नयाँ वर्षमा नयाँ ब्याजदर: एभरेष्टले मात्रै बढायो, तीन वटाले घटाए, कुनमा पैसा राख्दा कति पाइन्छ ब्याज ? « Arthapath.com
३१ चैत्र २०८१, आईतवार

नयाँ वर्षमा नयाँ ब्याजदर: एभरेष्टले मात्रै बढायो, तीन वटाले घटाए, कुनमा पैसा राख्दा कति पाइन्छ ब्याज ?



काठमाडौं । अधिकांश बैंकहरुले ब्याजदर यथावत राखेका छन् । भोलि अर्थात् बैंशााख १ गतेदेखि लागू हुने गरि अधिकांश बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर यथावत राखेका हुन् ।

आइतबार २० वटै वाणिज्य बैंकहरुले नयाँ वर्षदेखि लागू हुने ब्याजदर प्रकाशन गरेका हुन् । प्रकाशित ब्याजदर अनुसार तीन वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेप तर्फको अधिकतम ब्याजदर भने घटाएका छन् । १६ वटा बैंकले भने चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

बैशाख महिनाका लागि नेपाल बैंक, सानिमा र कुमारी बैंकले ब्याजदर घटाएका हुन् । नेपाल बैंकले व्यक्तिगत तर्फ ५.१५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याजर तोकेको छ । चैतमा बैंकले व्यक्तिगत तर्फ ५.५ प्रतिशत र संस्थागत तर्फ ५.१५ प्रतिशत ब्याज दिएको थियो ।

यस्तै, कुमारी बैंकले चैत महिनामा व्यक्तिगत तर्फ ६.०१ प्रतिशत र संस्थागत तर्फ ५.०१ प्रतिशत र सानिमा व्यक्तिगत तर्फ ६.०५ प्रतिशत र संस्थागत तर्फ ४.३ प्रतिशत ब्याज दिएका थिए । तर, बैशाखका लागि भने कुमारी व्यक्तिगत तर्फ ५.९२ प्रतिशत र संस्थागत ४.९२ प्रतिशत र सानिमाले व्यक्तिगत तर्फ ५.९५ प्रतिशत र संस्थागत तर्फ ४.२ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

बैशाख महिनाका लागि एभरेष्ट बैंकले मात्रै व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर वृद्धि गरेको छ । सो महिनाका लागि यस्तो ब्याजदर ६.६१ तोकेको छ । जबकि, चैतमा भने ६ प्रतिशत मात्रै दिएको थियो । चैतमा संस्थागत तर्फ ५ प्रतिशत ब्याज दिइएको एभरेष्टले बैशाखमा भने ५.६१ प्रतिशत ब्याज दिने भएको हो ।

यी बाहेकका अन्य बैंकहरुले अघिल्लै महिनाको ब्याजदरलाई निरन्तरता दिएका छन् । बैशाख महिनाका लागि एनएमबि बैंक, एनआइसी एशिया क्रमशः व्यक्तिगत तर्फ ६.६ प्रतिशत र संस्थागत तर्फ ५.६ प्रतिशत ब्याज दिने भएका छन् ।

यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत तर्फ ६.५ प्रतिशत र संस्थागत तर्फ ५.१ प्रतिशत, प्राइम कमर्सियलले व्यक्तिगत तर्फ ६.२५ प्रतिशत र संस्थागत तर्फ ३.५ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगतमा ६.२५ प्रतिशत र संस्थागतमा ३.२५ प्रतिशत, प्रभूले व्यक्तिगतमा ६.१ प्रतिशत र संस्थागतमा ५ प्रतिशत ब्याजदर तोकेका छन् ।

यता, ग्लोबल आइएमई, माछापुच्छ्रे, सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ६–६ प्रतिशत ब्याजदर दिने भएका छन् । तर, संस्थागतमा भने क्रमशः ४.४, ४, ५ र ३ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।

यस्तै, बैशाख महिनाका लागि हिमालयन र नेपाल एसबिआईले पनि व्यक्तिगत मुद्दति निक्षेपमा ५.५–५.५ प्रतिशत ब्याज दिने भएका हुन् । तर, संस्थागतमा भने क्रमशः ४.५ प्रतिशत र ४ प्रतिशत तोकेका छन् ।

त्यसैगरि लक्ष्मी सनराइज र नबिलले पनि व्यक्तिगतमा बराबरी अर्थात् ५.७५ प्रतिशत ब्याज निर्धारण गरेका छन् । यी दुई बैंकले संस्थागत तर्फ भने क्रमशः ४.५ प्रतिशत र ४.०५ प्रतिशत ब्याजदर दिने भएका छन् ।

बैशाख महिनामा पनि प्रभूले व्यक्तिगत मुद्दति निक्षेपमा ६.१ प्रतिशत र संस्थागतमा ५ प्रतिशत, सिटिजन्सले व्यक्तिगतमा ५.६५ प्रतिशत र संस्थागतमा ४ प्रतिशत, कृषि विकासले व्यक्तिगतमा ५.५१ प्रतिशत र संस्थागतमा ३.२५ प्रतिशत ब्याजदर दिने भएका हुन् ।


प्रतिक्रिया दिनुहोस्