विकास बैंकको नाफा २४ प्रतिशत बढ्यो : गरिमाले कमायो सर्वाधिक, सांग्रिलाको उच्च वृद्धि

काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकहरुको नाफा २४ प्रतिशत वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा आठ विकास बैंकहरुले ४ अर्ब १८ करोड ७० लाख रुपैयाँ नाफा कमाएका छन्, यो गत आवको तुलनामा भने २४.०१ प्रतिशत धेरै हो । गत आवको सो अवधिमा भने बैंकहरुले ३ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ नाफा कमाए थिए ।
नाफामा गरिमा विकास बैंकले उछिनेको छ । आठ महिनामा गरिमाले ८३ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने २८ प्रतिशत धेरै हो ।
दोस्रो धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । बैंकले ७८ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको हो । बैंकले नाफा १९.३७ प्रतिशत बढाएको देखिन्छ ।
तेस्रो सूचीमा रहेको शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५६ करोड ४८ लाख रुपैयाँ नाफा कमाएको छ ।
नाफा वृद्धिदरका आधारमा भने सांग्रिला डेभलपमेन्ट बैंक पहिलो सूचीमा छ । बैंकको नाफा ८९.१६ प्रतिशत वृद्धि भएको छ । समिक्षा अवधिमा बैंकले ४० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । जबकि, गत आवको फागुन मसान्तसम्मा २१ करोड ४९ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो ।
यस्तै, ज्योति विकास बैंकको नाफा ३९.७४ प्रतिशत, कामना सेवाको ३१.३३ प्रतिशत, लुम्बिनी विकासको १०.८७ प्रतिशत र महालक्ष्मी विकास बैंकको ३.४५ प्रतिशत वृद्धि भएको छ।
समिक्षा अवधिमा यी बैंकहरुले क्रमशः ३६ करोड १ लाख, ५० करोड ११ लाख, ३१ करोड १ लाख र ४२ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् ।