ट्रम्पले लगाए चीनमाथि १०४% को कर, संसारभर बढ्यो तनाव « Arthapath.com
२७ चैत्र २०८१, बुधबार

ट्रम्पले लगाए चीनमाथि १०४% को कर, संसारभर बढ्यो तनाव



काठमाडौँ । अमेरिकाले चीनमाथि थप ५० प्रतिशत कर लगाउने घोषणा गरेको छ। यससँगै चीनमाथिको कुल भन्सार महशुल १०४ प्रतिशत पुगेको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्ति अनुसार चीनमाथि ३४ प्रतिशत कर लगाउने भनिएको थियो, जुन बढाएर ८४ प्रतिशत गरिएको छ।

अमेरिकामा निर्यात हुने चिनियाँ सामानहरूमा पहिले नै २० प्रतिशत भन्सार शुल्क लगाइएको छ। यसको अर्थ चिनियाँ निर्यातमा कुल भन्सार १०४ प्रतिशत पुगेको छ। यो शुल्क आजदेखि लागू भएको छ।

यसैबीच, चीनले ट्रम्पलाई ‘धम्की’ दिएको आरोप लगाउँदै आफ्नो अडान कडा बनाएको छ । साथै अमेरिकामाथि लगाइएको प्रतिशोधात्मक कर फिर्ता लिन अस्वीकार गरेको छ।

यससँगै, लगभग ६० देशहरू विरुद्ध डोनाल्ड ट्रम्पको कर अब लागू भएको छ।

तर अब उनी उनी औषधि कम्पनीहरूमा समेत आयात शुल्क लगाउने बताउन थालेका छन् । ताकि औषधिको उत्पादन अमेरिकामा सरोस्।

औषधि आपूर्ति शृङ्खलाको अधिकांश भाग चीन, भारत र युरोपमा छ।

यो केवल चीन र अमेरिकाको मात्र कुरा होइन। यी दुई विश्वका ठूला अर्थतन्त्र हुन् र यी दुई बीचको व्यापार युद्धले विश्व अर्थतन्त्रलाई थप जटिल बनाउँछ।

थप ५० प्रतिशत भन्सार करको घोषणा गर्दै ह्वाइट हाउसले एक विज्ञप्तिमा भनेको छ, ‘जनवादी गणतन्त्र चीनले संयुक्त राज्य अमेरिका विरुद्ध बदला लिने घोषणा गरेको तथ्यलाई ध्यानमा राख्दै यो कदम चालिएको हो।’

जब ट्रम्पले चिनियाँ सामानहरूमा तथाकथित पारस्परिक भन्सारको रूपमा ३४ प्रतिशत आयात भन्सारको घोषणा गरे, चीनले अमेरिकी सामानहरूमा पनि ३४ प्रतिशत भन्सारको घोषणा गरेर प्रतिक्रिया दियो।

१. रिपब्लिकन डिनरमा ट्रम्पले के भने ?

ह्वाइट हाउसका अनुसार हालसम्म संसारका ७० देशहरूले भन्सार सम्बन्धी वार्ता गर्न अमेरिकालाई सम्पर्क गरेका छन्।

ट्रम्पका आर्थिक सल्लाहकार केभिन ह्यासेटले वार्ता सकारात्मक रहेको र एजेन्डामा ‘धेरै छुटहरू’ रहेको बताए। कुनै पनि सम्झौताको अन्तिम निर्णय ट्रम्पले लिनेछन्।

मंगलबार वासिङ्टन डीसीमा रिपब्लिकन पार्टीको रात्रिभोजमा बोल्दै ट्रम्पले करलाई ‘महान’ कदम भनेका थिए ।

उनले कर लगाएर अमेरिकी कोषले एकै दिनमा २ अर्ब डलर प्राप्त गरेको दाबी गरे।

उनले भने, ‘मानिस र देशहरूले शुल्क तिरिरहेका छन् र हामी सम्झौताको बारेमा अन्य देशहरूसँग वार्ता गरिरहेका छौं। वार्तामा जापानले पहल गरेको छ।’

आफूले लगाएका शुल्कहरू ‘केही हदसम्म विस्फोटक’ थिए भन्नेमा ट्रम्प स्वयंले पनि स्वीकार गरेका छन् ।

‘कर लगाइएको छ, र पहिले कहिल्यै नभएको जस्तो पैसाको वर्षा भइरहेको छ,’ ट्रम्पले कोइला खानीका कामदारहरू, मन्त्रिपरिषद्का सदस्यहरू र व्यापारिक नेताहरूलाईं दर्शक दीर्घामा राखेर भने।

२. नयाँ शुल्क कहिलेदेखि लागू हुनेछ ?

