामा उल्लेखनीय वृद्धि भएको जनाएको छ ।

यस्तो छ पछिल्लो आँकडा

यस अवधिमा वाणिज्य बैंकहरुबाट सबैभन्दा बढी शंकास्पद कारोबार तथा शंकास्पद वित्तिय गतिविधिहरु भएको तथ्यांकले देखाएको छ । वाणिज्य बैंकले आर्थिक वर्ष २०७६/७७ मा ९ सय २४, आर्थिक वर्ष २०७७/७८ मा १ हजार ४०३, आर्थिक वर्ष २०७८/७९ मा २ हजार ३८०, आर्थिक वर्ष २०७९/८० मा ५ हजार १८७ र आर्थिक वर्ष २०८०/८१ मा ६ हजार १८१ शंकास्पद कारोबार दर्ता गराएका छन् ।

यस्तै विकास बैंकले आर्थिक वर्ष २०७६/७७ मा ९३, आर्थिक वर्ष २०७७/७८ मा ६४, आर्थिक वर्ष २०७८/७९ मा ११९, आर्थिक वर्ष २०७९/८० मा २५७ र २०२३÷२४ मा ४९१ शंकास्पद कारोबार दर्ता गराएका छन् । यसैगरि वित्तिय संस्थाले क्रमशः १, १२, १९, ४४ र आर्थिक वर्ष २०८०/८१ मा २१७ यस्ता कारोबार दर्ता गराएका हुन् ।

बिमा कम्पनीहरुमा पनि यस्तो कारोबार क्रमशः बढेको देखिन्छ । कम्पनहिरुले आर्थिक वर्ष २०७६/७७ मा ४ वटा मात्र शंकास्पद कारोबार दर्ता गरेकोमा आर्थिक वर्ष २०८०/८१ मा ६२ ओटा दर्ता गराएका छन् ।

यता रेमिट्यान्स कम्पनीहरुमा भने यस्तो गतिविधि केहि घटेको छ । रेमिट्यान्स कम्पनहिरुले आर्थिक वर्ष २०७६/७७ मा ५२ वटा, आर्थिक वर्ष २०७७/७८ मा २९ वटा, आर्थिक वर्ष २०७८/७९ मा १८७ वटा, वर्ष २०७९/८० मा १४६ र आर्थिक वर्ष २०८०/८१ मा १२६ शंकास्पद कारोबार दर्ता गराएका छन् ।

गत आर्थिक वर्ष माइक्रो फाइनान्सले १२, धितोपत्र कम्पनीहरूले ५२ यस्ता गतिविधि तथा कारोबार दर्ता गराएका छन् ।

कुन महिना कति शंकास्पद कारोबार भयो ?

गत आर्थिक वर्षको वपहिलो ४ महिनामा शंकास्पद कारोबार तथा गतिविधि घटेको छ भने बाँकी छ महिनामा बढेको छ । अघिल्लो आर्थिक वर्षको साउमा ५०२, भदौमा ४७१, असोजमा ३९५ र कात्तिकमा ३२९ मा झरेको यस्तो कारोबार मंसि यता लगातार बढेको छ । मंसिरमा ५०४, पुसमा ५०६, माघमा ५७२, फागुनमा ५९०, चैतमा ६९७, बैशाखमा ७८८, जेठ ८४८ र असारमा १ हजार १३६ शंकास्पद कारोबार दर्ता भएका छन् ।

कुनै अस्पष्ट लक्ष्य भएको आर्थिक कारोबार, ठूलो धनराशिमा बारम्बार र अस्वाभाविक रूपमा हुने कारोबार, असामान्य रुपमा ठूलो निक्षेप वा निकासी, लेनदेनको लागि तेस्रो पक्षको प्राथमिक प्रयोग, र व्यक्तिगत सम्पर्कबाट बच्ने वा जानकारी प्रदान गर्न अस्वीकार गर्ने तथा शंकास्पद वा अपूर्ण कागजातहरूलाई शङ्काको घेरामा राखेर हेरिन्छ। यस्तै उच्च जोखिम भएका ग्राहकहरू वा राजनीतिक रूपमा पर्दाफास भएका ग्राहकहरूद्वारा गरिएको ठूलो मात्रामा लेनदेन वा असंगत लेनदेन, ग्राहकको प्रोफाइलले स्पष्ट नगरेको ग्राहकको कारोबार ढाँचामा अचानक परिवर्तन जस्ता गतिविधिहरु श्ंकास्पद कारोबारको दायरा भित्र पर्ने गर्छन ।

अधिकांश शङ्कास्पद कारोबार एवम् गतिविधि प्रतिवेदन सम्पति शुद्धिकरण, कर छलीसम्बन्धी, मौद्रिक एवम् बैंकिङ, विदेशी विनिमय, बीमा, सहकारीसम्बन्धी, ठगीसम्बन्धी चिठ्ठा जुवा, सट्टेबाजीलगायत सम्बद्ध कसूरसँग सम्बन्धित रहेको पाइएको छ।


प्रतिक्रिया दिनुहोस्