राष्ट्र बैंक नेतृत्वविहीन, दलीय स्वार्थले गभर्नर नियुक्तिमा जुटेन सहमति

काठमाडौं । महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै बैकिङ क्षेत्रको नियमक निकाय नेपाल राष्ट्र बैंक नेतृत्वविहीन बनेको छ । अधिकारीले शनिबारदेखि अवकाश पाएका हुन्।
नेपाल राष्ट्र बैंक ऐनको दफा २५ अनुसार सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा नियुक्ति गरि सार्वजनिक रुपमा प्रकाशन तथा प्रसारण गरिसक्नुपर्ने व्यवस्था छ । तर गभर्नरको पद रित्त हुँदासम्म सरकारले नयाँ गभर्नर नियुक्त गरेको छैन । तापि, आज रामनवमीको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।
दलीय भागबण्डा नमिल्दा ऐनअनुसार नयाँ गभर्नर नियुक्त हुन नसकेको जानकारहरू बताउँछन् । गभर्नर अवकाश भएपछि सरकारले वरिष्ठ डेपुटी गभर्नरलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने ऐनमा व्यवस्था छ । गभर्नर अवकाश भएपछि सरकारले वरिष्ठ डेपुटी गभर्नरलाई कार्यवाहकको जिम्मेवारी दिनु पर्ने ऐनको दफा २७ मा उल्लेख छ।
तर कार्यवाहक अर्थ मन्त्रालयले तोक्ने वा मन्त्रिपरिषद्ले नै तोक्ने भन्ने ऐनमा प्रष्ट प्रावधान छैन ।
गभर्नर बन्ने दौडधुप चलिरहँदा अहिलेसम्म छनोट समितिको बैठक बस्न सकेको छैन । गभर्नर समितिमा संयोजकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल छन् भने, सदस्यहरूमा विश्व पौडेल र पूर्व गभर्नर विजयनाथ भट्टराई छन् ।
यता, सरकारले गभर्नर नियुक्तिको मुखैमाअर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड संशोधन गरेको छ । २०७३ मा जारी गरेको उक्त मापदण्डलाई २७ फागुन २०८१ मा दोस्रो संशोधन गर्दै उमेर हद सम्बन्धी व्यवस्था खारेज गरेको हो ।