ह्वाइट हाउसले अमेरिकी स्थानीय समय अनुसार मंगलबार मध्यरातदेखि चीनमाथि १०४ प्रतिशत कर लगाइने बताएको छ।

यसका साथै, ट्रम्प प्रशासनले अमेरिकामा ‘सबैभन्दा बढी कर लगाउने सबैभन्दा खराब देश’ भनेर वर्णन गरेका लगभग ६० देशहरूमा मध्यरातदेखि कर लगाइनेछ।

यसैबीच, अमेरिकी सरकारले मे महिनादेखि चीनबाट आउने सस्तो सामानका साना पार्सलहरूमा उच्च शुल्क लगाउने घोषणा गरेको छ। यसले शीन र टेमु जस्ता ठूला चिनियाँ कम्पनीहरूलाई ठूलो घाटा पुर्‍याउन सक्छ।

गत हप्ता ट्रम्पले अमेरिकाका लगभग सबै व्यापारिक साझेदारहरूमा १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए।

उक्त अमेरिकी नीतिका कारण संसारभर झाँगिएको अनिश्चितता र अस्थिरताका कारण विश्वव्यापी शेयर बजारका लगानीकर्ताहरूले ट्रिलियन डलरको घाटा बेहोरेका छन्।

अब विश्व ट्रम्पको नयाँ कर लागू भएपछि के हुन्छ भनेर पर्खिरहेको छ।

३. विश्व नेताहरूले के भने ?

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले ट्रम्पलाई विश्वव्यापी शुल्क लगाउने आफ्नो निर्णय ‘फिर्ता’ लिन अपील गरेका छन्।

‘युरोपले कहिल्यै अराजकता चाहेन,’ इजिप्टको भ्रमणमा रहेका म्याक्रोंले एक पत्रकारको प्रश्नको जवाफमा भने, ‘युरोपेली आयोगले ईयू सदस्य देशहरूको प्रतिक्रियामा काम गरिरहेको छ।’

केही रिपोर्टहरूले युरोपले अमेरिकी सामानहरूमा २५ प्रतिशतसम्मको भन्सार लगाउने विचार गरिरहेको बताएका छन्। ट्रम्पले युरोपेली संघबाट आयात हुने सामानमा २० प्रतिशत कर लगाएका छन्।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले भनेका छन्, ‘यो व्यापार युद्धमा कोही पनि विजेता हुनेछैन र यसको प्रभाव सबैभन्दा गरिब देशहरूमा सबैभन्दा बढी पर्नेछ।’

पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘व्यापार युद्ध धेरै नकारात्मक छ। यसमा कोही पनि जित्ने छैन, सबैले हार बेहोर्नेछन्।’

४. सेयर बजारमा कस्तो प्रतिक्रिया रह्यो ?

सोमबार ठूलो गिरावट आएपछि मंगलबार विश्वभरका सेयर बजारमा सुधारको संकेत देखियो । अमेरिकी सेयर बजार बढ्दो रूपमा खुल्यो, तर कारोबार बन्दहुँदा बजारको प्रबृत्ति नकारात्मक हालतमा बदलिइसकेको थियो।

मंगलबार अमेरिकी सेयर बजार ‘एस–एण्ड–पी ५००’ सूचकांक १.५७ प्रतिशत, डाउ जोन्स ०.८४ प्रतिशत र नास्ड्याक २.१५ प्रतिशत ले घटेर बन्द भयो।

टेस्लाको सेयर मूल्य ५.४५ प्रतिशतले घट्यो भने एप्पलको सेयर मूल्य ५.२२ प्रतिशतले घट्यो।

अर्को अग्रणी अमेरिकी प्रविधि कम्पनी एनभिडियाको सेयर २.०१ प्रतिशतले घट्यो र अमेजनको सेयर २.८८ प्रतिशतले घटेर बन्द भयो।

