फर्केर हेर्दा २०८१ : सेयर बजारमा उतारचढावदेखि कारोबारमा ऐतिहासिक रेकर्डसम्म

काठमाडौं । नेपाली सेयर बजारका लागि वर्ष २०८१ स्मरणयोग्य रह्यो । यो वर्ष सेयर बजारले विभिन्न उतारचढावको सामना गर्नुपर्यो । राजनीतिक अस्थिरता, प्राकृतिक प्रकोप, अन्तराष्ट्रिय बजारलाइ तत्वले सेयर बजारलाई वर्षभरी नै प्रभाव पारिरह्यो ।
यस वर्षको पहिलो कारोबार दिन घटेर बन्द भएको बजार मापक नेप्से परिसूचक अन्तिम कारोबार दिन पनि घट्यो । वैशाख २ गते २.३५ अंकले घटेर नेप्से २०२३ बिन्दुमा रहेको नेप्से वर्षको अन्तिम दिन ८.६२ अंकले घटेर २६६२ बिन्दुमा पुग्दै वर्ष २०८१ लाई बिदाइ गर्यो ।
कुल ३ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबारसहित वर्षलाई स्वागत गरेर ६ अर्ब २८ करोड कारोबारसहित बजार बन्द भयो । २०८१ वैशाख २ गते ३२ खर्ब ८ अर्ब २७ करोड बजार पुँजीकरण वर्षको अन्तिम दिन ४४ खर्ब २५ अर्ब ४० करोड कायम भयो ।
एक वर्षको अवधिमा सेयर बजारले अनेक उतारचढावसँग जुधिरह्यो । तर पनि बजार उँभो नै लाग्यो ।
२०८१ फागुन मसान्तमा नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७० पुगेको छ । लामो समयसम्म धितोपत्र बोर्ड नेतृत्वविहीन हुँदा साधारण सेयर (आईपीओ) निष्काशन रोकिएपछि सूचीकृत कम्पनीको संख्यामा एक वर्षको अवधिमा खासै परिवर्तन हुन सकेको छैन । फलस्वरूप साधारण सेयर निष्काशनले तिब्रता भने पाउन सकेन ।
एक वर्षको अवधिमा नेप्सेमा ८ अर्ब ८० करोड कित्ता सेयर सूचीकृत भयो । जसमा सर्वाधिक हिस्सा बोनस सेयरको रह्यो । बाँकी आईपीओ, एफपीओ, म्युचुअल फण्ड लगायत अन्य सेयर सूचीकृत भए ।
बजारमैत्री अर्थमन्त्रीको आगमन
यस वर्ष सेयर बजारलाई केही कुराले प्रभाव पार्यो भने त्यो राजनीतिक उतारचढाव नै हो । २०८१ लागे यता नै राजनीतिक अस्थिरता बढ्यो । २०८१ असार १८ गते ठूला राजनीतिक दलहरू नेपाली कांग्रेस र एमाले नेतृत्वको नयाँ सरकार गठन भयो । सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरे ।
नयाँ सरकार गठनसँगै सेयर बजार पनि बढ्न थाल्यो । राजनीतिक अन्यौल, कसिलो मौद्रिक नीति र नेतृत्वप्रतिको अविश्वासले उथलपुथल बनेको सेयर बजार दुई ठूला राजनीतिक दलको नेतृत्वमा सरकार बनेसँगै लयमा फर्कियो । बजारमैत्री मानिएका विष्णुप्रास्द पौडेल अर्थमन्त्री बने। ’बुल’ रूपमा चिनिएका पौडेल अर्थमन्त्री भएसँगै बजार तिब्र गतिमा उकालो लाग्यो ।
