आईपीओ रोकिँदा जलविद्युत आयोजना निर्माणमा वित्तीय अवरोध सिर्जना भयो : चेम्बर्स अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले निर्माणाधिन जलविद्युत आयोजनामा आईपीओ जारी हुन नसक्दा आयोजना निर्माणमा वित्तीय अवरोध सिर्जना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
धितोपत्र बोर्डले झण्डै ५० जलविद्युत कम्पनीको प्राथमिक सेयर निष्कासन आईपीओ रोकेर राखिदिएको स्मरण गराउँदै उनले सरकारको ध्यानाकर्षण गराएका हुन् ।
नेपाल उज्यालो युगमा प्रवेश गरिरहँदा विद्युत उत्पादनको क्षेत्रमा अझै पनि नीतिगत चुनौतीहरु देखा परेको समेत उल्लेख गरे । ऊर्जा विधयेकमा उल्लेखित प्रावधान, अदालतबाट आएका फैसला र बन मन्त्रालयबाट आएका निर्देशिकाले जलविद्युत आयोजनाहरुको निर्माणमा गम्भिर चुनौती खडा गरेको उनले बताए ।
संरक्षित बन क्षेत्रमा विद्युत विकास विभाग मार्फत अनुमति लिएर डेभलपरहरुले लगानी गरिसकेको अवस्थामा पछिल्लो समय अदालतको फैसलाको आधारमा सम्वन्धित निकायबाट बन क्षेत्रमा भएको अवरोधले प्रसारण लाईन र आयोजना निर्माण अन्यौलमा परेको छ भने लगानीकर्ताको करोडौं रुपैयाँ थप जोखिममा परेको भन्दै यसतर्फ सरकारको ध्याकर्षण समेत गराए।
जटिल प्रावधानलाई संसदबाट कानून बनाएर संशोधन गर्नुपर्ने समेत उनको सुझाव थियो । ऊर्जा विधेयकमा उल्लेखित केही प्रावधानका कारण जलविद्युत आयोजना बन्नै नसक्ने अवस्था सिर्जना भएको उनले बताए।