ट्रम्पको नीतिले पेट्रोलियमको भाउ चार वर्षकै सस्तो, फाटेको छैन अनिश्चयको बादल

काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका मुलुकहरूमाथि आयात शुल्क लगाउने निर्णय गरेपछि यसको सिधा प्रभाव पेट्रोलियम पदार्थको मूल्यमा परेको छ।
कच्चा तेलको मूल्य भारी गिरावट आएपछि चार वर्ष यताकै सस्तो भएको छ। ट्रम्पले आफू राष्ट्रपति चुनिँदा बित्तिकै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेख्य कमी ल्याउने वाचा गरेका थिए।
यसका लागि उनले अमेरिका स्वयं पनि तेलको उत्पादन बढाउने नीति अघि सारेका थिए। ‘ड्रिल बेबी ड्रिल’ भन्ने नारा अघि सारेका उनले तेलको उत्पादन बढाएर यसको मूल्य घटाउने बताएका थिए।
तर अहिले उनको व्यापार युद्धले नै पेट्रोलियम पदार्थको मूल्यलाई एक हदसम्म तल धकेलेको छ।
यो साता तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। पश्चिम टेक्सास मध्यवर्ती (डब्लुटीआई) कच्चा तेल क्षणिक रूपमा प्रतिब्यारेल ६० अमेरिकी डलर भन्दा पनि तल झरेको छ।
ट्रम्पको ट्यारिफ घोषणाहरूले विश्वव्यापी मन्दी र व्यापार गतिविधि घटाउने डर पैदा भएपछि तेलको मागलाई नकारात्मक असर पारेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
विश्लेषकहरूले बढ्दो व्यापार विवादका कारण औद्योगिक मन्दी निम्त्याउन सक्ने र तेलको खपतलाई थप दबाउन सक्ने बताएका छन्। उनीहरूले सम्भावित रूपमा पेट्रोलियम पदार्थको मूल्य अझ तल धकेलिन सक्ने चेतावनी दिएका छन्।
ट्रम्पद्वारा जीतको दाबी
अमेरिकी पेट्रोल फ्युचर्स सोमबार १.३७% घट्यो। अप्रिल २ मा ट्रम्पको ट्यारिफ घोषणा पछि पेट्रोलियमको मूल्यमा १३.३% गिरावट आइसकेको छ।
ट्रम्पले पेट्रोलको मूल्यमा आएको गिरावटलाई उपभोक्ताको जितका रूपमा स्वागत गर्दै यसले मुद्रास्फीतिलाई नियन्त्रण गर्ने दाबी गरेका छन्।
यद्यपि, विज्ञहरूले ट्रम्पको उक्त धारणाको विरोध गरिरहेका छन् । विश्लेषकको बुझाइमा अमेरिकाले आयातमा लगाएको भारी शुल्कका कारण विश्वव्यापी व्यापारमा बाधा पुर्याउने र सामानहरूको लागि लागत बढाउने छ ।
यदि सरकारले महङ्गी रोक्न अल्पकालीन राहतका कार्यक्रमहरू नल्याउने हो भने यस घटनाले उल्टो परिणाम दिन सक्ने उनीहरूले चेतावनी दिएका छन्।
मन्दीको डर र व्यापार युद्धको वृद्धिको बीचमा पेट्रोलियमको मूल्यमा आएको गिरावटले ऊर्जा बजारको भविष्यलाई पनि अनिश्चय तर्फ मोडिदिएको भनेर बहस भइरहेको छ।
तेलसँगै घट्यो ग्याँस मूल्य
तेलको मूल्यमा आएको कमि सँगै प्राकृतिक ग्यासको भाउ पनि ओरालो लाग्न थालेको छ। सोमबार प्राकृतिक ग्यासको मूल्य १.७२ प्रतिशत घटेर प्रतिमिलियन ब्रिटिश थर्मल एकाइको भाउ ३.७७ अमेरिकी डलरमा झरेको छ।
ट्रम्पको ‘ट्यारिफ रोलआउट’ र मन्दीको डरले प्रतिब्यारेल तेलको मूल्य डब्लुटीआईमा ६० डलरसम्म र ब्रेन्टको भाउ ६४ डलरसम्म गिरावट आएपछि प्राकृतिक ग्याँसको मूल्यमा पनि कमी देखिएको हो।
यसले समग्र ऊर्जा बजारमा फराकिलो गिरावटलाई प्रतिबिम्बित गरेको छ। कमोडिटी बजारमा मागको अपेक्षा कमजोर भएको र विश्व अर्थतन्त्र अझै अस्थिर बनिरहेको संकेत पनि गरेको छ।
रुसलाई युद्ध थेग्न कति मुस्किल?
पेट्रोलियम पदार्थको भाउ घट्न थालेपछि विश्वको दोस्रो सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता रूसलाई पनि तनाव भएको छ।
क्रेमलिनले सोमबार तेल बजारमा चर्किरहेको विश्वव्यापी “आर्थिक आँधी” बाट जोगाउने वाचा गरेको छ।
रुसको युराल्स कच्चा तेल पनि २०२३ यताकै न्यून स्तरमा पुगेको छ, जसको मूल्य प्रति ब्यारेल ५० डलर नजिक पुगेको छ।
तेलको भाउमा आउने यस प्रकारको कमीले रूसको बजेटलाई धक्का दिन्छ। युक्रेनमा आफ्नो महँगो सैन्य अभियान धान्नका लागि रुसलाई तेल बेचेर प्राप्त हुने आम्दानी असाध्यै महत्वपूर्ण छ। युक्रेनमा चलिरहेको युद्ध धेरै हदसम्म तेलको आम्दानीमै निर्भर छ।
चीनलाई थप ५० प्रतिशत करवृद्धि गर्ने धम्की
अमेरिकी राष्ट्रपति ट्रम्पले ‘ट्रुथ सोशल’ मार्फत चीनसँगको व्यापार तनाव बढाउने संकेत गरेका छन्। पैचिङले अमेरिकी आयात शुल्कको जवाफमा ३४ प्रतिशत ‘प्रतिकारात्मक शुल्क’ लगाएको छ।
यसपछि ट्रम्पले चीनलाई मङ्गलबार (आजै)सम्ममा शुल्क वृद्धि फिर्ता लिन वा बुधबारदेखि चिनियाँ सामानहरूमा थप ५० प्रतिशत ट्यारिफको सामना गर्न भनेका छन् ।
उनले अन्य राष्ट्रहरूसँग वार्ता खुला गर्दै चीनसँग भने सबै वार्ताहरू अन्त्य गर्ने वाचा गरेका छन्। पहिले नै कर वृद्धिले समस्याहरू ल्याउन थालिसकेपछि आएको यस्तो प्रतिक्रियाबाट विश्व बजार झन् बढी तरङ्गित बनेको छ।