नयाँ सरकार गठन भएको करिब डेढ महिनामा नै सेयर बजार झन्डै ९ सय अंकले बढ्यो । सेयर बजारको रफ्तार यसरी बढ्यो कि नयाँ रेकर्ड राख्नेमा कुनै शंका नै थिएन । २०८१ साउन ३१ गते नेप्से ३००० बिन्दुसम्म पुग्यो भने ‘इन्ट्रा डे’ कारोबारमा ३ हजार ३६ बिन्दुसम्म पुग्यो । जुन अघिल्लो रेकर्ड नजिक हो । यसअघि २०७८ भदौ २ गते ३१९९ बिन्दुमा बजार बन्द भएर अलटाइम हाइ रेकर्ड बनाएको थियो । करिब ३ वर्षपछि सेयर बजारले गति लिएसँगै लगानीकर्ता पनि उत्साहित देखिए । बजारले पुनः नयाँ रेकर्ड बनाउनेमा विश्वस्त देखिन्थे तर अवस्था सोचेअनुरुप हुने सकेन । ३००० बिन्दु छोएर बजार निरन्तर ओरालो लाग्यो र २४००–२६०० को साइडवेजमा चलिरह्यो ।
कारोबारमा ऐतिहासिक रेकर्ड
नेप्से परिसूचकले नयाँ रेकर्ड नबनाए पनि कारोबार रकमले भने ऐतिहासिक रेकर्ड चुम्यो । २०८१ श्रावण ३१ गते नै कारोबार रकममा ऐतिहासिक रेकर्ड बन्यो । सो दिन २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भयो । जुन नेपाली इतिहासमा नै उच्च थियो ।
त्यसयता भने कारोबार रकम पनि सुस्तायो । यो बीचमा कारोबार रकम घटेर ३ अर्ब २ करोडसम्ममा झर्यो । हाल कारोबार रकम खासै बढ्न सकिरहेको छैन । बढ्दो महँगी र लगानीमैत्री वातावरण बन्न नसक्दा अहिले बजारमा सोचेअनुरूप लगानी हुन नसकेको छैन । झन्डै ३० अर्बको कारोबार गरेको बजारले अब त्यो रेकर्ड तोड्न कति पर्खनु पर्छ त्यसबारे भन्न सक्ने अवस्था छैन ।
सेबोनदेखि नेप्सेसम्म नयाँ नेतृत्व
यसै वर्ष नियामक निकाय नेपाल धितोपत्र बोर्डदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) सम्मले नयाँ नेतृत्व पायो । अघिल्लो वर्षदेखि नै रिक्त सेबोन नेतृत्वले यसै वर्ष पूर्णता पायो । झन्डै ११ महिनापछि सन्तोषनारायण श्रेष्ठ अध्यक्ष बने । सेबोन अध्यक्ष नियुक्त प्रक्रिया लम्बिंदा यसले पनि सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्यो । नियमित बाहेक अन्य कार्यसम्पादन हुन सकेन भने करिब ८० कम्पनीको अर्बौंको आईपीओ रोकिएर बस्यो । अध्यक्ष नियुक्त भएसँगै नियमकीय कामकारबाही अगाडि बढिरहेको छ ।
यसै वर्ष नेप्सेले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) पायो । गत माघ २५ गते निवर्तमान सीईओ कृष्णबहादुर कार्कीको कार्यकाल सकियो । नेप्सेको सीईओको जिम्मेवारी चुडामणि चापागाईंले सम्हालेका छन् ।मन्त्रिपरिषदले चापागाईंलाई चैत १८ गते नियुक्त गरेको हो ।
जे होस् यो वर्ष सेयर बजारले अपेक्षाकृत सफलता हासिल गर्न नसके पनि विभिन्न आरोह अवरोह खेपिरह्यो । झन्डै ३० अर्बको कारोबार बनाएर २०८१ लाई इतिहासको रूपमा चिनायो । अब भने लगानीकर्ता पर्ख र हेरको अवस्थामा देखिएका छन् । अर्थतन्त्रमा देखिएको संकट, विभिन्न पक्षको आन्दोलन, क्रयशक्तिमा ह्रास लगायत तत्वहरू वर्षभरि नै प्रभाव पारिरह्यो ।
बलियो नीतिगत सुधार, बलियो अर्थतन्त्र र लगानीकर्ताको खस्किएको मनोबल उठ्न सकेमा आउने वर्ष २०८२ मा सेयर बजारले पुनः इतिहास रच्नेछ ।