अमेरिकाका सात ठूला कम्पनीहरू, जसलाई ‘म्याग्निफिसेन्ट सेभेन’ भनिन्छ, त्यसमा एनभिडिया, अल्फाबेट, अमेजन, एप्पल, माइक्रोसफ्ट, मेटा र टेस्ला पर्छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार, अमेरिकी सेयर बजार ‘एस–एण्ड–पी ५००’ सूचकांकको कुल बजार मूल्य पछिल्ला केही व्यापारिक सत्रहरूमा ५ ट्रिलियन (५० खर्ब) डलरले घटेको छ । यो घाटामा यी सात कम्पनीहरूको ठूलो हिस्सा छ।

पाँच ट्रिलियन डलरको यो रकम भारतको कुल अर्थतन्त्रको आकारको डेढ गुणाभन्दा बढी हो भने नेपालको अर्थतन्त्रभन्दा त १३० गुणाभन्दा पनि ठूलो हो ।

ट्रम्पको पछिल्लो घोषणापछि बुधबार अष्ट्रेलियाली शेयर बजार एएसएक्स–२०० सूचकांक २.१ प्रतिशतको गिरावटका साथ खुल्यो।

जबकि जापानको शेयर बजार निक्केई–२२५ सूचकांक ३ प्रतिशतको गिरावटका साथ खुल्यो। एक दिन अघि मात्र, यसले ६ प्रतिशतको ठूलो उछाल देखेको थियो।

५. कुन देशहरूले बदला लिने निर्णय गरेका छन् ?

ट्रम्प सत्तामा आएदेखि नै अमेरिकी प्रशासनको द्वन्द्व सबैभन्दा बढी समाचारमा रहेका देशहरूमध्ये क्यानडा पनि एक हो।

क्यानडाले बुधबारदेखि अमेरिकी कारहरूको आयातमा २५ प्रतिशत कर लगाउने बताएको छ। यो महिनाको सुरुमा घोषणा गरिएको थियो।

क्यानडाको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा अमेरिकाले क्यानडाको अटो क्षेत्रमा लगाइएको कर नहटाएसम्म यो कर लागू रहने उल्लेख छ।

भन्सार शुल्कबाट घरेलु कम्पनीहरूलाई भएको क्षतिको सामना गर्न, दक्षिण कोरियाले कार निर्माताहरूलाई कोष बढाउने, कर कटौती गर्ने र घरेलु बजारमा माग बढाउन अनुदान प्रदान गर्ने जस्ता धेरै उपायहरूको घोषणा गरेको छ।

दक्षिण कोरियाले कुनै पनि प्रतिशोधात्मक कारबाही गर्ने धम्की दिएन । तर आफ्नो घरेलु उद्योगहरूलाई बचाउन २ अर्ब डलरको प्याकेज घोषणा गर्‍यो।

६. व्यापार युद्धको बारेमा विज्ञहरू के भन्छन् ?

अमेरिका–चीन सम्बन्धमा करको प्रभावको बारेमा एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटका उपाध्यक्ष वेन्डी कटलरले ‘अवस्था राम्रो हुनुभन्दा पहिले झन् खराब हुँदै जाने’ बताएकी छिन् ।

अमेरिकाले चीनलाई ब्यापार वार्तामा सहमत गराउन सक्षम हुनेप्रति कटलर अहिले पनि शंका गरिरहेकी छिन् । यदि चीन तयार भए पनि यो अमेरिकीहरूका लागि धेरै ‘गाह्रो’ काम हुने उनी बताउँछिन्।

चीनमा उत्पादन हुने सानो अमेरिकी कम्पनीकी संस्थापक सारा वेल्सले करको ‘स्थायित्व’ माथि प्रश्न उठाइन् र यसले गर्दा भएको मूल्य वृद्धिबाट ‘स्तब्ध’ भएको बताइन्।

अमेरिकी सेयर बजारको वित्तीय विश्लेषक संस्था बैंकरेट्ससँग सम्बन्धित स्टीफन केट्सले भने, ‘चीनमाथिको थप करले बजार सुधार हुने आशालाई चकनाचुर पारेको छ।’

बीबीसी हिन्दीबाट ।


प्रतिक्रिया दिनुहोस्