नाफामा आइसीएफसी र मञ्जुश्रीबीच कडा टक्कर: ७ वटा कम्पनी घाटामा, कसको ‘नाफा–घाटा’ कति ?

काठमाडौं । अधिकांश फाइनान्स कम्पनीहरु नोक्सानीमा गएका छन् । हाल संचालनमा रहेका १५ फाइनान्स औसतमा ७० करोड ८६ लाख नोक्सानी व्यहोरेका छन् ।
नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।
गत आवको आठ महिनामा ती कम्पनीहरुको नाफा २२ करोड २८ लाख रुपैयाँ ऋणात्मक थियो । तर, गत वर्ष नाफामा रहेका अधिकांश कम्पनीहरुमा घाटामा देखिएका छन् ।
हाल ८ वटा कम्पनी मात्रै नाफामा छन्, भने ७ वटा कम्पनी घाटा देखिएका छन् । राष्ट्र बैंकका अनुसार समिक्षा अवधिका सबैभन्दा धेरै नाफा कमाउनेमा आइसीएफसी फाइनान्स रहेको छ । कम्पनीले आठ महिनामा १४ करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा भने ६८.२९ प्रतिशत बढी हो ।
सर्वाधिक नाफा कमाउनेको दोस्रो सूचीमा मञ्जुश्री फाइनान्स छ । कम्पनीले १३ करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ ।
यस्तै, प्रोग्रेसिभ फाइनान्सले ८ करोड ९२ लाख, श्री इन्भेष्टमेन्टले २ करोड ९६ लाख, मल्टीपर्पसले २ करोड ४० लाख, गुडविल फाइनान्सले २ करोड १५ लाख, सेन्ट्रल फाइनान्सले १ करोड ३२ लाख र नेपाल फाइनान्सले १ करोड ३० लाख रुपैयाँ नाफा कमाएका छन् ।
पोखरासहित ७ फाइनान्स नोक्सानीमा
समिक्षा अवधिमा पोखरा फाइनान्ससहित ७ वटा फाइनान्स कम्पनी भने नोक्सानीमा छन् ।
पोखारा फाइनान्स गत वर्ष २ करोड ७६ लाख रुपैयाँ नाफामा रहेको थियो । तर, चालु आवको फागुन मसान्तसम्म आइपुग्दा ७५ करोड ८४ लाख घाटा व्यहोरेको छ ।
यस्तै, जानकी फाइनान्स पनि १३ करोड ६९ लाख रुपैयाँ, रिलायन्स फाइनान्स ११ करोड ४ लाख, समृद्धि फाइनान्स ८ करोड २७ लाख, गोखार्ज फाइनान्स ४ करोड ९३ लाख, बेष्ट फाइनान्स ३ करोड ७७ लाख, गुहेश्वरी मर्चेन्ट २३ लाख रुपैयाँ घाटामा छ ।
गत आवको फागुन मसान्तमा गोर्खाज फाइनान्सको नाफा १३ करोड ५७ लाख, बेष्ट फाइनान्स ६९ लाख, जानकी १ करोड ४८ लाख रुपैयाँ धनात्मक थियो ।