तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन यसै साता, ३०० भन्दा बढी प्रतिनिधी भेला हुँदै

काठमाडौं । तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन काठमाडौंमा हुने भएको छ । यही चैत्र २९ देखि ३१ गतेसम्म राजधानीमा तीन दिने सम्मेलन हुन लागेको हो ।
सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल (सोटेन), भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको संयुक्त आयोजनामा हुन लागेको उक्त सम्मेलनमा ३ सयभन्दा बढी प्रतिनिधिहरुको सहभागीता हुने आयोजकले बताएको छ ।
‘टुवाडर्स सेफ सस्टेनेबल इफिसियन्ट एण्ड रेजिलियन्ट मोबीलिटी’ भन्ने मुख्य नारासहित सम्मेलनको आयोजना गर्न लागिएको सोटेनले बताएको छ ।
सम्मेलनको बारेमा जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा सोटेनका अध्यक्ष डा. हरेराम श्रेष्ठले नेपालको यातायात क्षेत्रमा रहेको विद्यमान समस्या र समाधान गर्न यस सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।
होटल याक एण्ड यतिमा तीन दिनसम्म चल्ने सम्मेलनमा यातायात क्षेत्रका विभिन्न विषयमा १६ वटा सत्र सञ्चालन हुनेछन् । १२ देशका प्रतिनिधिहरुको सहभागीता हुने सम्मेलनमा २२ जना अन्तर्राष्ट्रियसहित ४५ जना वक्ताहरुको सहभागीतमा छलफल हुनेछ ।
सम्मेलनमा अन्तर्राष्ट्रिय अभ्यास र नेपालको यातायात क्षेत्रमा सुधार गर्नुपर्ने विषयमा छलफल हुने सोटेनका महासचिव हेमन्त तिवारीले जानकारी दिए ।
सोटनेले हरेक दुई बर्षमा अन्तर्राष्ट्रिय सम्मेलन र हरेक बर्ष राष्ट्रिय सम्मेलन गर्दै आइरहेको छ । सोटेनका सचिव श्रवणकुमार थापाले यातायात क्षेत्रलाई दिगो र भरपर्दो बनाउनका लागि सरोकारवाला निकायबीच बलियो समन्वयको खाँचो रहेको बताए ।
यातायात पूर्वाधारहरुको डिजाइन, निर्माण, सञ्चालन र मर्मतसम्भारको विश्वव्यापी उत्कृष्ट अभ्यासहरुलाई देशभित्र प्रबद्र्धन गर्ने कार्यमा सोटेनले केन्द्रिय भूमिका निर्वाह गर्दै आइरहेको छ ।