अमेरिकी ट्यारिफबीच चीनको अर्थतन्त्रमा अप्रत्याशित वृद्धि, व्यापार युद्धको त्रास भने कायमै « Arthapath.com
३ बैशाख २०८२, बुधबार

अमेरिकी ट्यारिफबीच चीनको अर्थतन्त्रमा अप्रत्याशित वृद्धि, व्यापार युद्धको त्रास भने कायमै



एजेन्सी । चीनको अर्थतन्त्र सन् २०२५ को पहिलो त्रैमासिकमा ५.४ प्रतिशतले वृद्धि भएको छ, जुन अपेक्षाभन्दा राम्रो प्रदर्शन हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ लागू हुनपूर्व नै चीनले २०२५ को पहिलो तीन महिनामा अप्रत्याशित रूपमा बलियो आर्थिक वृद्धि हासिल गरेको हो ।

रायटर्सको सर्वेक्षणअनुसार ५.१ प्रतिशत वृद्धिको अपेक्षा गरिएको थियो, तर चीनले ५.४ प्रतिशतको वृद्धि हासिल गर्दै सन् २०२४ को अन्त्यतिर देखिएको सुधारलाई थप बल बनाएको छ। यो वृद्धिमा व्यापक नीतिगत प्रोत्साहन अभियानको योगदान रहेको बताइएको छ।

चीनको राष्ट्रिय तथ्यांक कार्यालय (एनबीएस) अनुसार, मार्च महिनामा खुद्रा बिक्री वार्षिक रूपमा ५.९ प्रतिशतले बढेको छ, जुन विश्लेषकहरूले अनुमान गरेको ४.२ प्रतिशतभन्दा धेरै हो। उद्योग उत्पादन पनि अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७.७ प्रतिशतले वृद्धि भएको छ, जबकि अनुमान ५.८ प्रतिशत मात्र थियो।

यस अवधिमा स्थिर सम्पत्तिमा ४.२ प्रतिशतले बढेको छ, तर स्थिर सम्पत्तिमा रियल स्टेटको योगदान भने झन् कमजोर बनेको छ, मार्चसम्मको तथ्यांक अनुसार यो क्षेत्र ९.९ प्रतिशतले घटेको छ। यद्यपि, पूर्वाधार र निर्माण क्षेत्रको लगानी भने तीव्र गतिमा बढिरहेको देखिएको छ। यस्तै शहरी बेरोजगारी दर फेब्रुअरीको दुई वर्षको उच्च ५.४ प्रतिशतबाट घटेर मार्चमा ५.२ प्रतिशतमा झरेको छ।

तथ्यांक कार्यालयले चीनको अर्थतन्त्रलाई “सकारात्मक र स्थिर सुरुआत“ भएको बताएको छ। यसमा चिनिया नवप्रवर्तनले महत्वपूर्ण भुमिका खेलेको छ । चिनियाँ स्टार्टअप डीपसिकले जनवरीमा आफ्नो एआई सफलताको खुलासा ग¥यो जुन अमेरिकामा आधारित ओपनएआईको प्रविधिसँग प्रतिस्पर्धा गर्दैछ।

वासिङ्टनसँगको चलिरहेको व्यापार युद्धलाई चीनले कसरी सामना गर्छ भन्नमा यसले उत्साहजनक सन्देश दिएको विज्ञहरुले बताएका छन्। नेश्नल ब्युरो अफ स्ट्याटिक्स चीनका उपनिर्देशक शेङ लाइयुनले राष्ट्रिय अर्थतन्त्रले स्थिर र राम्रो
सुरुवात गरेको बताए । यद्यपि, अहिले बाह्य वातावरण झन् जटिल र गम्भीर हुँदै गइरहेको अवस्थामा घरेलु माग वृद्धि गर्नुपर्ने धारणा व्यक्त गरे ।

यस्तै उनले अमेरिकाले लगाएको करले चिनियाँ अर्थतन्त्रमा दावाब र्सिजना गरे पनि चीनको निरन्तर दीर्घकालीन आर्थिक सुधारको सामान्य प्रवृत्तिलाई परिवर्तन गर्न नसक्ने बताए ।

अमेरिका–चीन व्यापार युद्धको त्रास

अमेरिका र चीनबीचको बढ्दो व्यापार युद्धबीच आएको विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको आर्थिक वृद्धिदर अहिले चर्चामा छ । ट्रम्पले चिनियाँ सामानहरूमा कर बढाएसँगै बेइजिङले अमेरिकी आयातमा प्रतिशोध शुल्क लगाउन बाध्य भएको छ। विश्वका दुई ठूला अर्थतन्त्रहरू बीचको व्यापार युद्ध तीव्र हुँदै जाँदा यसले विश्वव्यापी मन्दी निम्त्याउने डर भने कायमै छ।

चीनले यस वर्ष ५ प्रतिशतको आर्थिक वृद्धिदरको महत्पकांक्षी लक्ष्य राखेको छ । जुन बढ्दो व्यापार युद्ध र निरन्तर कमजोर घरेलु उपभोगको सम्भावनालाई ध्यानमा राख्दै प्राप्त गर्न कठिन देखिएको जानकारहरुले बताएका छन् ।

तथ्याङ्क ब्यूरोले अमेरिकामा चीनको निर्यातको हिस्सा २०१८ मा १९.२ प्रतिशतबाट २०२४ मा १४.७ प्रतिशतमा झरेको बताएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरूमा लगाएको कुल कर १४५% मा ल्याएको छ, जसको बदलामा बेइजिङले अमेरिकी सामानहरूमा कर १२५% मा बढाएको छ। आयात शुल्कको यस्तो स्तरले चीनको निर्यातलाई असर गर्ने र यस वर्ष अर्थतन्त्रको विस्तारमा धेरै प्रतिशत अंकले कमी ल्याउने अपेक्षा गरिएको छ।

धेरै लगानी बैंकहरूले यस वर्ष चीनको वृद्धि पूर्वानुमान घटाएका छन्। धेरैजसो अर्थशास्त्रीहरूले चिनियाँ सामानहरूमा अमेरिकी करमा उल्लेखनीय वृद्धिबाट प्रतिकूल प्रभाव परेको उल्लेख गर्दै बेइजिङले आफ्नो आधिकारिक लक्ष्य हासिल गर्नेमा शंका व्यक्त गरेका छन्। यता आर्थिक खुफिया इकाईका वरिष्ठ अर्थशास्त्री तियानचेन सुले भने यस युद्धबाट चीनको निर्यात क्षेत्रमा ठूलो प्रभाव पार्ने र परिणामस्वरूप पूँजीगत खर्च सुस्त हुने चेतावनी दिए ।

लगानी बैंकले आगामी त्रैमासिकमा अमेरिकामा चीनको निर्यात दुई तिहाइले घट्ने प्रक्षेपण गरेको छ भने यस वर्ष डलरको हिसाबले समग्र निर्यात १० प्रतिशले घट्ने अनुमान गरेको छ। सम्भावित व्यापार अवरोधको सामना गर्न घरेलु उपभोग र आवास बजारलाई बलियो बनाउन चिनियाँ अधिकारीहरूले थप बलियो प्रोत्साहन उपायहरू जारी गर्ने अपेक्षा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्