३८ प्रतिशत बढ्यो सेयर कर्जा, किन आक्रामक छन् ठुला लगानीकर्ता ?

काठमाडौं । सेयर धितो कर्जा (मार्जिन प्रकृतिको कर्जा) प्रवाह उल्लेख्य वृद्धि भएको छ । बैंक तथा वित्तीय संस्थाहरु सेयर कर्जा विस्तारमा निकै आक्रामक देखिएका छन् ।
एक वर्षको अवधिमा सेयर धितो कर्जा ३८ प्रतिशत वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत फागुन मसान्तसम्म आइपुग्दा बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब १८ अर्ब ५० करोड ११ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने ३८.२७ प्रतिशत धेरै हो । पछिल्लो एक वर्षमा थप ३२ अर्ब ७९ करोड ९८ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका हुन् । चालु आवको आठ महिनामा मात्रै २८ अर्ब ४० करोड ७८ लाख रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकको आँकडा छ । अन्य क्षेत्रमा प्रवाह हुने कर्जा अपेक्षित रुपमा बढ्न सकेको छैन् । तर, सेयर धितो कर्जाको माग बढ्दो नै देखिन्छ ।
हाल बैंकिङ्ग प्रणालीमा पर्याप्त लगानीयोग्य रकम छ । पछिल्लो समय बैङ्कहरूले पनि लगातार ब्याजदर घटाइरहेका छन् । कर्जाको ब्याजदर पनि एकल अंकमै झरिसेको छ । घट्दो ब्याजदरका कारण पनि सेयर धितो कर्जा बढेको बढ्यै छ ।
अर्को तर्फ केन्द्रीय बैंकको नीतिगत सहजीकरणले पनि लगानीकर्ताहरुलाई बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर सेयर बजारमा लगानी गर्न थप प्रोत्साहन भएको बताइन्छ । हाल केन्द्रिय बैंकले संस्थागत लगानीकर्ताहरुको हकमा लगाएको २० करोडको सीमा हटाइदिएको छ । यस्तो नीतिगत लचकताले पनि ठुला लगानीकर्ताहरु उत्साहित देखिन्छन् ।
विशेषगरि ठुला लगानीकर्ताहरु कर्जा लिन थप प्रोत्साहित देखिन्छ । राष्ट्र बैंकका अनुसार १ करोड भन्दा माथिल्लो सीमाको सेयर कर्जा प्रवाह निकै वृद्धि भएको छ। समिक्षा अवधिमा यस्तो सीमाको कर्जा ५०.७५ प्रतिशत वृद्धि भई ७९ अर्ब १२ करोड ९४ लाख रुपैयाँ कायम भएको छ । गत असार मसान्तसम्ममा भने यस्तो सीमाको कर्जा कुल ५५ अर्ब ९३ करोड २ं लाख रुपैयाँ रहेको थियो । आठ महिनामा मात्रै २३ अर्ब १९ करोड ९२ लाख रुपैयाँ सेयर कर्जा प्रवाह भएको छ ।
राष्ट्र बैंकका अनुसार ५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा प्रवाह पनि २१.६९ प्रतिशत वृद्धि भएको छ । फागुन मसान्तसम्म आइपुग्दा यस्तो सीमाको कर्जा १४ अर्ब ७७ करोड ८२ लाख रुपैयाँ पुगेको छ । चालु आवको आठ महिनामा मात्रै बैंक तथा वित्तीय संस्थाले यस्तो सीमामा २ अर्ब ३५ करोड ५ लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
यस्तै, २५ लाखदेखि ५० लाख सीमाको सेयर कर्जा प्रवाह पनि १९.२५ प्रतिशत वृद्धि भई १६ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ पुगेको छ । आठ महिनामा मात्रै यस्तो सीमाको कर्जा २ अर्ब २ करोड ६१ लाख रुपैयाँ प्रवाह भएको देखिन्छ ।
यता, २५ लाख सीमाको सेयर धितो कर्जा प्रवाह पनि दोहोरो अंकमै वृद्धि भएको छ । गत आवको तुलनामा यस्तो कर्जा १३.७६ प्रतिशत वृद्धि भई ८ अर्ब १४ करोड ४३ लाख रुपैयाँ कायम भएको छ । यस्तो सीमामा चालु आवको आठ महिनामा मात्रै ८३ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।