साना उद्योग केन्द्रित ५८ अर्ब एफडीआई स्वीकृत, साढे ३ लाखलाई रोजगारी

काठमाडाैं । चालु आर्थिक वर्षको ९ महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धतामा उच्च वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैतसम्मको अविधमा करिब ५८ अर्ब प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धता स्वीकृत भएकाे छ ।
उद्याेग विभागकाे तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१÷८२ को ९ महिनामा अघिल्लो आव २०८०÷८१ को यसै अवधिको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी २७ अर्ब ८८ करोड बढी प्राप्त भएको छ ।
अघिल्लो वर्ष चैत मसान्तसम्म ३० अर्ब ९ करोड ९५ लाख १७ हजार रुपैयाँ बराबर एफडीआई स्वीकृत भएकोमा यस वर्ष चैत मसान्तसम्म ५७ अर्ब ९७ करोड ५४ लाख ७३ हजार ५ सय रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ ।
यस अवधिमा ‘अटोमेटिक रुट’ बाट २ अर्ब ८९ करोड रुपैयाँ र ‘अप्रुभल रुट’ बाट ५५ अर्ब ७ करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको छ ।
विभागकाे तथ्यांक अनुसार ९ महिनाकाे अवधिमा ४८० वटा उद्याेग दर्ता भएका छन् । जसमा सबैभन्दा बढी पर्यटन क्षेत्रका १८९, सूचना प्रविधि क्षेत्रका १८५ , सेवा क्षेत्रका ६३, उत्पादनमुलक क्षेत्रका ३४, कृषि क्षेत्रका ७ र उर्जा तथा पूर्वाधार क्षेत्रका ११ उद्याेग दर्ता भएका छन् ।
यस वर्षकाे चैत महिनामा मात्र ५३ उद्याेगमा १३ अर्ब ३१ कराेड ५१ लाख रूपैयाँ बराबरकाे एफडिआई स्वीकृत भएकाे छ।
पर्यटन र सूचना प्रविधि क्षेत्रमा ओइरियो लगानी
क्षेत्रगत रूपमा हेर्दा यस वर्ष सबैभन्दा बढी लगानी पर्यटन र सूचना प्रविधि क्षेत्रमा स्वीकृत भएकाे छ । यस अवधिमा कुल वैदेशिक लगानीकाे समान ३९/३९ प्रतिशत पर्यटन र सूचना प्रविधि क्षेत्रले ओगटेको छ ।
चैत मसान्तसम्म पर्यटनसँग सम्बन्धित १ सय ८९ उद्योगमा १८ अर्ब ३८ करोड ७५ लाख ९० हजार रूपैयाँ बराबरकाे एफडीआई प्रतिवद्धता प्राप्त भएकाे छ भने सूचना प्रविधि सँग सम्बन्धित १ सय ८५ उद्योगमा १ अर्ब ११ करोड १६ लाख ३ हजार रूपैयाँ बराबरकाे एफडीआई प्राप्त भएकाे छ ।
यस अवधिमा उद्याेगका हिसाबले पर्यटन उद्याेग दर्ता धेरै देखिए पनि लगानी रकमका हिसाबले सेवा क्षेत्रका उद्याेगमा ३४ अर्ब ९२ करोठ ७७ लाख ३० हजार रूपैयाँ बराबरकाे एफडिआई प्रतिवद्धता प्राप्त भएकाे छ । यस्तै यसबाहेक उत्पालन मुलक क्षेत्रका ४३ उद्योगमा २ अर्ब ७४ करोड २० लाख ५० हजार रूपैयाँ बराबरकाे एफडिआई प्राप्त भएकाे छ ।
यस अविधिमा कुल लगानीकाे ३९/३९ प्रतिशत पर्यटन र सूचना प्रविधि क्षेत्रमा, १३ प्रतिशत सेवा क्षेत्रमा, ७ प्रतिशत उत्पादनमुलक क्षेत्रमा र २ प्रतिशत कृषि क्षेत्रमा आएको छ।
गत वर्षकाे यस अवधिमा पर्यटन क्षेत्रका १२२ उद्याेग दर्ता भएका थिए भने जुन कुल दर्ता उद्याेगकाे ४५ प्रतिशत थियाे ।दोस्रो सेवा क्षेत्रमा ९३ एफडीआई स्वीकृति भएको थियो जसको हिस्सा ३५ प्रतिशत रहेको थियो ।
साना उद्याेगमा केन्द्रित एफडीआई
यस अवधिमा नेपाल भित्रिएकाे प्रत्यक्ष वैदेशिक लगानी साना उद्योगमा बढी केन्द्रित देखिएकाे छ ।
यसवर्ष चैतसम्म स्वीकृति भएका प्रत्यक्ष वैदेशिक लगानी प्रतिवद्धतामध्ये ४६८ वटा साना उद्योगमा आएको छ भने मध्यम खालका उद्योगमा ८ र ठूला ४ उद्योगमा लगानी प्रतिवद्धता आएको छ । चैतमा मात्र ५३ वटा साना उद्याेग दर्ता भएका छन्।
साढे ३ लाखलाई रोजगारी
विभागका अनुसार यस वर्ष प्रत्यक्ष वैदेशिक लगानी भित्रिएका प्रस्तावमा लगानी आउन थालेसँगै यी उद्योग तथा प्रतिष्ठानले ३ लाख ४० हजार रोजगारी सिर्जना हुने देखिएको छ । चैत महिनामा मात्र स्वीकृत प्रस्तावले १ हजार १ सय ८३ जनालाई रोजगारी दिने अनुमान छ ।